मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २५ आइतबार ०७:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१७ वर्षदेखि ठगीधन्दा परिवार नै अपराधमा संलग्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २५ आइतबार ०७:३९:००

सिन्धुपाल्चोक बाह्रबिसे–६ का धनजित तामाङले २५ वर्षका छोरा रामकृष्ण तामाङ र ३२ वर्षीया भाइबुहारी कान्छी तामाङलाई समेत ठगी धन्दामा लगाएको खुलेको छ ।

सिन्धुपाल्चोकका धनजित तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंंले ०६० मा डलर ठगी आरोपमा पक्राउ गरेको थियो । सस्तोमा डलर साट्ने बहानामा ठगी गरेका उनी एक वर्ष जेल बसेर छुटे । त्यसपछि उनी सुध्रिएको प्रहरीको आकलन त्यतिवेला गलत सावित भयो, जब उनले गिरोह नै बनाएर ठगी गर्दै आएको खुल्यो । गत साता भक्तपुरमा पक्राउ परेका उनले २५ जनाभन्दा बढीलाई ठगिसकेको खुलेको छ । भक्तपुर प्रहरीले ११ जना सहयोगीसहितका उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बाह्रबिसे–६ स्थायी घर भई मध्यपुर ठिमी–९ बस्ने ५७ वर्षीय तामाङले परिवारलाई नै ठगी धन्दामा लगाएको खुलेको छ । उनका २५ वर्षका छोरा रामकृष्ण तामाङ र ३२ वर्षीया भाइबुहारी कान्छी तामाङलाई समेत प्रहरीले उनीसँगै पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार साउनयता मात्र उनीहरूले सस्तोमा डलर साटिदिने भन्दै पाँचजनालाई ठगेका थिए । ‘धेरै वर्षदेखि उनीहरूले संगठित रूपमा ठगी गर्दै आएको देखियो,’ एसपी थापा भन्छिन्, ‘उनीहरूबाट पीडित भएकाहरू थपिने क्रम जारी छ ।’ उनीहरूले हालसम्म एक करोड १५ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी परिसकेको छ ।

प्रहरीका अनुसार अहिले १२ जना पक्राउ परे पनि तामाङको गिरोहमा २० जनाभन्दा बढी संलग्न देखिएका छन् । प्रहरीले बाह्रबिसेकै खेलबहादुर तामाङ, रेलबहादुर तामाङ, विमल भण्डारी, निर्मल भण्डारी, राजकुमार तामाङ, धनबहादुर भण्डारी, कमल भण्डारी, राकेश भण्डारी, सन्चबहादुर योञ्जनलाई पनि पक्राउ गरेको छ । उनीहरू सबै एउटै गाउँका हुन् । तीमध्ये खेलबहादुर र रेलबहादुर तथा विमल र निर्मल दाजुभाइ भएको भक्तपुर परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

उनीहरूले प्रयोग गर्ने पाँचवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । ठगीबाटै उनीहरूले लाखौँ सम्पत्ति आर्जन गरेको देखिएकाले त्यसको पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले श्रीमतीको नाममा सम्पत्ति जोडेको पाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

गिरोहले १३ असोजमा घरजग्गा कारोबारी रमेश रसाइलीसँग पाँच लाख र त्यसको केही दिनपछि मोबाइल पसले कमल खड्कासँग चार लाख रुपैयाँ ठगी गरे । गिरोहका केही सदस्य ९ असोजमै पक्राउ परिसकेका थिए । त्यसपछि क्रमशः प्रहरीले धनजितसहितका १२ जनालाई पक्राउ गरेको हो ।