मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २५ आइतबार १८:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले भन्यो– कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २५ आइतबार १८:२५:००

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराएको हो । 

नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए । अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए । 

चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाइ छ । लकडाउन गर्ने–नगर्ने कुरा सरकारी आग्रह र अपिलहरू नागकिले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए । 

यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरूलाई सचेतना अपनाउन अपिल गरे । काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको भन्दै उनले नागरिकहरूलाई सचेतना अपनाउन उनले अपिल गरे । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन अनुरोध गरे । दसैँ, तिहार र छठजस्ता चाडपर्वहरूमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

ज्येष्ठ नागरिकहरूको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन सचेत गराए । काठमाडौंमा संक्रमणको दर बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगन्जलगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले खेलेको भूमिकालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताए । 

राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारीविरुद्धको लडाइँमा पछाडि परेको उल्लेख गर्दै उनले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिहरूले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरू काठमाडौंमा लागू गर्न जरुरी रहेको बताए ।