१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २८ बुधबार २१:४८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सेनाध्यक्ष नराभणे कात्तिक तेस्रो साता नेपाल आउने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २८ बुधबार २१:४८:००

नेपाल र भारतबीच राजनीतिक र कुटनीतिक तहका संबाद औपचारिकतामा सीमित भइरहेका बेला भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नराभणेले नेपाल भ्रमण गर्ने तय भएको छ । भारतका स्थल सेनाध्यक्ष भएपछि पहिलोपटक औपचारिक भ्रमणका क्रममा नरभणे कात्तिक तेस्रो साता नेपाल आउने भएका हुन् । उनले कात्तिक १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने गरि तयारी भइरहेको छ तर दुबै पक्षले औपचारिकरुपमा भ्रमणको मिति सार्वजनिक गरेका छैनन् । 

नेपाली सेनाले मंगलवार विज्ञप्ति जारी गरि भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण कात्तिकमा हुने सार्वजनिक गरेको छ । कोभिड १९को महामारी शुरु भएयता भारतबाट नेपालमा हुन लागेको यो उच्चस्तरीय भ्रमण हो । ‘नेपाली सेना र भारतीय सेनाबीच जस्तो सुकै असहज परिस्थितिमा पनि सम्बन्ध स्थिर रहँदै आएको छ, अहिले उच्च राजनीतिक र कुटनीतिक तहमा सार्थक सम्वाद नभएको अवस्थामा पनि सैन्य कूटनीतिक तहमा संबाद हुनुलाई सकारात्मक मान्नुपर्छ’ नेपाली सेनाका पूर्व उपरथी विनोज बस्न्यातले नयाँ पत्रिकासँग भने । 

जंगी अड्डाका अनुसार सेनाध्यक्ष नराभणेको नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गर्न मन्त्रिपरिषद्ले गत १० माघमै सेनालाई स्वीकृति दिएको थियो । उनी गत वैशाखमा नेपाल भ्रमणमा आउने तय भए पनि कोभिड १९ को महामारीका कारण रोकिएको थियो ।  ‘विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण यही कार्तिक महिनामा हुने भएको छ’ जंगी अड्डाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नराभणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी लगाइदिने कार्यक्रम छ । नेपाल र भारतका सेनाप्रमुखहरु एकअर्को देशका मानार्थ महारथी हुने प्रचलन रहँदै आएको छ । 

भारतीय स्थल सेनाध्यक्ष नराभणेले २ जेठमा नेपालले चीनको उक्साहटमा लिम्पियाधुरासम्मको नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि बिबादमा आएका थिए । तर उनले ३१ जेठमा देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उक्त भनाई सच्याएका थिए । नराभणेले नेपालसँग भारतको सधैं मजबुत सम्बन्ध रहेको र भविश्यमा पनि सम्बन्ध सुदृढ रहने जबाफ दिएका थिए । 

भारतीय स्थल सेनाध्यक्ष नराभणेले जनस्तरको र सभ्यतासँग जोडिएको नेपाल भारत सांस्कृतिक सम्बन्धको व्याख्या गर्दै नेपालसँग सम्बन्ध सुदृढ रहने उल्लेख गरेका थिए । नरभणेले नेपालबारे ३१ जेठमा भनेका थिए्, ‘नेपालसँग हाम्रो अत्यन्त मजबुत एवं सुदृढ सम्बन्ध छ । हामीहरुबीच जनस्तरमा भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध छ । सधैं मजबुत रहेको सम्बन्ध भविश्यमा पनि सुदृढ रहनेछ । तर नेपालसँगको सीमा बिबादबारे उनले केही प्रतिक्रिया दिएनन् ।’ 

उनले २ जेठमा भारतको मनोहर पारिकर इन्स्टीच्युट फर डिफेन्स स्टडीज एण्ड एनालाइसिसद्धारा आयोजित वेविनारमा भारतीय सेनाध्यक्षले काली नदीभन्दा पश्चिममा भारतले सडक निर्माण गरेको तर्क गर्दै यसमा विरोधको औचित्य नभएको जिकिर गरेका थिए । 

उनले भनेका थिए, ‘लिपुलेक मानसरोबर सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिन । कालीनदी भन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ म जान्दिन । उनीहरुले यो बिषय कसैको उक्साहटमा उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक कोरिडोरबारे बिबाद छैन ।’

नरभणेको भनाईपछि उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी संचारमाध्यम राससलाई अन्तर्वार्ता दिएर कडा आपत्ति जनाएका थिए ।  नरभणेको भनाई सार्वजनिक भएलगत्तै भारतीय सेनाका पुर्व लेफ्टिनेन्ट जनरल एवं उत्तरी कमाण्डका पूर्व कमाण्डर  डी एस हुडाले द प्रिन्टकी पत्रकार ज्योति मलहोत्रासँग अन्तर्वार्तामा विरोध गरेका थिए । हुडाको भनाई थियो, ‘यो  कूटनीतीक बिषय हो । कूटनीतिज्ञहरुलाई नै छाडिदिनुपर्छ । सेनाप्रमुखले टिप्पणि गरेर बिबादमा आउनु ठीक होइन । उहाँ अनावश्यकरुपमा बिबादमा तानिएर फाइदा छैन । नेपालसँग परिपक्व तरिकाले कुटनीतिकरुपमा डिल गर्नुपर्छ ।’