मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जोस मारिया भेरा
२०७७ असोज २५ आइतबार ०५:५६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महाव्याधिले सिकाएको पाठ : हामीले असमानतासँग जुझ्नुपर्छ 

Read Time : > 2 मिनेट
जोस मारिया भेरा
२०७७ असोज २५ आइतबार ०५:५६:००

थप मृत्यु, भोकमरी तथा गरिबी छल्न विश्वभरका सरकारले असमानता घटाउन प्रतिबद्ध हुनुपर्छ 

‘न्युजिल्यान्डमा सुरक्षित भइएला कि दक्षिण कोरियामा’ कोभिड–१९ को महाव्याधि सुरु भएयता मैले थुप्रैपटक यो प्रश्नको सामना गरेको छु । पर्याप्त सुरक्षाको अनुभूति कहीँ हुँदैन । तर, केही मुलुक महाव्याधिको सवालमा अन्यभन्दा राम्रो अवस्थामा देखिएका भने छन् । मेरा अफ्रिकी सहकर्मी सेनेगल सुरक्षित छ भन्दै छन् । युरोपमा नर्वे तुलनात्मक रूपले बढी सुरक्षित होला । 

यो संकटसँग जुझ्न हाम्रा सरकारहरू कति तयार रहेछन् ? थप मृत्यु, भोकमरी र गरिबीलाई छल्न उनीहरूले के गरिरहेका छन् ? यो महाव्याधिको संकटबाट उनीहरू कसरी उठ्छन् ? हामीले सवाल उठाउनुपर्छ । डेभलपमेन्ट फिनान्स इन्टरनेसनल र अक्सफामले हालैमा प्रकाशित गरेको ‘कमिटमेन्ट टु रिड्युसिङ इनइक्वालिटी इन्डेक्स’ले श्रम अधिकार, कर तथा स्वास्थ्य खर्च, शिक्षा तथा सामाजिक सुरक्षाका आधारमा १५८ मुलुकलाई श्रेणीबद्ध गरेको छ । त्यो श्रेणीवद्ध सूचीले उल्लिखित महत्वपूर्ण सवालहरूको वैज्ञानिक जवाफका लागि तथ्यांक दिएको छ । यो प्रतिवेदनले यो महाव्याधिको समयमा केवल ६ मुलुकले मात्रै अन्तर्राष्ट्रिय मानकोस्तरमा (बजेटको १५ प्रतिशत) आधारभूत (स्वास्थ्य एवं राहतका लागि) स्तरको खर्च गरिरहेका छन् । त्यस्तै, विश्वभर केवल २२ प्रतिशत श्रमबल मात्रै सामाजिक सुरक्षाअन्तर्गत सुरक्षित छन् । एक सयभन्दा बढी देशका प्रत्येक तीनजनामध्ये एक कामदार बिरामी हुँदा आयविहीन हुने अवस्थामा छन् । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जियभादेखि चिनियाँ राष्ट्रपति सी जिनपिङ र पोप फ्रान्सिससम्म सबैले बढ्दो असमानताबारे बोलेका छन्, असमानताविरुद्ध नबोल्ने नेता भेट्नै मुस्किल छ । तर, उनीहरूको त्यो चासो नीतिहरूमा परिवर्तन भइरहेको भने छैन । 

पहिलो कुरा असमानतालाई नियन्त्रण गर्नु जरुरी छ । यो बर्खाको पानीजस्तो अवश्यंभावी होइन । असमानता सरकारको छनोटबाट नै फलीभूत भएको हो ।

असमानताप्रति अकर्मण्यताका कारण अधिकांश मुलुक यो संकटमा कमजोर साबित भएका छन् । जसका कारण अनावश्यक रूपले दसाैँ लाखको ज्यान गुमेको छ भने करोडौँ मानिस गरिबीमा धकेलिएका छन् । सरकारहरूले असमानताको खाडल घटाउन केही गरेको हुँदा हुन् त यो महाव्याधिको विकरालता यो हदको हुने नै थिएन । असमानतासँग जुझ्ने सवालमा भारतको प्रदर्शन विश्वकै खराब छ । भारतका केवल आधा जनसंख्याको मात्रै आधारभूत स्वास्थ्य सेवामा पहुँच छ । तर, भारतका कतिपय राज्य यतिवेला असमानता घटाउने नीतिहरूलाई सुदृढ बनाउनुको सट्टा दैनिक कार्यघन्टा बढाउने तर न्यूनतम ज्यालासम्बन्धी कानुनलाई निलम्बन गर्ने उल्टो बाटोमा छन् । यसको मतलब धनी मुलुकचाहिँ राम्रो गरिरहेका छन् भन्ने होइन । अमेरिकाजस्तो धनी मुलुकमा पनि यो महाव्याधिबाट दुई लाखभन्दा बढीले जीवन गुमाइसकेका छन् । योस्तरको मृत्युका लागि त्यहाँको बढ्दो असमानता पनि दोषी छ । अमेरिकाका लाखौँ गरिब परिवार स्वास्थ्य प्रणालीबाहिर छन्, खासगरी अश्वेत तथा अल्पसंख्यक आदिवासी समुदायका १० परिवारमा एक अश्वेत परिवारसँग मात्रै स्वास्थ्य बिमा छ, जब कि १० श्वेतमध्ये ७ को बिमा हुने गरेको छ । 

तर केही मुलुकले भने निकै राम्रो गरेका छन् । थाइल्यान्डलाई नै लिऊँ, यहाँ अहिलेसम्म कोभिडको मृत्यु ६० भन्दा कम छ । यो मुलुकले सबैलाई आधारभूत स्वास्थ्य सेवाअन्तर्गत राखेको छ । दक्षिण कोरियाले तल्लो वर्गका नागरिकलाई युनिभर्सल इमर्जेन्सी रिलिफ पेमेन्ट प्रत्याभूत गरेर यो महामारीको प्रतिक्रिया जनाएको छ । उसले यो संकटका बीच नै न्यूनतम ज्याला बढाएको छ, धनीमाथि कर बढाएको छ, स्वास्थ्य र शिक्षामा खर्च बढाएको छ । स्पेनले पनि आफ्ना जोखिम समूहका २० लाखभन्दा बढी नागरिकको न्यूनतम आय सुनिश्चित गरेर प्रगतिशील नीतिको उदाहरण प्रस्तुत गरेको छ । न्युजिल्यान्ड, एउटा अर्काे सफलताको कथा हो । यो मुलुकले बाल गरिबीजस्ता असमानताका मुद्दाको सामना गर्न समग्र बजेटलाई नै कल्याणकारी योजनाहरूमा केन्द्रित गरेको छ । भियतनामले आगामी १० वर्षमा उल्लेख्य असमानता घटाउन खोज्दै छ । पहिलो कुरा असमानतालाई नियन्त्रण गर्नु जरुरी छ । 

यो बर्खाको पानीजस्तो अवश्यंभावी होइन । असमानता सरकारको छनोटबाट नै फलीभूत भएको हो । अस्पताल जान सक्ने क्षमता र रोजगारी गुमाउँदा सामाजिक सुरक्षा जालोको सुरक्षाले कति फरक पार्छ भन्ने यो महाव्याधिले हामीलाई सिकाएको छ । असमानतालाई कम गर्न सरकारहरूले सिन्को नभाचिदिँदा हामी असुरक्षित भयौँ । दोस्रो कुरा धनी हुन या गरिब सरकार तिनले थुप्रै काम गर्न सक्छन् । सियरालियोनजस्तो गरिब मुलुकले माध्यमिक शिक्षालाई निःशुल्क बनाउन, उत्खनन कम्पनीहरूको करछली रोक्न जबर्जस्त सुधार गर्न सकेको छ । कोस्टारिका १० वर्षको अवधिमा नै लगभग सबै नागरिकलाई प्राथमिक स्वास्थ्य सेवाअन्तर्गत ल्याउन सफल हुन्छ भने अरूले पनि गर्न नसक्ने होइनन् । तेस्रो– सरकारहरूले चाहँदा आफ्नो मुलुकभित्र असमानता राम्रैसँग घटाउन सक्छन् । अन्तर्राष्ट्रिय सहयोग र सहकार्य विश्वव्यापी वित्तीय संकट टार्न निकै महत्वपूर्ण भएको थियो । यो महामारीले पनि त्यसैको अपेक्षा गरेको छ ।

(भेरा अक्सफाम इन्टरनेसनलका अन्तरिम कार्यकारी निर्देशक हुन्)
अलजजिराबाट