मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ असोज २६ सोमबार १९:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोती घटना : दुई नाबालकलाई रिहा गर्न उच्च अदालतको आदेश

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ असोज २६ सोमबार १९:०९:००

गत १० जेठमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८, सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा पक्राउ परेका दुई नाबालकलाई रिहा गर्न उच्च अदालत सुर्खेतले आदेश दिएको छ । रुकुम जिल्ला अदालतले बाल सुधारगृहमा पठाएका दुई नाबालकलाई उच्च अदालत सुर्खेतले रिहा गर्न आदेश दिएको हो । 

गत १ असारमा जिल्ला न्यायाधीश विद्याराज पौडेलले मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन आदेश दिएका थिए । उक्त आदेशपछि उनीहरूमध्ये एकजनालाई नेपालगन्ज र एकजनालाई भक्तपुरमा रहेको बाल सुधारगृहमा पठाइएको थियो । 

उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश सुदर्शनदेव भट्टकोे इजलासले सुधारगृहमा रहेका दुई नाबालकलाई रिहा गर्न आदेश दिएको रुकुम जिल्ला अदालतले जानकारी दिएको छ । अब उनीहरू सुधारगृहबाट अदालतमा आएपछि अभिभावकको जिम्मा लगाउने रुकुम जिल्ला अदालतको भनाइ छ । 

जाजरकोटको भेरी नगरपालिकाका पाँच र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका एक गरी ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्न भएको भन्दै ३४ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, छुवाछुत र जातीय विभेदको अभियोग लागेको थियो । 

उनीहरूमध्ये तीनजना साधारण तारेक र एकजना एक लाख धरौटीमा यसअघि नै रिहा भइसकेका छन् । दुई नाबालकलाई पनि रिहा गर्ने आदेश भएसँगै अब सोती घटनामा रिहा हुनेको संख्या ६ पुगेको छ । २८ जना भने पुर्पक्षका लागि कारागारमै रहेका छन् ।