१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
बिउ उत्पादन प्रक्रियाबारे जानकारी लिँदै कृषिमन्त्री विमला केसी र बिउ सुकाउँदै कृषक विष्णुबहादुर शाही
२०७७ असोज २३ शुक्रबार १६:४०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुर्गम गाउँका किसानले बेचे एक करोडको बिउ

Read Time : > 1 मिनेट
२०७७ असोज २३ शुक्रबार १६:४०:००

दैलेखको दुर्गम गाउँका किसानले हाइब्रिड बिउ उत्पादनबाट एक कराेडभन्दा बढी आम्दानी गरेका छन् । दैलेखको दुल्लु नगरपालिका– १३ का किसानले आफ्नो बारीमा उत्पादन भएको हाइब्रिड बिउ बेचेर बर्सेनि लाखौँ आम्दानी गर्दै आएका छन् ।  

किसान विष्णुबहादुर शाही अहिले आफूले उत्पादन गरेको सिर्जना हाइब्रिड टमाटरको बिउ सुकाउने तरखरमा छन् । उनले एक केजीको मूल्य ५५ हजार रहेको बताए । यो वर्ष सबै किसान समूहमा मिलेर १० केजी बिउको अर्डर पूरा गर्नुपर्नेछ उनीहरूलाई । 

शाहीले भने, ‘दुल्लु नगरपालिका– १३ का किसानले हातेमालो सहकारीमार्फत बिउ उत्पादन गर्ने गरेका छौँ । प्लास्टिक घरमा हाइब्रिड बिउ निकाल्न निकै मिहिनेत गर्नुपर्दछ । फरक–फरक दुईवटा घरमा फरक जातका टमाटर उमार्नेदेखि उनीहरूको सिड क्रस गराउने काम भइरहेको छ ।’ 

शाहीसहित ८० जना किसानको समूहले बिउ उत्पादन गर्ने र बिक्री–वितरण गर्ने काम गर्दै आएका छन् । टाढाबाट हेर्दो सुक्खा देखिने यो भूभागमा किसानले बगाएको पसिनाले राम्रो मूल्य पाएको छ । 

सहकारीमा आबद्ध दुई सय ८० जना किसानमध्ये अहिले ८० जना किसाले टमाटर, प्याज, सिमी, मुला, चम्सुरलगायतका बिउ उत्पादन गरेर बिक्री सुरु गरेका छन् । गत वर्ष ८० लाखको बिउ बिक्री गरेका उनीहरू यो वर्ष एक करोड २० लाखको बिक्री गर्ने सोचमा छन् । 

उत्पादित बिउ सिए सिड कम्पनीले खरिद गर्ने गर्दछ । एउटा किसानले न्यूनतम ५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । 

किसानलाई सरकारले सहयोग गरे विदेश चहार्नुपर्दैन

नेपालमा बर्सेनि करोडौँको बिउ विदेशबाट ल्याउनुपर्छ । यस्ता मिहिनेती किसानले उत्पादन गरेका बिउ प्याकेजिङ र ब्रान्डिङ गरेर बेच्न सके धेरै युवाले स्वदेशमै रोजगारी पाउने, बिउमा आत्मनिर्भर बन्न सकिने सम्भावना देख्छन् विष्णुबहादुर शाही ।  

कृषि विकास कार्यालय दैलेखले बिउ उत्पादनका लागि पक्की प्लास्टिक घर र प्राविधिक रूपम सहयोग गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले बताए । 

अहिले कृषि विकास कार्यालय र सहकारीको साझेदारीमा २० लाखको लगानीमा १२ वटा पक्की टनेल निर्माण गरिएको छ । यसले बिउ उत्पादनमा निकै सहयोग पुग्ने किसानले बताए । 

कर्णाली सरकारले प्याकेजिङ र ब्रान्डिङमा सहयोग गर्छ : मन्त्री केसी

बिउ उत्पादन प्रक्रियाबारे कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले कृषकको बारीमै पुगेर अवलोकन गरेका छन् । 

मन्त्री केसीले किसानले उत्पादन गरेको बिउको प्रवर्द्धनसँगै प्याकेजिङ र ब्रान्डिङको व्यवस्थापनमा सहयोग गर्ने बताइन् ।