१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ध्रुव बीसी
२०७५ मङ्सिर ९ आइतबार ०८:५०:००
Read Time : > 1 मिनेट
ब्लग

धार्मिक गन्तव्य बान्निगढी

Read Time : > 1 मिनेट
ध्रुव बीसी
२०७५ मङ्सिर ९ आइतबार ०८:५०:००

हरियो पहाडको टुप्पोमा अत्याधुनिक भ्यु–टावरजस्तो देखिन्छ, अछामको बान्निगढी । यहाँ पुग्ने जो कोही प्राकृतिक सुन्दरताबाट मन्त्रमुग्ध हुन्छन् । खप्तड, रामारोशन र बडिमालिका जाँदा एकपटक छिर्नैपर्ने ठाउँ हो, बान्निगढी ।

६ सय २२ वर्षअघि देवचन्द्र शाहका छैटौँ सन्तानका रूपमा जन्मिएका राजा हरिचन्द्र शाहले वरदादेवी भगवतीको मन्दिर स्थापना गरेको किम्बदन्ती छ । यो ठाउँलाई स्वर्गका रूपमा चर्चा गरिन्छ । यहाँ पुग्नेले छेउमै रहेको नौलागडी हेर्न छुटाउँदैनन् ।

अछामको साँफेबगर एयरपोर्टदेखि एक घन्टाको दूरीमा रहेको बान्निगढी जयगढ गाउँपालिकाको शिरमा पर्छ । धार्मिक पर्यटकीय क्षेत्र बान्निगढीमा वरदादेवी भवगतीको मन्दिरसहित पाँच सय मिटर लामो गुफा, विभिन्न किसिमका कुवा, शिवालय, देवीधारा, झिने धारालगायत अवलोकन गर्न पाइन्छ ।

यहाँबाट पर्यटकीय क्षेत्र खप्तड, रामारोशन, साइपाल, बडिमालिका, तितौडासहित डोटी, डडेल्धुरा, बाजुरा, बझाङ, दैलेख र कालिकोटका अधिकांश भाग देख्न सकिन्छ ।

प्रकृतिले नै निर्माण गरिदिएको अत्याधुनिक भ्यु–टावरजस्तो लाग्छ बान्निगढी । लालीगुराँस फुलेर रंगीचंगी देखिने बान्निगढीमा काफल, ऐँसेलु र तिरखुला पनि प्रशस्त खान पाइन्छ ।

समुद्री सतहबाट करिब १३ सय ३० मिटर उचाइमा रहेको यो ठाउँमा धेरै चिसो नहुने भएकाले बाह्रै महिना पर्यटकको घुइँचो लाग्ने गरेको बान्निगढी धार्मिक पर्यटकीय क्षेत्रका जानकार तीलकबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार बिमकोटे, दर्नाली र घुँघुँरकोटे राजाहरूले सुरक्षित ठाउँ ठानेर यसलाई आफ्नो सुरक्षा गणका रूपमा स्थापना गरेको किंवदन्ती छ । इतिहासका जानकार पूर्णप्रकाश यात्रीले उल्लेख गरेअनुसार यो ठाउँ चारैतिरबाट सुरक्षित रहेकाले सोमवंशी राजाका १४ पुस्ताले यो डाँडालाई आफ्नो किल्लाका रूपमा प्रयोग गरेका थिए ।

नेपाल एकीकरणका वेला बहादुर शाहले स्थापना गरेको दसैँ घरसमेत यहीँ छ । यहाँ पुग्ने सबैलाई यो ठाउँ स्वर्गको टुक्राजस्तो लाग्छ । तर, यहाँ थोरै मात्र पर्यटक पुग्छन् । प्रकृतिकै सुन्दर र हराभरा देखिने बान्निगढी प्रायः सुनसान हुन्छ । प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि यो ठाउँ अझै ओझेलमा छ ।