एनआइसी एसिया बैंकले मोबाइल बैंकिङबाट क्युआर, युटलिटी तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा १ रुपैयाँका दरले सामाजिक उत्तरदायित्वका लागि खर्च गर्ने भएको छ । बैंकले दसैँको अवसरमा ‘सेलेब्रेट फर कज’ भन्ने नारासहित सामाजिक उत्तरदायित्व योजना ल्याएको हो ।
चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले ‘डिजिटल उत्सव’ योजना डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ब्रान्ड तथा स्टोरहरूमा डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट तथा नगद फिर्ता योजना ल्याइसकेको जनाएको छ । यसै योजनाअन्तर्गत सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रूपमा अगाडि बढाउन थप योजना ल्याएको बैंकको भनाइ छ ।
एनआइसी एसियाको मोबाइल बैंकिङ प्रयोगकर्ताले १० कात्तिकसम्म गर्ने डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिने जनाइएको छ । अभियानमार्फत संकलन भएको रकम कोरोना महामारीबाट गम्भीर असर भोगिरहेका वृद्धाश्रम, बालगृहजस्ता सामाजिक संस्थाहरूलाई प्रदान गर्ने बैंकले जनाएको छ ।
हाल मोबाइल बैंकिङबाट देशभरका १ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरूमा क्युआर भुक्तानी एवं विद्युत् महसुल, खानेपानी, टेलिफोन, इन्टरनेट, केबल, मोबाइल रिचार्ज, हवाई तथा बस टिकटको शुल्क भुक्तानी तथा रकम स्थानान्तरण जुनसुकै स्थानबाट जुनसुकै समयमा गर्न सकिने सुविधा रहेको जनाइएको छ । बैंकले देशभर ३ सय २७ शाखा, ४ सय ६९ एटिएम, १ सय २ एक्सटेन्सन काउन्टर एवं ७० शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।