भारतमा कोरोनाबाट पछिल्लो २४ घन्टामा एक हजार ३३ को मृत्यु, ६१ हजारभन्दा बढी संक्रमित थपिए
भारतमा पछिल्लो २४ घन्टा मा कोरोना संक्रमणका कारण एक हजार ३३ जनाले ज्यान गुमाएका छन् । परिवार तथा स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा ६१ हजार आठ सय ७१ जना कोरोना संक्रमित पनि थपिएका छन् । योसँगै आइतबार बिहानसम्ममा भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार पाँच सय ५२ पुगेको छ । यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ३१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अझै पनि भारतभरि सात लाख ८३ हजार तीन सय ११ व्यक्ति सक्रिय संक्रमित छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ९७ हजार दुई सय १० जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरूको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।
भारतमा संक्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या अहिले आठ लाखभन्दा कम छ । यसअघि नौ, दश लाख संक्रमितहरू रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरूले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाको यो संख्या अहिलेसम्मकै कम हो । कोरोनाको संक्रमण देखा परेयता भारतमा शनिबारसम्म नौ करोड ४२ लाख २४ हजार एक सय ९० व्यक्तिको पिसिआर परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसिएमआर) ले जानकारी दिएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वभरि हालसम्म ११ लाखभन्दा बढीको मृत्यु भएको छ ।