मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ असोज २९ बिहीबार ०७:१३:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल भित्रियो बिएमडब्लु 

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ असोज २९ बिहीबार ०७:१३:००

लक्ष्मी प्रिमियमले नेपालमा भित्र्याएका बिएमडब्लु गाडीको मूल्य एक करोड ९० लाखदेखि चार करोड ९० लाख रुपैयाँसम्म छ । नेपालमा बिएमडब्लु ब्रान्ड औपचारिक रूपमा सार्वजनिक नहुँदै ६ वटा गाडी बिक्री भइसके ।

नयाँबानेश्वबाट एयरपोर्टतिर जाँदा तीनकुने मोडमै पुगेपछि एउटा गाडीको सोरुममा आँखा टक्क अडिन पुग्छन् । सडकबाटै प्रस्ट देखिने गरी सोरुमको अगाडि जर्मनीको प्रिमियम ब्रान्ड बिएमडब्लुको लोगो राखिएको छ । आफ्नै सहरमा विश्व प्रख्यात बिएमडब्लुको सोरुम देखेपछि गाडीका सौखिनहरूको नजर तान्ने भइहाल्यो । भव्य डेकोरेसन गरिएको सोरुमभित्र चारवटा चिल्ला लक्जरियस कार सोकेसमा राखिएको छ । आफ्नै देशभित्र बिएमडब्लु कारहरू छानीछानी किन्न पाइने भएपछि धनाढ्य सोखिनहरू कोभिडको कहरबीच सोरुममा धाउन थालेका छन् । अझै बिएमडब्लु गाडी औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन, तैपनि ६ वटा गाडी बिक्री भइसकेका छन् । 

चर्चित व्यावसायिक घराना लक्ष्मी समूहले नेपालमा औपचारिक रूपमा बिएमडब्लु गाडी भित्र्याएको हो । लक्ष्मी प्रिमिमय बिएमडब्लु गाडीको नेपालका लागि आधिकारिक विक्रेता हो । कोभिडको महामारी फैलिँदै गएपछि कम्पनीले बिएमडब्लु कार सार्वजनिक गर्न उपयुक्त समय पर्खिएर बसेको छ । सन् २०१४ को अन्त्यतिर जर्मनीको बिएमडब्लु कम्पनीसँग डिलरसिप सम्झौता गरिसकेको लक्ष्मी समूहले २०१५ भित्रै नेपालमा गाडी ल्याएर बिक्री गर्ने लक्ष्य लिएको थियो । तर, भूकम्पलगायत विविध कारणले पछाडि धकेलिइरहेको बिएमडब्लु गाडी भित्र्याउने योजनाले बल्ल २०२० जुलाई (साउन) महिनामा मूर्तता पाएको छ । नेपालमा आधिकारिक विक्रेतामार्फत बिएमडब्लु गाडी पहिलोपटक भित्रिएको लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बताउँछन् । यसअघि विभिन्न च्यानल प्रयोग गरेर आधा दर्जन हाराहारी बिएमडब्लु गाडी नेपाल भित्रिएको अनुमान छ । 

यस्ता छन् गाडी
पहिलो चरणमा विभिन्न सिरिजका २१ वटा बिएमडब्लु गाडी नेपाल भित्रिएको लक्ष्मी प्रिमियमले जनाएको छ । नेपालमा एक्स सिरिज, ५ सिरिज र ७ सिरिजका बिएमडब्लु गाडी भित्रिएका हुन् । एक्स सिरिज भनेको स्पोर्ट एक्टिभिटी भेहिकल (एसएभी) गाडी हो । एसभी अर्थात् एसयुभी गाडी । बिएमडब्लुले एसयुभी भर्सनलाई एसएभी नाम दिएको छ । यस्तै, ५ सिरिज र ७ सिरिज सेडान कार हुन् । नेपालमा एसएभी भर्सनमा एक्स वान, एक्स टु, एक्स थ्री र एक्स फाइभ गरी चारवटा मोडल भित्रिएका छन् । नेपाल भित्रिएका एक्स सिरिज गाडीहरू मिडसाइज क्रसओभर एसयुभी हुन् । लक्ष्मी प्रिमियमले अमेरिका र जर्मनीमा निर्मित बिएमडब्लु गाडी नेपालमा ल्याएको हो । 

लक्ष्मी प्रिमियमका अनुसार बिएमडब्लु एक्स थ्री दुईवटा अप्सनमा उपलब्ध छ, एउटा ब्याट्री र पेट्रोल दुवैबाट चल्ने प्लगिङ हाइब्रिड र अर्को पूर्णतया पेट्रोल इन्जिनयुक्त ‘एक्स ड्राइभ ३० ई’ । एक्स ५ पनि प्लगिङ हाइब्रिड गाडी हो । हाइब्रिड ‘एक्स थ्री’मा १२ वाटको ब्याट्री प्रयोग गरिएको छ भने ‘एक्स फाइभ एक्स ड्राइभ ४५ ई’मा २४ किलोवाटको ब्याट्री राखिएको छ । एक्स थ्री हाइब्रिडले ३५/४० किलोमिटरको स्पिडसम्म ब्याट्रीबाट कुदाउन सकिन्छ भने त्योभन्दा बढीको स्पिड लिनेबित्तिकै अटोमेटिक पेट्रोल इन्जिनले काम गर्न थाल्छ । एक्स फाइभ मोडल ८० किलोमिटरको स्पिडसम्म ब्याट्रीबाट कुदाउन सकिन्छ भने त्योभन्दा बढीको स्पिडमा जानेबित्तिकै इन्जिनबाट कुद्ने कम्पनीले जनाएको छ । एक्स वान र एक्स टुमा १५०० सिसी, एक्स थ्रीमा २००० सिसी र एक्स फाइभमा ३००० सिसीको पेट्रोल इन्जिन राखिएको छ । कम्पनीका अनुसार सबै गाडीमा ट्टिन टर्बो इन्जिन प्रयोग गरिएको छ । एक्स सिरिजको मूल्य एक करोड ९० लाखदेखि चार करोड १६ लाख रुपैयाँसम्म रहेको छ ।

सेडान भर्सनको ५ सिरिज पनि प्लगिङ हाइब्रिड गाडी हो । ५ सिरिजको बिएमडब्लु ५३० ई मा १२ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ । यो गाडी प्रतिघन्टा ३० किमिको स्पिडसम्म कुदाउँदा ब्याट्रीबाट र ३० किमिभन्दा बढीको स्पिडमा कुदाउँदा इन्जिनबाट चल्छ । बिएमडब्लु ७ सिरिज सुपर लक्जरियस सेडान कार हो । प्लगिङ हाइब्रिड ७ सिरिज ‘बिएमडब्लु ७४५ एलई’मा पनि १२ किलोवाटकै ब्याट्री छ । यो गाडी प्रतिघन्टा ४६ किलोमिटरसम्मको स्पिडमा ब्याट्रीबाट र त्यसभन्दा बढी स्पिड समात्नेबित्तिकै इन्जिनबाट चल्न थाल्छ । कम्पनीले यो गाडीको मूल्य चार करोड ९० लाख रुपैयाँ तोकेको छ । नेपाल भित्रिएका बिएमडब्लु गाडीमध्ये सबैभन्दा महँगो र लक्जरियस गाडी ७ सिरिज हो । 

अधिकतम इलेक्ट्रिकबाट चल्ने
काठमाडौं उपत्यकाजस्तो ट्राफिक जाम भइरहने ठाउँमा बिएमडब्लु कार अधिकतम इलेक्ट्रिक ब्याट्रीबाट चल्नेछ । उपत्यकाभित्र ४० किलोमिटरभन्दा बढीको स्पिडमा गाडी चलाउन सकिँदैन । कम्पनीका अनुसार गाडीको ब्याट्री सकिन लाग्यो भने स्टार्ट भएको इन्जिनले आफैँ चार्ज गर्छ । र, घरमा चार्जरबाट पनि ब्याट्री चार्ज गर्न सकिन्छ । एक्स वान र एक्स टु मोडल हाइब्रिड होइनन् । यी गाडी पेट्रोल इन्जिनमा उपलब्ध छन् । एक्स वान बिएमडब्लुको इन्ट्री लेबल गाडी हो । 

कोभिड महामारी फैलिरहेका वेलामा पनि ६ वटा बिएमडब्लु कार बिक्री हुनु उत्साहपूर्ण रहेको लक्ष्मी प्रिमियमले जनाएको छ । कम्पनीले वार्षिक १०० वटासम्म गाडी बिक्री गर्ने लक्ष्य राखेको छ । तर, यो वर्ष कोभिड महामारीले गर्दा धेरै गाडी बिक्री गर्न सम्भव नरहेको श्रेष्ठ बताउँछन् । लक्ष्मी समूहले लक्जरी र ब्रान्डेड गाडीका सोखिन धनाढ्यहरूलाई लक्षित गरेर बिएमडब्लु गाडी नेपालमा बिक्री सुरु गरेको हो । यो गाडीको सीधा प्रतिस्पर्धा जर्मनीकै अर्को प्रिमियम ब्रान्ड मर्सिडिजसँग हुनेछ । विश्वभरि नै मर्सिडिज र बिएमडब्लु प्रतिस्पर्धी ब्रान्ड हुन् । नेपालमा मर्सिडिज गाडी पनि राम्रै बिक्री भइरहेको छ ।

बिएमडब्लु सोरुम
लक्ष्मी समूहले तीनकुनेमा यसअघि रहेको हुन्डाईको सोरुमलाई अपग्रेडेड गरेर बिएमडब्लु गाडीको सोरुम बनाएको हो । ‘हामीले बिएमडब्लुको गाइडलाइन फ्लो गरेर अत्याधुनिक सोरुम बनाएका छौँ,’ श्रेष्ठले भने, ‘एकैठाउँमा सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रीएस) सुविधा उपलब्ध हुनेछ ।’ गाडीको सर्भिसका लागि इन्जिनियरहरूले सिंगापुरको कम्पनीसँग भर्चुअल्ली ट्रेनिङ लिइरहेका छन् । कम्पनीले कोभिड महामारीका कारण इन्जिनियरलाई सिंगापुर पठाउन सम्भव नभएपछि अनलाइन ट्रेनिङ दिइरहेको हो । सर्भिस सेन्टर पनि बिएमडब्लुको मापदण्डअनुरूप भएको कम्पनीले जनाएको छ । 

बिएमडब्लु प्रिमियम ब्रान्ड
बिएमडब्लु जर्मनीको प्रिमियम अटोमोबाइल्स कम्पनी हो । यो कम्पनीले गाडी र बाइक उत्पादन गर्दै आइरहेको छ । नेपालमा बिएमडब्लु बाइक अघिल्लो वर्षदेखि नै बिक्री सुरु भइसकेको छ । सन् १९१६ मा स्थापित यो कम्पनीले सुरुवाती समयमा एयरक्राफ्टका इन्जिन बनाउँथ्यो । सन् १९४५ सम्म एयरक्राफ्टको इन्जिन उत्पादन गरिरहेको कम्पनीले पहिलो विश्वयुद्धको युद्धविरामसँगै एयरक्राफ्ट इन्जिन उत्पादन बन्द गरेको हो । बिएमडब्लुले सन् १९२३ देखि मोटरसाइकल र सन् १९२९ देखि गाडी उत्पादन सुरु गरेको हो । कम्पनीले पहिलोपटक ‘आर ३२’ मोटरसाइकल उत्पादन गरेको थियो, सोही मोटरसाइकलबाट बिएमडब्लुको ब्रान्ड लोगो प्रयोग गर्न थालेको हो । कम्पनीले पहिलोपटक उत्पादन गरेको गाडी बिएमडब्लु ३०३ मोडल हो । सन् १९३३ देखि कम्पनीले अगाडिको फेसमा ‘टु इन किड्नी ग्रिल’ प्रयोग गर्न थाल्यो जुन अहिले पनि प्रयोग भइरहेको छ । बिएमडब्लुले सन् २०१३ देखि फुल इलेक्ट्रिक कार पनि उत्पादन सुरु गरिसकेको छ । 

विश्वविख्यात बिएमडब्लु समूहको स्वामित्वमा गाडीका प्रिमियम र लक्जरियस ब्रान्डहरू प्रिमियम ब्रान्ड ‘बिएमडब्लु’ र ‘मिनी’ हुन् । लक्जरियस ब्रान्ड ‘रोल्सरोयस’ हो । रोल्सरोयस विश्वकै सुपर लक्जरियस गाडीमा पर्छ । ‘मिनी’ पनि चर्चित प्रिमियम ब्रान्डको गाडी हो । बिएमडब्लुले स्पोर्टस् कार पनि बनाएको छ, जुन चर्चित फर्मुला वानलगायत खेलमा सहभागी भएर अवार्डसमेत हात पारिसकेको छ ।