नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा खेलाडी दौडन र प्रशिक्षण गर्न व्यग्रका साथ प्रतीक्षा गरिरहेका छन् । सहिद स्मारक ए डिभिजन लिग फुटबलपछि यहाँ कुनै पनि खेल भएको छैन । कोरोना भाइरस (कोभिड–१९) का कारण सबै खेल गतिवधि ठप्प छन् । यसैको मारमा खेलाडी छन् । सरकारले खेलकुद क्षेत्र सुचारु गर्न अनुमति नदिँदा विभिन्न खेलका खेलाडी रंगशालामा गत चैतदेखि अभ्यास तथा प्रतिस्पर्धा गर्न पाएका छैनन् ।
कोभिड–१९ नभएको भए रंगशालामा यतिवेलासम्म २०२२ को कतार विश्वकप छनोटअन्तर्गत एसियन छनोट खेल हुने थियो । तर, कोभिड–१९ ले गर्दा यी विश्वकप छनोट र अन्य प्रतियोगितासमेत हुन पाएका छैनन् । तर, रंगशालाको स्वामित्व ग्रहण गरेको राष्ट्रिय खेलकुद परिषद्ले यसै साता मैदानमा एक समूहलाई प्रवेश गर्ने अनुमति दियो । मैदानमा देखिएका सबै व्यक्तित्वले खेलकुदकै जर्सी लगाएका थिए ।
उनीहरू प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका भने होइनन् । एक भिडियो सुटिङका लागि ती व्यक्ति मैदानमा देखिएका हुन् । सरोज ओलीको निर्देशनमा ‘यस्तो किन भो’ भन्ने गीत सुटिङकै लागि कलाकारले रंगशालामा प्रवेश गर्न अवसर पाए । यो भिडियो छायांकनमा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का, सञ्चारकर्मी ऋषि धमला, पाल साह, सुधीर श्रेष्ठ, एलिजा गौतम तथा दुर्गेश थापाले अभिनय गरेका छन् । यसको कन्सेप्ट तथा कोरियोग्राफी सुनील क्षेत्रीले गरेका हुन् ।
यो सुटिङ गर्ने युनिटले दुई दिन सहजै परिषद्बाट सुटिङ गर्न अनुमति पायो । यता अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षणका लागि परिषद्सँगै अनुमति गत महिनामा मागेको थियो । यस सम्बन्धमा परिषद्ले केही पनि उत्तर एन्फालाई दिएको छैन । परिषद् र मन्त्रालयका पदाधिकारीले सरकारबाट खेलकुद सुचारु गर्न अनुमति नदिएका कारण केही निर्णय लिन सक्ने अवस्थामा नरहेको बताउँदै आएका छन् । सरकारले अनुमति दिँदा तत्कालै मुलुकको खेलकुद सुचारु हुने उनीहरूको भनाइ छ ।
रंगशालामा कुनै पनि गतिविधि नभए पनि एन्फाकै ग्राउन्ड स्टाफले यहाँको दुबो सम्याउने तथा अन्य काम गरिरहेका छन् । निर्धारित कार्यक्रमअनुसार रंगशालामा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका खेल आयोजना हुनुपर्ने थियो । तर, कोभिड–१९ का कारण नै रंगशालामा दुईपटक विश्वकप छनोटका खेल स्थगित भएको छ । यो अनिश्चितकालीन अवस्थाका लागि रोकिएको छ । विश्वकप छनोटका खेल स्थगित भए पनि एन्फाले नै मैदानको दुबो उमार्न र अन्य गतिविधि कार्य निरन्तरता दिइरहेको छ ।
एन्फाले रंगशाला कसलाई दिने वा नदिने अधिकार खेलकुद परिषद्को भएको जनाएको छ । ‘दशरथ रंगशाला परिषद्कै प्रोपर्टी हो, यसकारण उहाँहरूसँग कसलाई मैदान उपलब्ध गराउने वा नगराउने अधिकार छ,’ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नयाँ पत्रिकासँग भने, ‘यसकारण सुटिङ युनिटलाई रंगशाला उपलब्ध गराउँदा हाम्रो केही पनि आपत्ति छैन ।’
एन्फा कम्प्लेम्समा रहेको मैदानमाथि एन्फाको निर्णय हुन्छ, त्यसैगरी नै रंगशालाको सम्बन्धमा पहिलो अधिकार नै परिषद्को भएको अध्यक्ष शेर्पाको भनाइ छ । भन्छन्, ‘जसरी एन्फा मैदान कसलाई दिने वा नदिने हाम्रो अधिकार हो, यसैगरी रंगशालाको हकमा परिषद् नै हो ।’ एन्फाले केवल मैदानको दुबोको हेरचाह र अन्य प्रावधिक काम गर्ने मात्र भएको उनले बताए ।
ए डिभिजन लिगपछि यहाँ नियमित ६–८ जना कर्मचारी दुबो उमार्ने काममै व्यस्त छन् । सावधानी नअपनाउँदा दुबो बिग्रन सक्ने यहाँ खटिएका कर्मचारी बताउँछन् । यसै मैदानमा गत मंसिरमा विश्वकप छनोटअन्तर्गत नेपालले कुवेतविरुद्ध खेल्ने तय भएको थियो । त्यसवेला रंगशालाको पुनर्निर्माण पूरा नहुँदा सो छनोट खेल भुटानमा भयो ।