१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
धान बिउ खेतमा दाजुभाइ (सेतो टिर्सटमा भाइ विमल र टोपी लगाएको दाइ तीर्थ)
२०७७ असोज २३ शुक्रबार ०५:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मकै र धानको हाइब्रिड बिउ उत्पादन गर्दै दाजुभाइ 

Read Time : > 1 मिनेट
२०७७ असोज २३ शुक्रबार ०५:००:००

चितवनमा दाजु र भाइ मिलेर हाइब्रिड (उन्नत) जातको बिउ उत्पादन सुरु गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १३ का विमल सुवेदी र तीर्थ सुवेदीले मकै र धानको हाइब्रिड जातको बिउ उत्पादन सुरु गरेका हुन् । 

नेपालमा भारतलगायत तेस्रो मुलुकबाट हाइब्रिड जातका धान र मकैको बिउ खरिद गर्नुपर्ने बाध्यता कम गर्ने  उद्देश्यले नयाँ प्रयासको थालनी गरेको उनीहरू बताउँछन् । उनीहरूले आफ्नो १ बिघा र भाडामा साढे ५ बिघासहित साढे ६ बिघा जमिनमा व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै छन् ।

अहिले हाइब्रिड हर्दिनाथ र स्थानीय चैते ५ को बिउ तयार हुँदै छ । अधिवक्तासमेत रहेका ३२ वर्षका विमल सुवेदीले भने, ‘यो सिजनमा हामीले साढे ३ बिघामा हर्दिनाथको बिउ उत्पादन गर्दै छाैँ भने बाँकी जमिनमा चैते ५ को बिउ उत्पादन हुँदै छ । दुवै गरेर ८० क्विन्टल बिउ बिक्री गर्ने हाम्रो लक्ष्य हो ।’  

उनका दाइ तीर्थ सुवेदी राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिकसमेत हुन् । कार्यालय समयबाहेकको अन्य समयमा उनी भाइकै सहयोगीका रूपमा बारीमा काम गर्दै आएका छन् ।

उनीहरूले हाइब्रिड जातको धान र मकैको बिउ उत्पादन गर्न करिब १० लाख रुपैयाँ लगानी गरेका छन् । हाइब्रिड जातको बिउ उत्पादन गर्न नेपाल कृषि अनुसन्धान परिषद्ले सूचीकृत गरेको हुनुपर्छ । तीर्थले भने, ‘भाइ अधिवक्ता हो, मेरो पनि जागिर राम्रै छ । हाम्रो समाजमा पढेको मान्छेले बारीमा काम गरेको राम्रो मान्दैनन्, त्यसलाई तोड्दै उदाहरणीय हुन चाहन्छौँ ।’  

उनीहरूले हाइब्रिड मकैको बिउ उत्पादन गरिसकेका छन् । तीन बिघा जग्गामा ६० हाइब्रिड रामपुर–१० उत्पादन गरेर बजारमा पठाइसकेका छन् । मंसिरमा लगाएको मकैले जेठमा उत्पादन दिएपछि बजारीकरण गरिएको थियो । विमलले भने, ‘१२ लाख रुपैयाँको हाइब्रिड रामपुर–१० को बिउ बिक्री गरेका थियौँ । पहिलोपटक भएर होला, खर्च कटाएर नाफा भने ३ लाख रुपैयाँ मात्रै भयो ।’ 

 हाइब्रिड बिउ प्रयोग गर्ने किसान बढ्दै 
हाइब्रिड भन्दै महँगो मूल्यमा खरिद गरेर ल्याइएका धान र मकैको बिउले उत्पादन नदिएका थुप्रै उदाहरण छन् । नेपालमा प्रायः भारतबाट हाइब्रिड जातका धान र मकैको बिउ आउने गर्छन् । तुलनात्मक रूपमा यस्तो बिउ महँगो पर्न जान्छ । भारतलगायत तेस्रो मुलुकबाट ल्याएका यी बिउबाट खराबी आएको भन्ने गुनासो पनि बढ्दो छ । कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकालले भने, ‘चितवनमा गत वर्ष मात्र हाइब्रिड भनिएको गरिमा धान ६ सय हेक्टरमा लगाइएको थियो । तर, धान भित्र्याउने  समयसम्म पनि दाना नलागेपछि किसानले नष्ट गरे ।’  

ढकालका अनुसार हाइब्रिड बिउ थोरै प्रयोग गरेर धेरै उत्पादन लिन सकिन्छ । ८ वर्षयता चितवनमा हाइब्रिड जातको धान र मकै लगाउनेको संख्या बढ्दो रहेको उनको भनाइ छ । विदेशबाट खरिद गरिएको भन्दा नेपालमै विकास भएको बिउ यहाँको हावापानी सुहाउँदो हुन्छ । विदेशबाट ल्याएको जातमा तापक्रम तलमाथि भए दाना लाग्दैन । नेपालमै हाइब्रिड बिउ उत्पादन हुँदा आर्थिक रूपमा पनि सस्तो पर्ने र लाखौँ रुपैयाँ बिदेसिनबाट पनि जोगिने ढकालको भनाइ छ ।  

ज्ञानकेन्द्रको तथ्यांकअनुसार चितवनको २७ हजार ४ सय ४५ हेक्टरमा धानखेती हुन्छ । त्यसमध्ये ३ हजार हेक्टरमा हाइब्रिड धान लगाउने गरिएको छ । चितवनमा हिउँदे मकै १९ हजार हेक्टरमा, वसन्ते र बर्खे मकै पनि करिब १०–१० हजार हेक्टरमा हुने गरेको छ ।