मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज २३ शुक्रबार ०८:१७:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

लकडाउनमा पौडेल दाजुभाइले बनाए कार

Read Time : > 3 मिनेट
२०७७ असोज २३ शुक्रबार ०८:१७:००

भरतपुर महानगरपालिका–६, इन्द्रपुरीका सफल पौडेल र कुशल पौडेलले कोरोना कहरकै बीचमा पेट्रोलबाट चल्ने चारपांग्रे गल्फ कार र सोलारबाट चल्ने चारपांग्रे इलेक्ट्रिक कार बनाए

कोरोना भाइरसपछि लगाइएको लकडाउनको समयलाई सदुपयोग गर्दै चितवनका दुई दाजुभाइले कार बनाएका छन् । भरतपुर महानगरपालिका–६, इन्द्रपुरीका २० वर्षीय सफल पौडेल र १६ वर्षका कुशल पौडेलले स्थानीय स्रोत र साधनको प्रयोग गर्दै पेट्रोलबाट चल्ने चारपांग्रे गल्फ कार र सोलारबाट चल्ने चारपांग्रे इलेक्ट्रिक कार बनाएका हुन् ।

एसइईको तयारीमा रहेका कुशलले कोरोनाका कारण परीक्षा नहुने भएपछि पेट्रोलबाट चल्ने कार बनाउन सुरु गरेका थिए । कोरोनाले पठनपाठन बन्द भएपछि काठमाडौंबाट चितवन घर आएका उनका दाइ सफलले भाइलाई कार बनाउन सहयोग गर्न थाले । सफल सैनिक आवासीय महाविद्यालयबाट १२ कक्षाको पढाइ सकेर अहिले ख्वपः कलेज अफ इन्जिनियरिङ कलेज भक्तपुरमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै छन् । भरतपुरमा रहेको अंकुरम एकेडेमीले गल्फ कार बनाएबापत प्रोत्साहनस्वरूप कक्षा ११ र १२ मा पढ्नका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । पौडेल दाजुभाइले चैत दोस्रो हप्तादेखि गल्फ कार बनाउन सामान संकलन गर्न थालेका थिए । वैशाख अन्तिममा उनीहरूले कारको मोडल तयार पारेर गाउँघरमा गुडाउनसमेत सुरु गरे । गल्फ कारमा पुरानो पल्सर मोटरसाइकलको इन्जिन, मारुती भ्यान र अटोरिक्साको चक्का राखिएको छ । गल्फ कारको बत्ती, हर्न र अन्य प्रयोगका लागि भने सोलार जडान गरिएको छ ।

                                                                                    ......

लकडाउनकै समयमा सफल परीक्षण गरिएको गल्फ कारको नमुना देखेर भरतपुर महानगरपालिका–६ ले एक लाख रुपैयाँ दिने घोषणा ग¥यो । सो सहयोगले आफूहरूलाई हौसला बढाएको उनीहरू बताउँछन् । लकडाउन सकिएसँगै पुरानै दैनिकीमा फर्किएर पढाइलाई निरन्तरता दिने पौडेल दाजुभाइले सोचाइ थियो । तर, केही दिनमै चितवनमा निषेधाज्ञा सुरु भयो । उनीहरूले आफूलाई फुसर्दिलो बनाउन चाहेनन् । अर्बौंको पेट्रोल र इन्धन गाडी विदेशबाट आएको सुनेका उनीहरूले निषेधाज्ञाको समयमा इन्धनविनै चल्ने गाडीको कल्पना गरेर बनाउन थाले । ‘कोरोना कहरलाई अवसरका रूपमा लिनुपर्छ भन्ने लाग्यो,’ सफल भन्छन्, ‘सौर्य ऊर्जाको उपयोग गरी सवारीसाधन तयार पार्नुपर्छ भनेर लाग्यौँ ।’ भदौ पहिलो हप्ताबाट इलेक्ट्रिक कार बनाउन थालेका उनीहरूले असोजको पहिलो हप्तादेखि कार सडकमा कुदाइरहेका छन् ।

स्कुल पढ्दादेखि नै अनुसन्धानमा सोखिन पौडेल दाजुभाइले रिबन काट्ने रोबोट, हावाबाट बिजुली निकाल्न सक्ने उपकरणको डेमो, मापसे गरे नगरेको पत्ता लगाउने यन्त्र, जिम गर्न मिल्ने इलेक्ट्रिक क्रस, खुट्टाको प्रयोगबाट स्यानिटाइज गर्न मिल्ने उपकरणसमेत बनाइसकेका छन् ।

कुशलका अनुसार उनीहरूले बनाएको दुवै मोडलका कार ५० किलोमिटर प्रतिघन्टा दौडन सक्छ । स्कुटी र इ–रिक्साको चक्का प्रयोग गरिएको यो कार पेट्रोलविना चल्छ । कारमा चारवटा सोलार प्यानल जडान गरिएको छ । प्रत्येक प्यानल १५० वाटका छन् । कारको डिसी मोटरको प्रयोग गरिएको छ । दिउँसो घाम लागेका वेला सोलारबाट गाडी चल्छ, रोकेका वेला सौर्य ऊर्जा सञ्चित भई रातको समयमा गाडी चलाउन सकिने कुशल बताउँछन् । राति कार कुदाउन ब्याट्री पनि राखिएको छ । नयाँ कारको विशेषता सुनाउँदै पौडेल दाजुभाइ भन्छन्, ‘विनाइन्धन उज्यालो नेपाल हाम्रो लक्ष्य हो । त्यसैले हामीले अब बनाउने उपकरणहरू सौर्य ऊर्जाबाट सञ्चालन हुने मात्र हुनेछ ।’ 

आफूले बनाएको गल्फ कार रंगशालामा खेलाडीलाई पानी लैजान, मैदानमा कार्पेट बिछ्याउनलगायतको काममा प्रयोगमा ल्याउन सकिने उनीहरू बताउँछन् । इलेक्ट्रिक कार भने पर्यटकलाई घुमाउन राम्रो हुने सफलले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीयले बनाएको उत्पादनभन्दा अर्को आकर्षणसमेत यो कारले थप्छ,’ उनले भने । उनीहरूले बनाएको कार अहिले नमुना मात्र हो । यसलाई डेकोरेसन गरेर थप आकर्षक बनाउन सकिन्छ । ‘कार कुन सिस्टमले चलेको छ भन्ने महत्वपूर्ण हुन्छ, हेर्दा आकर्षकभन्दा पनि सहज र दीर्घकालीन रूपमा सोचिएको हो । डेकोरेसनको पाटो दोस्रो हो,’ कुशलले भने ।

                                                                              ......

पौडेल दाजुभाइको अबको लक्ष्य कृषि उपकरणहरूतर्फ छ । कुशल भन्छन्, ‘मेरो लक्ष्य नै मेकानिकल इन्जिनियर बन्ने हो । अब केही समय पढाइलाई निरन्तरता दिएर भविष्यमा हामी कृषि उपकरण निर्माणतर्फ लाग्नेछौँ ।’ तर, यसका लागि सरकारको सहयोग आवश्यक पर्ने उनी बताउँछन् । ‘हामीलाई आर्थिक सहयोग मात्र होइन, प्राविधिक रूपमा पनि सहयोग मिल्ने गरी प्रशिक्षणको आवश्यकता छ । तर, सरकारले नवप्रवर्तनलाई खासै प्राथमिकता दिएको पाइँदैन,’ उनले सुनाए । सरकारले उत्प्रेरणा दिए मात्र युवाको ‘फ्रेस ब्रेन’ लाई ‘ब्रेन ड्रेन’ हुनबाट बचाउने कुशल बताउँछन् । ‘सरकारको लगानी र साथविना बृहत् अनुसन्धान गर्न सकिँदैन,’ सफल भन्छन्, ‘स्वदेशी अनुसन्धान र उत्पादनलाई स्थान दिन सरकार नै लाग्नुपर्छ ।’ पौडेल दाजुभाइले नेपालीपन झल्काउन आफ्नो यो प्रोजेक्टको नाम ‘नेप्रो’ राखेका छन् । आफूले बनाएको कारको नमुनामा उनीहरूले नेपालको झन्डा राखेका छन् ।

                                                                            ......

सफल र कुशलका बाबु खेमराज पौडेल र आमा शर्मिला पौडेलले घरमै इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका छन् । २५ वर्षदेखि उनीहरूको दैनिकी विद्युतीय सामान बिक्री र उपकरण मर्मतमै बित्छ । ‘छोराहरू पहिलेदेखि नै जिज्ञासु थिए,’ आमा शर्मिला भन्छिन्, ‘छोराहरूका लागि जस्तोसुकै परिस्थितिमा पनि साथ दिँदै आएका छौँ । उनीहरूले गर्छु भनेको काम हामीले रोकेका छैनौँ ।’ गल्फ कार बनाउन एक लाख र इलेक्ट्रिक कार बनाउन तीन लाख रुपैयाँ खर्च भएको उनले सुनाइन् । ‘आर्थिक सहयोग रोकेको छैन, छोराहरूको इच्छा नै हाम्रो खुसी हो,’ उनी भन्छिन् । छोराहरूले बनाएको कार वाइरिङका सामान बोक्ने काममा प्रयोग गर्ने गरेको बाबु खेमराजले सुनाए । सानो उमेरदेखि नै अनुसन्धानलगायतका विषयमा सोखिन यी दाजुभाइले स्कुल पढ्दा रिबन काट्ने रोबोट, हावाबाट बिजुली निकाल्न सक्ने उपकरणको डेमो, सवारीसाधन चलाउनेले मापसे गरे नगरेको पत्ता लगाउने यन्त्र, जिम गर्न मिल्ने इलेक्ट्रिक क्रस र खुट्टाको प्रयोगबाट स्यानिटाइज गर्न मिल्ने उपकरणसमेत बनाइसकेका छन् ।