१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २६ सोमबार ०४:२९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पाठ्यपुस्तकमा कमिसनको खेल : प्याब्सनले तोकेको पाठ्यपुस्तक प्रयोग नगर्ने विद्यालयलाई ५० हजार जरिवाना

जरिवाना रकम प्याब्सन नगर समितिको खातामा जम्मा गरेको भौचर र आगामी दिनमा प्याब्सनका सम्पूर्ण निर्णय अवलम्बन गर्ने लिखित प्रतिबद्धता बुझाउन प्याब्सनको निर्देशन

Read Time : > 1 मिनेट
२०७७ असोज २६ सोमबार ०४:२९:००

आफूले तोकेको प्रकाशनगृहको पाठ्यपुस्तक प्रयोग नगरेको बताउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धनगढी नगर समितिले विद्यालयहरूबाट जरिवाना असुल्न थालेको छ । नगर समितिले पत्र पठाउँदै तोकिएका पाठ्यपुस्तक प्रयोग नगर्ने प्याब्सन आबद्ध निजी विद्यालयलाई १० देखि ५० हजार रुपैयाँ जरिवाना तिर्न निर्देशन दिएको छ ।

जरिवाना रकम प्याब्सन नगर समितिको खातामा जम्मा गरेको भौचर र आगामी दिनमा प्याब्सनका सम्पूर्ण निर्णय अवलम्बन गर्ने लिखित प्रतिबद्धता बुझाउन पनि पत्रमा निर्देशन दिइएको छ । ओसन पब्लिकेसनको कम्प्युटर पुस्तक प्रयोग नगरेको बताउँदै प्याब्सनले जरिवाना असुल्न थालेको निजी विद्यालय सञ्चालकहरूले बताए ।

उक्त किताब प्रयोग नगर्दा ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र आएको धनगढीस्थित स्टेपिङ स्टोन बोर्डिङ स्कुलका प्रिन्सिपल रामजी हमालले बताए । प्याब्सनले जरिवाना नबुझाउनेलाई कडा कारबाही गर्ने धम्कीपूर्ण पत्र पठाएपछि विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन् ।

कोरोना संकटका कारण विद्यालय नै बचाउन समस्या भएका वेला प्याब्सनले जरिवाना असुल्न थाल्दा सञ्चालकहरू थप मारमा पर्ने हमालले बताए । ‘पाठ्यपुस्तक परिवर्तन गर्दा विद्यार्थी मारमा पर्छन् भनेर यस वर्ष किताब बदलेका थिएनौँ । यो प्रकाशनको पाठ्यपुस्तक प्रयोग गर्नु भनेर प्याब्सनले भनेको पनि थिएन,’ हमालले भने, ‘अहिले आएर ५० हजार जरिवाना तिर्न पत्र आएको छ ।’

यस्तै, प्याब्सनमा आबद्ध धनगढीस्थित एरिस्टो स्कुललाई ४० हजार, ग्यालेक्सी स्कुललाई ३० हजार र गार्डनर बोर्डिङ स्कुललाई १० हजार रुपैयाँ जरिवाना तिर्न प्याब्सन नगर समितिले पत्राचार गरेको छ । विद्यालय सञ्चालकहरूका अनुसार धनगढीका नौवटा विद्यालयलाई प्याब्सनले आफूले भनेको पाठ्यपुस्तक प्रयोग नगरेकामा जरिवाना तिर्न भनिएको छ ।

विक्रेताको स्वार्थमा प्याब्सनले किताब प्रयोग गर्न बाध्य बनाउन खोजेको गार्डनर बोर्डिङ स्कुलका सञ्चालक कैलाश दाहालले बताए । ‘यो दादागिरी शैली हो,’ प्याब्सन कैलालीका पूर्वअध्यक्षसमेत रहेका दाहालले भने, ‘प्याब्सनले यो किताब प्रयोग गर भन्न पाउँदैन । यो विधानविपरीत हो ।’ यसमा संलग्न पदाधिकारी र व्यवसायीलाई कारबाही हुनुपर्ने उनको माग छ ।

प्याब्सनले भनेको जरिवाना आफूले नतिर्ने विद्यालय सञ्चालकहरूले बताए । प्याब्सन पदाधिकारीले प्रकाशन गृहसँग कमिसन खाएर किताब प्रयोग गर्न बाध्य बनाउन खोजेको उनीहरूको आरोप छ । प्याब्सन धनगढीका अध्यक्ष पदमबहादुर साउदले प्याब्सनको आयोजनामा गत वर्ष भएको छात्रा क्रिकेट प्रतियोगितालाई ओसन पब्लिकेसनले प्रायोजन गरेकाले उक्त पब्लिकेसनको किताब प्रयोग गर्न भनिएको बताए । ‘विद्यालय सञ्चालकसँग कुरा मिल्न थालेको’ भन्दै उनले यसबारे धेरै बोल्न चाहेनन् ।

निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकमा हरेक वर्ष कमिसनको खेल हुने गर्छ । कमिसनका आधारमा अधिकांश विद्यालयले हरेक वर्ष फरक–फरक प्रकाशनगृहका पाठ्यपुस्तक प्रयोग गर्न बाध्य बनाउँछन् । ‘विगतमा विद्यालय सञ्चालकले किताब प्रयोगबापत प्रकाशनगृहबाट कमिसन लिन्थे । यस वर्ष प्याब्सनले नै लिन खोजेपछि कमिसनको खेल उजागर भएको हो,’ एक बोर्डिङ स्कुलका शिक्षकले भने ।