मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
२०७७ असोज २४ शनिबार १०:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा हात्तीआतंक, काटेर सुकाएको धान सखाप

Read Time : > 1 मिनेट
२०७७ असोज २४ शनिबार १०:१२:००

बर्दियाको मधुवन नगरपालिका– ३ का दिनेश चौधरीले धान काटेर खेतमा सुकाएका थिए । उनीसँगै धान काटेका केही कृषकले हरियो धान नै खेतबाट उठाए । दिनेशले भने एक दिन सुकाएर खेतमै थ्रेसरले धान दाउने भनी छोडेका थिए । भोलिपल्ट बिहानै दिनेश खेतमा जाँदा छाँगाबाट खसेजस्तै भए । उनको खेतको सबै धान एक हुल हात्ती आएर सखाप पारिदिएछन् । 

‘हात्ती आएको थाहा पाएर धपाउन आउँदै थियौँ,’ दिनेशले भने, ‘सुरुमा मेरो धान भएकाले धपाउँदाधपाउँदै खाएर सखाप पार्‍यो, अरू छिमेकीको धान केही बचे पनि मेरो धान भने सबै सखाप पाऱ्याे ।’ ‘काटेर सुकाएका थियौँ । कोही किच्यो, कोही खायो,’ उनले भने, ‘धानको बाला खाएपछि अब पराल सोरौँ कि नसोरौँ भएको छ ।’ 

उनीसँगै धान खेती गरिरहेका टीकाराम थारू अहिले हरियो धान धमाधम काटिरहेका छन् । ‘हात्तीले जुनसुकै समयमा धान खान सक्ने भएपछि उनले मेसिन लगाएर धान काट्न सुरु गरेका हुन् । ‘धान काँचै भए पनि काटेँ । अघिल्लो दिन छिमेकीको धान खायो,’ उनले भने, ‘सबैले धमाधम धान काटिसकेका छन् । मैले पनि काटेँ ।’ मधुवन नगरपालिका– ३ धनौरामा भारतीय सीमावर्ती जंगलबाट आएको हात्तीले बर्सेनि सताउने गर्छ ।  सीमावर्ती क्षेत्रमा रहेका कृषकको खेतीबाली हरेक वर्ष जंगली हात्तीले क्षति गर्ने भए पनि  हात्ती रोक्न कुनै प्रयास गरीएको छैन । 

मधुवन नगरपालिका– ३ धनौराका भरत केसीले सरकारले हात्ती रोक्नका लागि कुनै पनि प्रयास नगरेको बताए । खाता समन्वय समिति बर्दियाका अध्यक्ष बलिराम थारूले हात्तीले गरेको नोक्सानीबारे फाइल बनाएर जिल्ला वन कार्यालयमा पठाएको बताए । उनले हात्तीको नोक्सानी कम गर्न हात्तीले नोक्सानी नगर्ने खालका वैकल्पिक खेतीका लागि अभियानको सुरुवात गरेको बताए । उनले भने, ‘हाल मधुवन नगरपालिका– ३ मा डिभिजन वन कार्यालयको सहयोगमा  कागती खेतीको सुरुवात गरेका छौँ । जति कृषकले कागती खेती गर्न चाहन्छन् उनीहरूका लागि कागतीको बिरुवा उपलब्ध गराइने उनले बताए ।