मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सागर ढकाल
२०७७ असोज २८ बुधबार ०७:५८:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समृद्धिको शिलान्यास विश्वविद्यालयबाट

बहस

Read Time : > 6 मिनेट
सागर ढकाल
२०७७ असोज २८ बुधबार ०७:५८:००

गणितीय हिसाबमा अक्सफोर्ड जानुभन्दा पुल्चोक जानु गाह्रो छ । विडम्बना, पुल्चोकले हिरा भित्र्याएर फलाम बनाएर बेच्छ ।

प्रधानमन्त्रीज्यू, 
नमस्कार ! 

तपाईंले केही दिनअघि भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालय अक्सफोर्ड र क्याम्ब्रिजजस्तै हो’ हुन त विश्वविद्यालय नै हुन् । सबैमा विद्यार्थी, शिक्षक र भवन छन् । तर, गुणस्तरका हिसाबले भन्न खोज्नुभएको हो भने आकाश–पातालको फरक छ । कल्पना गर्नु, बोल्नु, भाषण गर्नु सामान्य हो । तर, सपनालाई विपनामा रुपान्तरण गर्न प्रधानमन्त्रीमा क्षमतासहित अग्रिम कार्ययोजना हुनुचाहिँ असामान्य हो, जुन ली क्वान यु, महम्मद महाथिर, अरविन्द केजरिवाल, सी जिनपिङ आदिमा देखिन्छ । यी सबै उत्कृष्ट विश्वविद्यालयको पनि इमानदार, क्षमतावान् र उत्कृष्ट विद्यार्थी थिए । देश विकसित हुनलाई कम्युनिस्ट, प्रजातन्त्र, गणतन्त्र वा राजतन्त्र नै हुनुपर्छ भन्ने छैन । यी सबै व्यवस्था भएका देश विकसित पनि छन् र अविकसित पनि । तर, इमानदार, सक्षम नेतृत्वसहित सही दिशानिर्देश गर्ने उत्कृष्ट विश्वविद्यालय नभएका विकसित देश सायद छैनन् । तसर्थ यदि नेपाल सा“च्चै नै विकास गर्ने हो भने पहिलो पाइला नै उत्कृष्ट विश्वविद्यालय स्थापनातर्फ चाल्नुपर्छ । गफै मात्र दिने भए त दिइरहे भयो । 

चीन र सिंगापुरले जस्तै हामीले पनि २०–३० वर्षमै मुलुकको कायापलट गर्ने हो भने सम्बन्धित विषयको मन्त्री हुनका लागि कम्तीमा कुलमान घिसिङजत्तिको क्षमता त हुनुपर्छ । तर, हाम्रोमा चुनाव जितेपछि जुन मन्त्रालय दिए पनि चलाउन सक्ने ‘सर्वविज्ञ’ भइन्छ । कृषि, ऊर्जा वा सम्बन्धित मन्त्रालयको मन्त्री हुन कुनै ज्ञान, अनुभव चाहिँदैन, मन्त्री भन्ने पदकै कारण ऊ ‘ज्ञाता’ भइसकेको हुन्छ । यस्ता समस्याको सम्बोधन एउटै स्वतन्त्र र बलियो विश्वविद्यालयले गर्न सक्छ । यसै सन्दर्भमा त्रिविलाई पनि अक्सफोर्डजस्तै उत्कृष्ट कसरी बनाउन सकिन्छ त ? केदारभक्त माथेमालगायतले उठाउनुभएका मुद्दामा सहमत हुँदै केही नयाँ मुद्दाको उठान गरी प्रधानमन्त्रीलाई विश्वविद्यालयको महत्व प्रकाश पार्ने प्रयास गरेको छु । 

त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना : तपाईंले भनेको अक्सफोर्ड वा क्याम्ब्रिजमा विद्यार्थी करिब २० हजार मात्र छन् र स्टाफ (प्राध्यापकलगायत) एक हजारजति छन् । अमेरिकाको हार्वर्ड वा एमआइटी, चीनको सिङ्वा वा पेकिङ तथा जापानको टोकियो विश्वविद्यालय सबैमा यो संख्या उस्तै–उस्तै हो । तर, त्रिविमा विद्यार्थी करिब ६ लाख छन् । यो ठूलो सम्हालिनसक्नुको संख्या भयो । यसबाट विभिन्न विधामा उत्कृष्ट हुने गरी १०–१२ वटा विश्वविद्यालय बनाउनुहोस् । त्यसमध्ये पनि २–३ वटालाई अन्तर्राष्ट्रिय रूपमै ‘सिग्नेचर’ विश्वविद्यालय बनाउन बजेट दिन कञ्जुस्याइँ नगर्नुस् । कम्तीमा एउटा पूर्वाधार (सिङ्वा वा एमआइटीजस्तै) र एउटा समाज (हार्वर्ड, पेकिङ वा अक्सफोर्डजस्तै) लाई विशिष्ट योगदान दिने विश्वविद्यालयमा निर्माण गर्नुस् ।

यसो गरेमा अलि धेरै नम्बर ल्याउनेले इन्जिनियर वा डाक्टरै पढ्नुपर्छ भन्ने मानसिकता बोकेको हाम्रो समाजले इतिहास, व्यापार, गायन, पत्रकारिता, समाजशास्त्र आदि विषयलाई पनि प्राथमिकता दिन थाल्छ । पूर्वाधार निर्माण गर्ने चरणमा रहेको चीनका करिब हरेक राष्ट्रपति वा राष्ट्रिय नेताहरू हाम्रा कुलमानजस्तै उत्कृष्ट इन्जिनियर छन् भन्ने हरेक विषयमा धाराप्रवाह वाचन गर्न सक्ने तपाईंलाई थाहा नहुने कुरै भएन । त्यस्तै अमेरिकाका प्रायः राष्ट्रप्रमुख ‘आइभी लिग’ का हुने गर्छन् भने बेलायतका अधिकांश अक्सफोर्डका छन् । तर, प्रायः इन्जिनियर छैनन् । यसबाट के बुझ्नुपर्छ भने अन्तिममा चाहिने पूर्वाधार मात्र होइन, त्यसमा अडिने समाज नै हो । 

हामीले पनि केही दशक होइन, शताब्दी सोचेर विश्वविद्यालयको नामकरण गर्दै त्यसको संस्कार निर्माण गर्नुपर्छ, जसले कम्तीमा दुई अर्ब मानवको भावनासहित हजारौँ वर्षको इतिहास प्रतिनिधित्व गर्न सकोस्

विश्वविद्यालयको नाम र संस्कार हाम्रै संस्कृतिबाट : सायद धेरैलाई थाहा नभएको हुन सक्छ, अक्सफोर्ड या हार्वर्ड पुराना चर्च हुन् । अक्सफोर्ड सयौँ वर्ष पुराना विभिन्न कलेज र डिपार्टमेन्टको संयुक्त रूप हो । प्रायः कलेज पुराना चर्च नै हुन्, अहिले पनि धार्मिक कार्य हुन्छ, प्रार्थनाका घन्टीले सहर नै गुन्जिन्छ । अक्सफोर्ड सहर आफैँमा जीवन्त म्युजियम हो, नयाँ भवन कम नै देख्नुहुन्छ । विश्वमा यसरी आफ्नो इतिहास र संस्कार जोगाएका बिरलै ठाउँ छन् । त्यस्तै चीनको पेकिङले त्यहाँको संस्कार र इतिहास झल्काउँछ भने सिङ्वाले आधुनिकता । 

नेपाल दुई अर्बभन्दा बढी मानवले आस्था राख्ने बुद्ध र हिन्दूको जन्मभूमि हो । हामीले विश्व इतिहास पनि बिर्सिनु हुँदैन । केही सय वर्षअघि बेलायत र अमेरिका भारतवर्ष क्षेत्रको तुलनामा गरिब थिए । अक्सफोर्ड या हार्वर्ड उचाइमा पुगेको र उनीहरूको संस्कारले करिब हरेक मानिसको मानसिकता नै अधिग्रहण गरेको केही सय वर्ष मात्र भयो । यसको एउटा सामान्य उदाहरण हामीले दीक्षित हुँदा लगाउने कालो गाउन हो । हामीले पनि केही दशक होइन, शताब्दी सोचेर विश्वविद्यालयको नामकरण गर्दै त्यसको संस्कार निर्माण गर्नुपर्छ, जसले कम्तीमा दुई अर्ब मानवको भावनासहित हजारौँ वर्षको इतिहास प्रतिनिधित्व गर्न सकोस् । काठमाडौंलाई पुनः मन्दिर–गुम्बाको सहर बनाई पशुपतिनाथ र बौद्धनाथ जोड्ने विश्वविद्यालय निर्माण गरेर विश्वको ज्ञानको केन्द्र बनाउन असम्भव छैन । तर, अहिले भने सकेसम्म छिटो राजधानी अन्यत्र सारेर काठमाडौंलाई पुरानो काठमाडौं बनाउनुपर्छ ।

काठमाडौं कुरूप भइसक्यो, थप कुरूप हुनबाट बचाऔँ प्रधानमन्त्रीज्यू । सम्पदा, संस्कृति र पर्व जोगाऔँ । सुनका गजुरैगजुर भएको सहरमा हिन्दू र बौद्धलाई जोडेर बसेका नेवार संस्कृतिको महत्व बुझौँ । धर्मको नाममा लड्दा बल्लतल्ल बचेको अक्सफोर्ड सहरभन्दा धेरै नै मूल्यवान् सहर काठमाडौं थियो, प्रयास गरे फेरि बन्नेछ । हामीले के नबिर्सिऔँ भने करिब १५० वर्ष पहिले नेपालले कपडा उत्पादन गरेर चीन र भारत निर्यात गथ्र्यो । खानीहरू थिए, हातहतियार आफैँ उत्पादन गथ्र्यो । यहाँका गरगहना र कलाले विश्व आकर्षित गथ्र्यो । तसर्थ जसरी अक्सफोर्ड या हार्वर्डले पश्चिमा शताब्दीको नेतृत्व गरे, त्यस्तै काठमाडौंले अब एसियाको शताब्दी नेतृत्व गर्ने विश्वविद्यालय दिन सक्छ ।

उत्कृष्ट हजारबाट हजार खर्बको बाटो : तितो यथार्थ के हो भने करिब सय वर्षदेखि ‘हाइड्रोपावर’ प्राथमिकतामा भए पनि हामीलाई चाहिने ठूला जलविद्युत् परियोजना निर्माण गर्ने क्षमता हामीसँग अहिलेसम्म छैन । विदेशीलाई सरकारले नेपालमै आयोजनामा काम गर्न वार्षिक ४–५ करोड तलब मात्र तिर्छ । विडम्बना, उत्तिकै क्षमता राख्ने नेपाली इन्जिनियर कि महिनाको ३०–४० हजार तलब लिएर सामान्य जीवन यापन गर्न बाध्य छन् कि विदेश पलायन भएका छन् । देशकै प्रमुख प्राथमिकतामा परेको क्षेत्रको यो दुर्दशा छ भने समाजशास्त्र, अर्थशास्त्र, पत्रकारितालगायत अरू विषयको अवस्था विश्वको तुलनामा कति नाजुक छ, आफैँ कल्पना गर्नुस् । 

तपाईंले सूक्ष्म रूपमा हेर्नुभयो भने ६ करोड जनसंख्या भएको बेलायत अक्सफोर्ड र क्याम्ब्रिजका १५ सयदेखि दुई हजार प्राध्यापकले चलाएका छन् भने एक अर्बभन्दा बढी आवादीको चीन, सिङ्वा वा पेकिङका केही हजार प्राध्यापकले चलाएका छन् । गहन रूपमा हेर्दा प्रधानमन्त्री वा राष्ट्रपति त्यो देशले देखाउने मुकुट मात्र हुन् । त्यो मुकुटलाई जीवन दिने असली प्रधानमन्त्री वा राष्ट्रपति त्यही देशका उत्कृष्ट प्राध्यापक वा विज्ञ हुन् । नेपालमा चीन वा बेलायतमा जस्तो विश्वस्तरीय ज्ञानको ठूलो खडेरी छ । न त्यो कर्मचारीतन्त्रमा छ, न राजनीतिज्ञमा, न त विश्वविद्यालयमै । 

प्रधानमन्त्रीका निर्णयहरू परिपक्व र जीवन्त बनाउन तपाईंले आफ्ना निर्णयहरू विश्वसँग दाँज्न सक्नुपर्छ, जुन तपाईंको वरिपरि भएको संरचना र व्यक्तिले दिन सक्छन् जस्तो लागेन । त्यसका लागि एउटा आयोग बनाउनुहोस्, जसले स्वतन्त्र रूपमा विभिन्न विधाका एक हजार उत्कृष्ट नेपाली विश्वभरिबाट खुला प्रतिस्पर्धाबाट छान्नेछ, नेपालमै राख्नेछ । तर, यी युरोप, अमेरिका बनाएका नेपाली दुई–चारजनाबाहेक सजिलै हालको स्थितिमा मातृभूमि फर्कन चाहने छैनन् । उनीहरूले त्यहाँ पाएबराबरको सुविधा, वातावरण र सम्मान दिएर लोभ्याउन सक्नुपर्छ । तिनको सुविधामा धेरै खर्च लाग्ने पनि होइन । वार्षिक एकजनाको (सम्मान स्वरूप कर नलिएर) ६० लाख रुपैयाँ तलब दिँदा पनि जम्मा ६ अर्ब हुने हो । त्यत्रो ६ अर्ब भनिएला, तर ती एक हजार उत्कृष्ट नेपालीले एक हजार खर्बको अर्थतन्त्र निर्माण गर्ने बाटोमा लिएर जानेछन् ।

हाल संघीय, प्रदेश र स्थानीय सरकार सर्वत्र व्याप्त ज्ञानको चरम खडेरी यी एक हजार नेपालीबाट केही हदसम्म परिपूर्ति हुनेछ । आफैँ कल्पना गर्नुस्, दुई–चारजना स्वतन्त्र विज्ञ मात्र हुँदा रेल वा एमसिसीको बहसले गहिराइ लिन खोज्छ, एक हजार विज्ञ भित्र्याउन सके हाम्रो सार्वजनिक विमर्शको स्तर कहाँ पुग्ला ? यिनै एक हजार विज्ञले अरू विज्ञ भित्र्याउँछन् । चीन, सिंगापुरलाई ३० वर्षमा मात्रै कायापलट बनाएको स्वतन्त्र विज्ञहरूले हो र नेपाल पनि कायापलट हुन सक्छ । ली क्वान युले गरेजस्तै गर्ने हो भने उत्कृष्ट नेपाली वासिंटन, मनिला, जेनेभा वा सिलिकन भ्यालीमा होइन प्रधानमन्त्रीज्यू, तपाईंकै छेउछाउमै हुनेछन् । विडम्बना, अहिले योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारको सचिव भइसकेका खम्बाहरू न्युयोर्क र मनिला पुगिरहेका छन् ।

चीन, सिंगापुरलाई ३० वर्षमा कायापलट बनाएको स्वतन्त्र विज्ञहरूले हो र नेपाल पनि कायापलट हुन सक्छ । ली क्वान युले गरेजस्तै गर्ने हो भने उत्कृष्ट नेपाली वासिंटन, मनिला, जेनेभा वा सिलिकन भ्यालीमा होइन प्रधानमन्त्रीज्यू, तपाईंकै छेउछाउमै हुनेछन् ।

राजनीतिक नियुक्तिमा बन्देज र कुलपतिबाट बिदाइ : माथि भनेको काम गर्न सक्नुभयो र विज्ञले प्रधानमन्त्रीलाई पनि चुनौती दिन सक्ने वातावरण बनाउनुभयो भने देशले प्रधानमन्त्री केपी ओलीलाई दशक होइन, शताब्दीसम्म सम्मान गर्नेछ र सम्झिनेछ । यो राणाशासन अन्त्यपछिको ७० वर्षको इतिहासमा कुनै व्यवस्थामा पनि भएको छैन । हरेक क्षेत्रमा आसेपासेलाई जागिर दिन थाल्नुहुन्छ त, कोही किन नेपाल बस्न खोज्छ ? नियम–कानुन भनेको आफूलाई पनि बाँध्न सक्ने हुनुपर्छ । हजुरले ठीक उल्टो गर्नुहुन्छ, नियम–कानुनलाई बाँधिदिनुहुन्छ । सच्चिनुस् प्रधानमन्त्रीज्यू, जनताको आँसु र रगतको मूल्य बुझिदिनुस् । नियम–कानुनको कठोर पालना आफैँबाट सुरु गर्नुस् ।

विश्वविद्यालय स्वतन्त्र निकाय हो, यहाँ भागबन्डा होइन, स्वतन्त्र प्रतिस्पर्धा र खुला सोच हुनुपर्छ । राजनीतिले विश्वविद्यालय कसरी ‘कोमा’ मा पुगेको छ, एउटा उदाहरण एमसिसी हेर्नुस् । विकसित देशमा यस्ता बहस विश्वविद्यालयले गहिरो अनुसन्धान गरी छिनोफानो गर्छन् । हाम्रोमा टेलिभिजन र राजनीतिक दलले बहस गर्नुपरेको छ । यस्तो गहन राष्ट्रिय विषयमा नेपालको सिङ्वा वा एमआइटी (पुल्चोक क्याम्पस) एकातिर राजनीतिक नियुक्तिले थला परेर बोल्न पनि नसक्ने गरी मृतबराबर भएर बसेको छ भने राजनीतिक नेतालाई एमसिसी अध्ययन समितिको प्राध्यापक हुनुपरेको छ । नेता प्राध्यापक भएका छन्, प्राध्यापक नेता । 

विश्वको कुन उत्कृष्ट विश्वविद्यालयमा त्यहाँको कार्यकारी प्रमुख कुलपति भएर अर्ती उपदेश दिन्छन् उदाहरण दिन सक्नुहुन्छ प्रधानमन्त्रीज्यू ? हामीले गरिरहेको ठीक उल्टो हुन्छ त्यहाँ । विश्वविद्यालयले कार्यकारी प्रमुखलाई अर्ती उपदेश मात्र होइन, चुनौती पनि दिन्छन् । गलत नीतिको ठाडै आलोचना गर्छन्– चाहे त्यो बेलायत होस् या अमेरिका या सिंगापुर । तपाईंले सक्दो छिटो कुलपतिबाट प्रधानमन्त्रीको पदलाई अलग गरेर विश्वविद्यालयलाई स्वतन्त्रताको सास फेर्न दिनुस् । 

भ्रातृ संगठनको अन्त्य : प्रधानमन्त्रीज्यू, अक्सफोर्डलाई विद्यार्थीको गुणस्तरमा त्रिविका केही कलेजहरू (जस्तै– पुल्चोक इन्जिनियरिङ क्याम्पससँग) दाँज्न मिल्छ । गणितीय हिसाबमा अक्सफोर्ड जानुभन्दा पुल्चोक जानु गाह्रो छ । विडम्बना, पुल्चोकले हिरा भित्र्याएर फलाम बनाएर बेच्छ । विश्वविद्यालयमा विद्यार्थीलाई स्वतन्त्र हुनै दिइँदैन र वादले यसरी शोषण गरिन्छ कि उनीहरू एकपटक लागेको वादको दागबाट जिन्दगीभरि चाहेर पनि छुट्कारा पाउँदैनन् । उनीहरूलाई नेता होइन, सिपाही बनाइन्छ र केही सिपाहीलाई गुन्डागर्दीमा उतारिन्छ । राजनीति गर्नका लागि आफ्नो विषयमा कमसल हुनुपर्ने करिब नियम जस्तै बनेको छ । अक्सफोर्डमा विद्यार्थी पूर्ण स्वतन्त्र हुन्छन् र वादको होइन, मुद्दाको बहस हुन्छ । हजुरले प्रवचन दिएको अक्सफोर्ड युनियनमा विद्यार्थीलाई नै मोडेल प्रधानमन्त्री बनाइन्छ र अर्काको मुद्दा आफूले लिएर र आफ्नो मुद्दा अर्कालाई दिएर बहस गराइन्छ किनकि यो जित्नु–हार्नुको सवाल होइन सिक्नु–नसिक्नुको सवाल हो । ताकि अहिलेका मोडेल प्रधानमन्त्री भविष्यका जनताको विषयमा फेल नहून् । 

अन्त्यमा : रिसर्च बजेट, युनियनका चुनाव, पढ्ने वातावरणलगायत विषयमा सुझाबहरू छन् । तर, यहाँ शब्दको सीमितता छ । सधैँ तपाईंको सफलताको कामना गर्ने र अहिलेसम्म कुनै पनि पार्टीमा नलागेको स्वतन्त्र नेपाली हुँ । कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह छैन । नेपालमा विश्वस्तरीय विश्वविद्यालय बनाउने जगको शिलान्यास हजुरले नै गरेको हेर्ने व्यग्र पर्खाइमा छु । 

(लेखक अक्सफोर्ड विश्वविद्यालयबाट जलस्रोत नीति तथा व्यवस्थापनमा स्नातकोत्तर हुन्)