मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७७ असोज ३० शुक्रबार ०९:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भक्तपुर इन्काउन्टर फेक भएको आयोगको ठहर, ६ प्रहरीलाई ज्यानमुद्दा चलाउन सिफारिस

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७७ असोज ३० शुक्रबार ०९:०१:००

राष्ट्रिय मानवअधिकार आयोगले दुई वर्षअघि भक्तपुरमा दुई युवकको प्रहरी गोलीबाट भएको मृत्यु मुठभेड नभई नियोजित हत्या भएको निष्कर्ष निकालेको छ । आयोगको बुधबार सम्पन्न बैठकले घटनामा संलग्न ६ प्रहरीलाई ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ । अपहरणका आरोपित दुई युवकलाई पक्राउ गरेर गोली हानी हत्या गरिएको आयोगको ठहर छ ।

बालक निशान खड्काको अपहरणमा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङको २० साउन ०७५ मा सूर्यविनायक जंगलमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । भाग्न खोज्दा उनीहरूलाई गोली हानिएको प्रहरी दाबी थियो । तर, छानबिनमा उनीहरूलाई डेराबाटै पक्राउ गरिएको र घटनास्थलमा मुठभेडको कुनै प्रमाण नभएकाले प्रहरीबाट गम्भीर मानवअधिकार उल्लंघन भएको ठहर आयोगको छ । यस घटनामा दोषी प्रहरीको नाम शुक्रबार सार्वजनिक गरिने आयोगले जनाएको छ । त्यस घटनामा महानगरीय अपराध महाशाखाका प्रहरी संलग्न थिए । स्रोतका अनुसार मुद्दा चलाउन सिफारिस गरिएकामा सिनियर प्रहरी अधिकृतसमेत छन् ।

घटनालगत्तै मृतकका परिवारले आयोगमा उजुरी दिएका थिए । आयोगले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा विवादास्पद इन्काउन्टर छानबिन गर्न समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा आयोगले दोषी प्रहरीमाथि मुद्दा चलाउने निर्णय गरेको हो ।

कुमार पौडेल इन्काउन्टरमा पनि प्रहरी दोषी

यस्तै, आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टरमा संलग्न प्रहरीलाई पनि मुद्दा चलाउनैपर्ने अर्काे निर्णय गरेको छ । आयोगले गत वर्ष नै इन्काउन्टरमा संलग्न तीन प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन र आदेश दिनेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । गृह मन्त्रालयले उनीहरूलाई कारबाही गर्न नसकिने बताउँदै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो । उक्त निर्णयमा पुनर्विचार हुन नसक्ने ठहर भएको आयोगका एक सदस्यले जानकारी दिए ।

५ असार ०७६ मा सर्लाही लालबन्दीमा प्रहरीको गोलीबाट पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो मुठभेडमा मृत्यु भएको बताए पनि आयोगले दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था नरहेको बताउँदै प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहसहित हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथि मुद्दा चलाउन सिफारिस गरेको हो ।

त्यस घटनामा प्रहरी निरीक्षक किरण न्यौपाने र सई सूर्यकुमार कार्कीलाई विभागीय कारबाही गर्न भनिएको छ । तर, गृह मन्त्रालयले सिफारिस कार्यान्वयन गरेको छैन । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष मातहतमा खटिएका ती प्रहरीले पौडेललाई गोली प्रहार गरेका थिए । खनालकै कार्यकालमा प्रहरीमा विवादास्पद इन्काउन्टरहरू भएका थिए । सोहीकारण यतिवेला धेरै प्रहरी अधिकृत छानबिनमा तानिएका छन् ।

अन्य इन्काउन्टर घटनाको भने थप छानबिन गर्ने निर्णय आयोगले गरेको छ । दिनेश अधिकारी ‘चरी’, कुमार घैँटेलगायतको इन्काउन्टरमा उनीहरूका परिवारसँग थप बुझ्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस : आयोगद्वारा गम्भीर मानव अधिकार उल्लंघनकर्ता २८६ जनाको नाम सार्वजनिक (सूचीसहित)