मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस साउल
२०७७ असोज २३ शुक्रबार ११:५४:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

Read Time : > 1 मिनेट
रासस साउल
२०७७ असोज २३ शुक्रबार ११:५४:००

नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ ।

यहाँको श्रम मन्त्रालयको तथ्यांकअनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कुल तलब रकम ७‍.१७ ट्रिलियन बाेन पुगेको छ ।

सन् २०१६ मा मात्र तीन लाख २५ हजार चार सय ३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार नाै सय ७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन बाेन पुगेको छ  । त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला आठ सय ९० बिलियन बाेन छ ।

यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटेल, रेस्टुराँमा छन् । सन् २०१९ मा मात्र पाँचजना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५.६ मिलियन बाेन छ भने पाँच सयभन्दा धेरै कामदार भएका ठूला कम्पनीबाट तिर्न बाँकी रहेको ज्याला ६० बिलियन पुगेको छ ।

पछिल्लो समय कामदारको ज्याला रोकिनुमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको मन्दी मुख्य कारण रहेको तथ्यांकमा उल्लेख छ ।

यसरी कामदारले ज्याला नपाएका घटना धेरै बढिरहेको बताउँदै कानुनविद्हरूले आर्थिक संकट झेलिरहेका कम्पनीलाई सरकारले आर्थिक सहयोग गरी कामदारले पाउनुपर्ने ज्याला नरोक्न सुझाब दिएका छन् ।

यहाँको रिपब्लिक जनशक्ति पार्टीका नेता किम सुङ-वानले कामदारको ज्याला समयमा भुक्तानी नगर्ने रोजगारदातालाई जरिवानासमेत तिराउनुपर्ने सुझाब दिएका छन् ।

झन्डै ५० हजारकाे संख्यामा कार्यरत नेपालीले रोजगारी गरिरहेको देश दक्षिण कोरियामा हालसम्म  कुनै नेपाली कामदार बेतलबी बस्नुपरेको त्यस्तो उल्लेख्य घटना बाहिर आएको छैन ।