१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
वाल्टर आइज्याक्सन
२०७७ असोज २७ मंगलबार ०७:१८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पुरस्कारले क्रान्तिको सम्मान

Read Time : > 2 मिनेट
वाल्टर आइज्याक्सन
२०७७ असोज २७ मंगलबार ०७:१८:००

कक्षा ६ मा पढिरहेकी जेनिफर डुड्नाले एक दिन घर फर्किंदा पिताले ओछ्यानको छेउमा राखेको एक लेख भेटिन् । माथि लेखिएको थियो– ‘डबल हेलिक्स ।’ उनले कुनै जासुसी कथा सोचेर त्यसलाई छेउमा राखिन् । एक दिन पानी परेको दिन उनले सो लेखोट मन लगाएर पढिन् । उनलाई कथाले तान्यो । कथामा रहेका रंगीन पात्र, तिनका उस्तै लक्ष्य र प्रकृतिका अद्भूत वर्णनले तानेकाले उनी सम्पूर्ण लेख नभ्याएसम्म रोकिन सकिनन् । यो कथा पढेपछि डुड्नामा वैज्ञानिक बन्ने रहर जागेर आयो । विद्यालयका शिक्षकले युवतीहरू वैज्ञानिक नहुने बताएका भए पनि उनले वैज्ञानिक बन्ने निर्णय गरिन् । 

आज डिएनएका सह–आविष्कारक जेम्स वाट्सनको भाषामा डा. डुड्नाले जीवविज्ञानमा डिएनएको आविष्कारपछिको सबैभन्दा महत्वपूर्ण उपलब्धि विकास गर्न सघाएकी छिन् । उनले पेरिसकी प्रतिभाशाली जीववैज्ञानिक इम्यानुयल चारपेन्टियरसँग मिलेर प्रकृतिप्रतिको मानव जिज्ञासालाई हस्तक्षेपकारी भूमिकामा बदलिदिइन् । वैज्ञानिकहरूले यस आविष्कारले मानवजातिलाई सधैँका लागि बदलिदिने बताएका छन् ।

डिएनएलाई काँटछाँट गर्न मिल्ने दुई वैज्ञानिकले विकास गरेको औजारलाई ‘क्रिस्पर’ भनिन्छ । यो आविष्कारले चिकित्सा क्षेत्रमा क्रान्तिकारी परिवर्तन मात्र गरेको छैन, विभिन्न नैतिक प्रश्न खडा गरिदिएको छ । 

यही उपलब्धिका लागि बुधबार दुईजनाले रसायनशास्त्र विधामा नोबेल पुरस्कार पाए । यो सम्मान क्रिस्पर प्रविधिले तीव्र गराउन सक्ने नवीन क्रान्तिका लागि दिइएको हो । विगत आधा दशक डिजिटल युगको रह्यो ।

माइक्रोचिपमा आधारित कम्प्युटर तथा इन्टरनेटको अभूतपूर्व विकास भयो । अब हामी जीवविज्ञानको युगमा प्रवेश गर्ने क्रममा छौँ । डिजिटल कोडिङ पढ्ने विद्यार्थीहरू अब जीवनका कोड पनि अध्ययन गर्न थाल्नेछन् । यो क्रान्तिले कुनै दिन मानवजातिलाई रोगको उपचारमा सघाउनेछ, भाइरसको माहामारी नियन्त्रण गर्नेछ । अझ आफ्ना बच्चालाई विशिष्ट गुण दिएर डिजाइन गर्न सम्भव बनाउनेछ । 

कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाएको यो वर्ष क्रिस्पर थप सान्दर्भिक देखिन्छ । डा. डुड्ना र चारपेन्टियरले विकास गरेको जिन सम्पादन औजार ब्याक्टेरियाले भाइरससँग लड्न प्रयोग गर्ने विधिमा आधारित छ ।

ब्याक्टेरियाले अर्बौं वर्षदेखि भाइरससँग संघर्ष गर्नुपरेको छ । ब्याक्टेरियाले भाइरसलाई मार्नका लागि आफ्नो डिएनएमा दाहोरिने क्लस्टर्ड सिक्वेन्स विकास गर्छ । क्रिस्पर भनिने यस सिक्वेन्सले साँच्चै भाइरसलाई मार्छ । अर्को शब्दमा भन्दा यो यस्तो रोग प्रतिरोधात्मक प्रणाली हो, जसले भाइरसका प्रत्येक नयाँ लहरसँग लड्नका लागि आफूलाई तयार राख्छ । भाइरसको महामारी दोहोरिइरहेको आजको समयमा यो मानवजातिका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । 

पुरस्कार जीवविज्ञानमा महिलाको बढ्दो शक्तिको परिचायक पनि हो । हालसम्म रसायनशास्त्र विधामा नोबेल पुरस्कार पाउने १८४ मध्ये पाँचजना मात्र महिला छन् । यो वर्षको पुरस्कार घोषणापछि डा. चारपेन्टियरले बोल्ने क्रममा भनिन्, ‘यसले विज्ञानको मार्गमा हिँड्न चाहने युवतीका लागि सन्देश दिनेछ ।’ क्रिस्पर अहिले सिकल सेल एनेमिया, क्यान्सर र अन्धोपनको उपचारका लागि प्रयोग भइरहेको छ । र, यो वर्ष डा. डुड्नाको अनुसन्धान समूहले क्रिस्परले कसरी कोरोना भाइरस पहिचान गरेर नष्ट गर्छ भन्ने खोज सुरु गरेको छ । 

क्रिस्परमार्फत दुई वैज्ञानिकले विगतमा प्रकृतिप्रतिको हाम्रो कुतूहलतालाई हस्तक्षेप गर्न सक्ने स्थितिमा बदलिदिए, यसले मानवजातिलाई नै सधैँका लागि बदल्नेछ । 

सन् २०१८ मा एक युवा चिनियाँ विद्यार्थी हि जियान्कुईले विश्वमा पहिलोपटक क्रिस्पर प्रविधि मानव भ्रूणमा प्रयोग गरे । चिनियाँ वैज्ञानिक हि डा. डुड्नाका केही सम्मेलनमा पनि सहभागी थिए । यो समाचार बाहिरिएसँगै विश्वभर तरंग उत्पन्न भयो । मानिसमा उत्साह र स्तब्धता दुवै देखियो । हिले मानव भ्रूणमा एड्स रोग लगाउने एचआइभी ग्रहण गर्ने जिनलाई हटाइदिएका थिए ।

पृथ्वीमा जीवनको उद्विकास सुरु भएको तीन अर्ब वर्षपछि एक प्रजाति (हामी मानव)ले आफ्नै जेनेटिक भविष्यमा निर्देशित गर्न सक्ने प्रतिभा विकास गरेका छौँ । यो समाचारपछि मानवजाति पूर्ण नयाँ अपरिचित युगतर्फ अघि बढेको भाव धेरैमा देखिन्थ्यो । बाइबलको कथासँग तुलना गर्दा एडम र इभले स्याउ टोकेपछिको अवस्थाजस्तो वा ग्रिक मिथकको प्रमिथसजस्तो । 

क्रिस्परले केही कठोर नैतिक प्रश्नहरू पनि खडा गरिदिएको छ । के हामीले प्राणघातक भाइरसको जोखिम कम गर्न हाम्रो प्रजातिको जिनमा परिवर्तन (सम्पादन) गर्नु हुन्छ ? कोरोना भाइरसको यो समयमा धेरैले यसलाई अद्भूत वरदानको रूपमा लिनेछन् । हामीले सिकेल सेल वा सिस्टिक फिब्रोसिसजस्ता रोगलाई निर्मूल पार्न हुन्छ ? वा मानव प्रजातिबाटै डिप्रेसन वा होचोपन पनि निर्मूल गरिनु कत्तिको सही हुन्छ ? अबको केही दशकमा यो प्रविधिबाट बौद्धिक क्षमता(आइक्यु) पनि विकास गर्न सकियो भने यसलाई प्रयोगमा ल्याउन दिनु कत्तिको उपयुक्त हुन्छ ? त्यस्तै अभिभावकलाई जन्मिन लागेको बच्चाको आँखाको रंग, छालाको रंग र उचाइजस्ता गुण छान्न दिनु कत्तिको उपयुक्त हुन्छ ? 

यो वर्षको रसायनशास्त्र विधाको नोबेल पुरस्कारबाट यही पाठ सिक्न सकिन्छ– नयाँ प्रविधिले मानवजातिलाई ठूलो सहयोग पुर्‍याउन सक्छ । तर, तिनको सही प्रयोगका लागि मानिसले तिनलाई बुझ्नुपर्छ । जिन इडिटिङ (जिन सम्पादन)माथि प्रकाश हालेर नोबेल कमिटीले प्रकृतिको चमत्कार र बिस्तारै प्रकृतिका काममै दख्खल दिन सक्ने प्रविधिबारे आवश्यक चेतना निम्त्याएको छ । 

वाल्टर आइज्याक्सन टुलान विश्वविद्यालयका इतिहासका प्राध्यापक हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य