१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार ०६:३२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्री पौडेल भन्छन् : अर्थतन्त्र पुनरुत्थान प्राथमिकतामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार ०६:३२:००

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान र जनताको जीवनरक्षा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यिनै दुई विषयलाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

‘कोभिडको असर कहिलेसम्म हुन्छ भन्ने भविष्यवाणी गर्न पनि गाह्रो छ, नियन्त्रणमा कहिले आउँछ भन्न गाह्रो छ,’ उनले भने, ‘यसले हाम्रो अर्थतन्त्रलाई असर गरेको छ, त्यसबाट हामी कसरी माथि उठ्छौँ भन्ने अहिलेको प्रश्न हो ।’ कोभिडको सामना गर्ने, जनताको जीवनलाई रक्षा गर्ने र अर्थतन्त्रलाई माथि उठाउने हिसाबले काम गर्नुपर्ने उनले बताए । 

अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन अहिलेको महत्वपूर्ण जिम्मेवारी भएको बताए । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न तथा बेरोजगारी र गरिबीलाई सम्बोधन गर्न पूरक बजेट ल्याउनुपर्ने चर्चा चलिरहेका वेला नवनियुक्त अर्थमन्त्रीले बजेट कार्यान्वयन अहिलेको महत्वपूर्ण जिम्मेवारी भएको बताएका हुन् । ‘चालू आवको बजेटले कोभिडको चुनौतीलाई पनि देखेको छ, त्यसलाई सामना गर्ने दृष्टिकोण र योजना पनि अघि सारेको छ,’ उनले भने, ‘त्यसैले, बजेटको कार्यान्वयन सर्वाधिक महत्वको विषय हो, बजेटको कार्यान्वयन महत्वपूर्ण जिम्मेवारी हो ।’ 

बजेटले लिएका राजस्वका लक्ष्य र बाह्य स्रोत परिचालन कसरी पूरा गर्ने भन्नेमा ध्यान दिनुपर्नेसमेत उनले बताए । ‘राजस्वका लक्ष्य पूरा गर्ने र बाह्य स्रोत परिचालन गर्ने विषय महत्वपूर्ण छ,’ उनले भने, ‘तोकिएका लक्ष्य कसरी पूरा गर्न सक्छौँ ? यसतर्फ नयाँ ढंगले हेर्नुपर्छ, सकेनौँ भने त्यसको असर समग्रतामा पर्छ ।’ उनले पुँजीगत खर्च बढाउनका लागिसमेत फरक दृष्टिकोणका साथ अघि बढ्नुपर्ने बताए । त्यस्तै, निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नसमेत उनले निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले विश्व बैंकसँग २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन् । पदभार ग्रहणलगत्तै अर्थमन्त्रीले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि उक्त ऋण खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।