मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी दुबई
२०७७ असोज २४ शनिबार ०६:१०:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएल : दिल्ली शीर्ष स्थानमा उक्लियो

Read Time : > 1 मिनेट
एजेन्सी दुबई
२०७७ असोज २४ शनिबार ०६:१०:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको उत्कृष्ट फर्म जारी नै छ । आइपिएलअन्तर्गत शुक्रबार सारजहाँ मैदानमा भएकाे २३औँ खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । याे जितसँगै दिल्ली अंक–तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दिल्लीले ६ खेलमा पाँच जित र एक हार निकाली १० अंक बटुलेको छ । दोस्रो स्थानमा साविक विजेता मुम्बई इन्डियन्सले आठ अंक हात पारेको छ । यसैगरी सनराइजर्स हैदराबादले ६ खेलमा ६ अंक जोडी तेस्रो स्थान रक्षा गरेको छ । कोलकाता नाइट राइडर्स ६ अंकका साथ चौथो स्थानमा छ । 

सारजहाँ रंगशालामा दिल्लीले पहिलो ब्याटिङ गरी २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । प्रत्युत्तरमा राजस्थानले १९.४ ओभरमा सबै विकेट गुमाएर एक स्य ३८ रन मात्र जोड्यो । खेलमा दिल्लीका रविचन्द्रन आश्विन म्यान अफ दी म्याच घोषित भए । आश्विनले चार ओभरमा २२ रन खर्चेर दुई विकेट हात पारेका थिए । यसैगरी कागिसो राबडाले ३५ रन खर्चंदै तीन विकेट हात पारे । 

दिल्लीको ब्याटिङ इनिङ्समा मध्यक्रमका ब्याट्सम्यान चम्के । शीर्ष चार ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । कप्तान श्रयेस आयरले १८ बलमा चार चौकाको सहयोगमा २२ रन तथा पृथ्वी साउले १० बलमा दुई चौका र एक छक्काको सहयोगमा १९ रनको योगदान दिए । त्यसपछि मध्यक्रममा मार्कोस स्टोनिस र सिम्रोन हेटमेयरबीच पाँचौँ विकेटका लागि ४० रनको साझेदारी भयो । हेटमेयर र हर्सल पटेलबीच ४० रन तथा हर्सल र अक्षर पटेलबीच ३२ रनको साझेदारी हुँदा दिल्लीले राजस्थानलाई दरिलो लक्ष्य दिन सफल भएको हो । 

स्टोनिसले ३० बलमा चार छक्का प्रहार गरी ३९ रनको योगदान दिए । हेटमेयरले २४ बलमा पाँच छक्का र एक चौका प्रहार गरी ४५ रन जोडे । हर्सलले १६ रन तथा अक्षर पटेलले १७ रनको योगदान दिए । राजस्थानका लागि जोफ्रा आर्चरले २४ रन खर्चेर तीन विकेट हात पारे । प्रत्युत्तरमा ओर्लेको राजस्थानले सुरुवाती तीन विकेटका लागि राम्रो साझेदारी पायो । त्यसपछि अन्य ब्याट्सम्यानले गतिलो साझेदारी निर्वाह गर्न नसक्दा राजस्थानले ४६ रनको हार सामना गर्‍यो । 

यसस्वी जेसवाल र जोस बटलरले पहिलो विकेटका १५ रनको साझेदारी गरे । त्यसपछि कप्तान स्मिथ र जैसवालबीच दोस्रो विकेटका लागि ४१ रन जोडे । जैसवालले ३६ बलमा दुई छक्का र एक चौकाको सहयोगमा ३४ रन बनाए । यसैगरी बटलरले आठ बलमा १३ रन तथा राजस्थानका सवैभन्दा महँगा खेलाडी तथा कप्तान स्मिथले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरी २४ रन बटुलेका थिए । मध्यक्रममा राहुलले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ३८ रन बनाए । 

सारजहाँमा दिल्लीले दिएको लक्ष्य यस सिजनकै कम हो । यस मैदानमा अहिलेसम्म चार खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले दुई सय रनमाथि लक्ष्य दिएका छन् । यसै मैदानमा दिल्लीले नै कोलकाता नाइट राइडर्सलाई दुई सय २९ रनको लक्ष्य दिएको थियो । प्रतिस्पर्धामा दिल्लीका सबैभन्दा महँगा खेलाडी रिषभ पन्तले नौ बलमा पाँच रन मात्र बनाए । दिल्लीले पावर प्लेमा तीन विकेट गुमाएको थियो ।