१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २७ मंगलबार ०७:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिका समाचार प्रभाव : आँखामा मासु पलाएकी बालिकाको नि:शुल्क उपचार

Read Time : > 1 मिनेट
२०७७ असोज २७ मंगलबार ०७:४६:००

आँखामा लागेको चोटको समयमै उपचार नहुँदा मासु पलाएर समस्यामा परेकी सिराहाको मिर्चैया नगरपालिका–३, राघोपुर बकथवलाकी ११ वर्षीया नेहाकुमारी सदाको निःशुल्क उपचार भएको छ । गरिबीका कारण आँखाको उपचारमा समस्या भएको समाचार नयाँ पत्रिका अनलाइनमा प्रकाशित भएको थियो । सामाजिक संघसंस्था र अभियन्ताहरूले उनको उपचारका लागि काठमाडौं ल्याएका थिए । 

आर्थिक अवस्था कमजोर रहेको मुसहर परिवारकी नेहा आँखामा देखिएको समस्याका कारण विद्यालय जानबाट समेत वञ्चित भएको समाचार पढेपछि विभिन्न व्यक्ति र संस्थाहरूले देश–विदेशबाट सहयोग गरेका छन् । काठमाडौंको गौशालास्थित तिलगंगा आँखा अस्पतालले नि:शुल्क अप्रेसन गरिदिएको छ । दुई साता लामो उपचारपछि नेहा घर फर्किएकी छिन् । अब उनी स्कुलसमेत जान सक्छिन् । 

उनलाई स्कुल पठाउन  भोर अनुसन्धानमूलक संस्थाले विद्यालय पोसाक, झोला र जुत्तासहित शैक्षिक सामग्री सहयोग गरेको छ । उनको उपचारका लागि दुई लाख आठ हजार पाँच सय ९७ रुपैयाँ उठेको थियो । संकलित रकममध्ये काठमाडौं आवतजावत र औषधिलगायतमा ७० हजार रुपैयाँ खर्च भएको छ । २० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरी बाँकी रहेको रकम नेहा र उसको भाइको नाममा बैंकमा खाता खोली बचत गरिदिने तयारी रहेको अभियन्ता पचु माझी मुसहरले जानकारी दिए । 

उनको उपचारका लागि सहयोग पुर्‍याउने व्यक्तिहरूलाई स्थानीय जनकल्याण समाजले सोमबार एक कार्यक्रमबीच सम्मानसमेत गरेको छ । सानैमा आँखामा चोट लागेपछि समयमै उपचार नहुँदा उनको दायाँ आँखामा मासु पलाएको थियो । मासु पलाएपछि उनले दृष्टि गुमाएकी थिइन् । आफ्नी आमा बित्दा नेहा दुई वर्षकी मात्रै थिइन् । 

उनका बुबा ४५ वर्षे भोला सदाले गरिबीकै कारण समयमै छोरीको उपचार गर्न पाएकी थिएनन् । उनी परिवारको दुई छाक जोहो गर्नका लागि गाउँमै मजदुरी गर्छन् । ‘फुर्सदमा जंगलबाट दाउरा ल्याएर बेचेको पैसाले हातमुख जोड्नै मुस्किल पर्छ,’ उनी भन्छन्, ‘त्यही पनि अहिले लकडाउनका कारण गर्न पाएको छैन ।’ आँखामा मासु पलाएर धेरै नै गाह्रो भएपछि स्थानीयको सहयोगमा भोलाले लाहान अस्पताल लगेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।

गाउँमा भोलाको आफ्नो घर भएको दुई धुर ऐलानी जग्गाबाहेक आफ्नो भन्नु केही छैन । नेहा भोलाकी एक्ली छोरी हुन् ।