मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असोज २३ शुक्रबार ०९:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँमा एयरलाइन्सलाई  छैन रौनक, उडान बढे यात्रु घटे 

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असोज २३ शुक्रबार ०९:४४:००

दसैँ सुरु हुन एक साता मात्रै बाँकी भए पनि विगतका वर्षहरूमा जहाजमा अग्रिम टिकट लिनेको संख्या प्रायः शून्य नै रहेको छ । १५ असोजदेखि सरकारले उडान संख्या थप गर्न दिए पनि यात्रुको संख्या १० प्रतिशत घटेको कम्पनीहरूले जनाएका छन् । यात्रु नआएपछि एयरलाइन्स कम्पनीहरूले उडान थप्न चासो नै देखाएका छैनन् । उनीहरूका अनुसार अहिलेको यात्रु दसैँकेन्द्रित भन्दा पनि नियमित उडान पनि नपुग्ने अवस्थामा छन् । हेलिकोप्टर कम्पनीहरूले पनि केही बिरामी उद्धारबाहेक बिजनेस नै पाउन सकेका छैनन् । विगतमा दसैँको सिजनमा हेलिकोप्टर कम्पनीहरूले नेपाली यात्रु पनि उल्लेख्य रूपमा ओसार्ने गर्थे । विगतमा दसैँको सिजनमा बुद्ध एयरले मात्रै दैनिक ५० भन्दा बढी उडान गर्ने गरेको थियो । तर, यसपालि दसैँमा यात्रुको बुकिङ आउने देखिएको छैन । 

चाडबाडकै लागि भनेर अग्रिम टिकट बुकिङ गर्ने यात्रु अहिलेसम्म नदेखिएकाले दसैँमा उडान थप हुन कठिन रहेको बुद्ध एयरका प्रवक्ता रूपेश जोशी बताउँछन् । ‘उडान केही बढाएका छौँ, तर अब दसैँका लागि भनेर बढाउनुपर्नेजस्तो देखिएन,’ जोशीले भने । विगतका वर्षहरूमा दसैँ तथा तिहारमा अत्यधिक चाप हँुदा टिकट नै दिन नसक्ने अवस्था हुने गरेकोमा यसपटक नियमित टिकट पनि सस्तोदरमै बिक्री गर्नुपरेको प्रवक्ता जोशी बताउँछन् । विगतमा एयरलाइन्स कम्पनीहरूले दसैँको समयमा महँगो मात्रै टिकट बिक्री गर्ने गरेका थिए । अहिले काठमाडौं आउनेको संख्या घटेको र काठमाडौंबाट जानेको संख्या भने केही बढेको जोशीले बताए । बुद्ध एयरले बिहीबार मात्रै ३१ वटा उडान गरेको छ । 

पहाडी तथा हिमाली क्षेत्रमा उडान गर्ने एयरलाइन्सहरूले अझै यात्रु नै पाउन सकेका छैनन् । केही गाउँपालिका तथा जिल्लाहरूले पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दा पनि हिमाली क्षेत्रमा यात्रु बढ्न सकेका छैनन् । अहिले लुक्ला, डोल्पा, मनाङलगायत क्षेत्रमा जान पिसिआर अनिवार्य गरिएको छ । रारा जानका लागि भने मंगलबारदेखि अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट हटाइएको छ । कोभिड–१९ का कारण आन्तरिक उडानमा विगतका वर्षझैँ दसैँको माहोेल नबनेको वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता योगराज कँडेल बताउँछन् ।

विगतमा दसैँका समयमा बुद्धले ५०, श्रीले १५, यतीले ३० वटा दैनिक रूपमा उडान गर्ने गरेका थिए । अन्य एयरलाइन्स कम्पनीले पनि दैनिक दर्जनौँ उडान गर्ने गरेका थिए । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिकतर्फको उडान ५ असोजदेखि खुलाएको थियो । 

विभिन्न गन्तव्यमा दैनिक सातवटा उडान गर्दै आएको श्री एयरलाइन्सले पनि प्रायः गन्तव्यमा एकतर्फी उडानमा मात्र यात्रु अकुपेन्सी रहेको जनाएको छ । बिहीबारदेखि दैनिक १५ उडान अनुमति पाएको श्रीले धनगढी, नेपालगन्ज,  भैरहवा, विराटनगर र भद्रपुरलगायतका गन्तव्यमा उडान गर्दै आएको छ । कम्पनीले जनकपुर, सिमरा, पोखरा र राजविराजलगायत गन्तव्यमा उडान गर्न सकेको छैन । यती, तारा, समिट, सिम्रिक, सीता एयरलाइन्सले पनि दसैँको उडान थप गर्न सक्ने जनाएका छन् । 

निगमका महाप्रबन्धकमा पौडेल नियुक्त
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले चार वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केही महिनाअघि उनलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए । निगमको महाप्रबन्धक हुने भएपछि केही दिनअघि उनले बतास अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।