मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज २८ बुधबार ०५:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजकुमार चेपाङ मृत्यु प्रकरण : आरोपित सैनिक पुर्पक्षमा कारागार चलान

Read Time : < 1 मिनेट
२०७७ असोज २८ बुधबार ०५:०४:००

राप्ती नगरपालिका २ का राजकुमार चेपाङको कुटपिटपछि मृत्यु घटनामा आरोपित सैनिकलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । १ साउनमा सेनाको कुटपिटबाट गम्भीर घाइते भएका चेपाङको ८ साउनमा मृत्यु भएको थियो ।

मृतकका बाबु विष्णुलालले २५ भदौमा नेपाली सेनाका हुद्दा चिरणकुमार बुढाविरुद्ध किटानी जाहेरी दिएका थिए । बुढालाई प्रहरीले ४ असोजमा नियन्त्रणमा लिएको थियो । उनको मौखिक बयानसँगै पोलिग्राफ परीक्षणसमेत गरिएको चितवन प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले बताए । आरोपित बुढाविरुद्ध मुलुकी अपराध संहितको दफा १७८ अन्तर्गत मुद्दा चलाइएको थियो ।

पीडितहरूका अनुसार सेनाले निकुञ्जमा प्रवेश गरेका सातजनामध्ये दुई महिलाबाहेक पाँच पुरुषलाई कुटपिट गरेको थियो । महिलाहरूलाई पनि अपशब्द बोल्दै दुव्र्यवहार गरिएको थियो । उक्त घटनामा राप्ती नगरपालिका २ मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजा घाइते भएका थिए । मृतक राजकुमारको शव पोस्टमार्टमका लागि ११ साउनमा काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । १२ साउन दिउँसो शव पोस्टमार्टम भएको थियो ।

नगरपालिकाले राहत दियो, निकुञ्जले दिएन
मृतक चेपाङको परिवारलाई राप्ती नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ । नगर प्रमुख प्रभा बरालले आफूहरूले दिने भनेको तीन लाख रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको बताइन् ।

गत १६ साउनमा मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति जिल्ला प्रशासन कार्यालयमा भएको थियो । परिवारलाई राप्ती नगरपालिकाले तीन लाख र निकुञ्जले सात लाख दिने सर्वपक्षीय सहमति थियो । सहमतिअनुसार निकुञ्ज प्रशासनले भने अझै राहत रकम दिएको छैन । पूर्वनिर्धारित स्रोत नभएको र नयाँ स्रोत खोजी भइरहेकाले ढिला भएको निकुञ्ज प्रमुख अणनाथ बरालले बताए । यथासक्य छिटो स्रोत व्यवस्थापन गरेर सहमतिअनुसार रकम दिन तयार रहेको उनले बताए ।