मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २५ आइतबार ०६:०८:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएल : बेंग्लोरले चेन्नईलाई ३७ रनले हरायो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २५ आइतबार ०६:०८:००

कप्तान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा ३८औँ अर्धसतकीय इनिङ खेलेपछि शनिबार राति रोयल्स च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । दुबईको डिएससी मैदानमा पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा चार विकेट गुमाएर एक सय ६९ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३२ रन मात्र जोड्यो । 

सन् २०१० पछि बेंग्लोरले चेन्नईमाथि जित निकालेको यो नै ठूलो अन्तर हो । त्यसवेला चेन्नई बेंग्लोरसँग ३६ रनले पराजित भएको थियो । जितसँगै बेंग्लोर आठ अंकका साथ चौथो स्थानमा उक्लेको छ । चेन्नई चार अंकका साथ छैटाैँ स्थानमा छ । लिगको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स छ । दिल्लीले पाँच जितका साथ १० अंक जोडेको छ । 

१३औँ आइपिएलको २५औँ खेलमा कोहली र सिभम दुवेले अन्तिम पाँच ओभरमा उत्कृष्ट ब्याटिङ गरेका थिए । १४.३ ओभरमा वासिङटन सुन्दर गुमाउँदा बेंग्लोर ९३–४ को स्थितिमा थियो । त्यसपछि कोहली र दुवेले पाँचौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै बेंग्लोरलाई बलियो स्थितिमा पुर्‍याए । 

कोहलीले ५२ बलमा चार चौका र चारै छक्का प्रहार गरी ९० रन जोडेका थिए । दुवेले १४ बलमा एक छक्का र दुई चौका प्रहार गरी २२ रन बनाए । यसैगरी ओपनर देवदत्तले ३४ बलमा २२ रन बनाए । प्रत्युत्तरमा चेन्नईको ब्याटिङ कुनै पनि समय राम्रो भएन । ओपनर सेन वाट्सनले १८ बलमा १४ रन बनाए । सो इनिङमा अम्बाती राइडुले सर्वाधिक ४२ रन जोडे । यसैगरी नरायन जगदेसनले २८ बलमा ३३ रनको योगदान दिए । रायडु र जगदेसनले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे ।

रायडुले ४० बलमा चार चौका र जगदेसनले २८ बलमा ३३ रन जोड्दा चार चौका प्रहार गरे । चालू आइपिएलको उद्घाटन खेलमा चेन्नईले पहिलो खेलमा जित निकालेको थियो । सातमध्ये पाँच खेल चेन्नईले गुमाएको छ । यस खेलको रमाइलो पक्ष के रह्यो भने १५ महिनापछि कोहली र चेन्नईका कप्तान महेन्द्रसिंह धोनी एकैपटक देखिए । सन् २०१९ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा यी दुवै अन्तिमपटक एकै मैदानमा देखिएका थिए । 

कोलकताको सनसनी जित 

यसैगरी १३औँ आइपिएलअन्तर्गत २४औँ खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पन्जावविरुद्ध दुई रनको सनसनी जित दर्ता गरेको छ । अबुधाबीमा कोलकताले पहिलो ब्याटिङ गरी ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । प्रत्युत्तरमा किंग्स ११ ले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६२ रन मात्र जोड्यो । 

कोलकताको ब्याटिङ इनिङ्समा सुभमान गिलले ४७ बलमा ५७ रनको योगदान दिए । उनले पाँच चौका प्रहार गरे । यसैगरी म्यान अफ दी म्याच कप्तान दिनेश कातिकले २९ बलमा आठ चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ५८ रन बनाए । 

प्रत्युत्तरमा किंग्स ११ ले सुरुवात उत्कृष्ट गरेको थियो । फर्ममा रहेका ओपनरद्वय लोकेश राहुल र मायांक अग्रवालले पहिलो विकेटका लागि १४.२ ओभरमा १ सय १५ रनको साझेदारी जितको आधार बनाए । तर, अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन नसक्दा किंग्स ११ झिनो दुई रनले पराजित हुन पुग्यो ।

राहुल इनिङ्सको १८.६ ओभरमा आउट भए । उनी आउट हुँदा किंग्स ११ को अवस्था १५१–४ थियो । राहुलले ५८ बलमा ६ चौका प्रहार गरी ७४ रन जोडे । यसैगरी मायांकले ३९ बलमा ६ चौका र एक छक्का प्रहार गरी ५६ रन बनाए । नाम चलेका ब्याट्सम्यान निकोलास पुरनले १६ रन तथा ग्लेन म्याक्सवेलले १० रन जोडे । 

डाटा अनुसार कोलकाताले अहिलेसम्म किंग्स ११ माथि निकै छोटो अन्तरले हराएको हो । यो आइपिएलमा दुई रनले विपक्षीलाई माथ दिने कोलकाता पहिलो टोली हो । सन् २०१४ मा कोलकाताले बेंग्लोरलाई दुई रनले नै हराएको थियो । यसैगरी २००८ मा कोलकाताले बेंग्लोरमाथि पाँच रनको जित निकालेको थियो । 

यस खेलमा मोहमद सामीले आइपिएलमा आफ्नो ५० विकेट पूरा गरेका छन् । उनले ५८ खेलमा यो सफलता चुमेका हुन् । यसैगरी कोलकाताका इयोन मोर्गानले आइपिएलमा हजार रन पूरा गरेका छन् । उनले ५८ खेलमा ५१ इनिङ्समा यो उपलब्धि हात पारे । 

१३औँ आइपिएलमा अहिलेसम्म २१ ब्याट्सम्यान रनआउट भएका छन् । जसमा किंग्स ११ का पाँच ब्याट्सम्यान रन आउटकै सिकार भए । यसैगरी पावर प्लेमा सात ब्याट्सम्यान रनआउट भए ।