मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २३ शुक्रबार ०७:५५:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी लुइस ग्लुकलाई साहित्यतर्फको नोबल पुरस्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २३ शुक्रबार ०७:५५:००

यस वर्षको साहित्यतर्फको नोबल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई प्रदान गरिने भएको छ । बिहीबार द स्विडिस एकेडेमीले उनलाई सन् २०२० को साहित्यतर्फको नोबल पुरस्कार दिने घोषणा गरेको हो । 

ग्लुकका कविताले अस्वाभाविक काव्यिक आवाज, तपस्यात्मक सौन्दर्यले निजी अस्तित्वलाई विश्वव्यापी बनाएकाले उनलाई छनोट गरिएको एकेडेमीको भनाइ छ । सन् १९४३ मा जन्मिएकी ग्लुक अमेरिकाको याले विश्वविद्यालयको प्रोफेसर पनि हुन् । सन् १९९३ मा ‘द वाइल्ड आइरिस’ का लागि उनले पुलित्जर पुरस्कार र सन् २०१४ मा ‘नेसनल बुक अवार्ड’ पाएकी थिइन् । ग्लुकलाई २००८ मा ‘वालेस स्टिवेन्स पुरस्कार’, २००१ मा ‘बोलिन्जन प्राइज फोर पोएट्री’ र २०१५ मा ‘नेसनल ह्युमेनिटिज पुरस्कार’ प्रदान गरिएको थियो ।

सन् २००६ मा प्रकाशित ग्लुकको कृति ‘अभेर्नो’बारे उल्लेख गर्दै एकेडेमीले त्यो उत्कृष्ट संकलन भएको तथा त्यसमा पर्सिफोन नरक झरेको र मृत्युका देवता हेड्सको नियन्त्रणमा परेको मिथकलाई काल्पनिक चित्रण गरेको जनाएको छ । ‘ग्लुक आधिकांश सिर्जनामा मिथक र शास्त्रीय विम्बहरू प्रयोग गर्छिन् र व्यक्तिगत अस्तित्वलाई सार्वभौम रूपमा खोज्छिन्,’ एकेडेमीले भनेको छ । उनले ‘फेथफुल’, ‘भर्चियस अफ नाइट’लगायत १२ काव्यकृति लेखेकी छन् ।

                                                                                  ....

ग्लुकका कवितामा मानव हुनुको पीडादायक यथार्थको चित्रण गरिएको हुन्छ । उनी मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु छिन् । उनका कविता मानव हुनुको तीतो र दर्दनाक यथार्थमा केन्द्रित छन् । साथै, मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई कवितामार्फत मिहीन ढंगले केलाउँछिन् । लुइस कवितामार्फत सटिक तरिकाले अभिव्यक्ति दिने शैलीका कारण पनि चर्चित छिन् । उनका कवितामा संवेदनशीलता र एक्लोपन, पारिवारिक सम्बन्ध र विच्छेद र मृत्युमाथि गहिरो अभिव्यक्ति पाइने समीक्षकहरू बताउँछन् । नोबल एकेडेमीले उनलाई साहित्यको क्षेत्रमा सबैभन्दा उत्कृष्ट तवरले आदर्श दृष्टिकोण निर्माण गरेकाले पुरस्कार दिइएको बताएको छ । ७७ वर्षीया ग्लुकले कवितामार्फत ग्रिक र रोमन मिथहरूमाथि पुनः काम गरेकाले प्रसिद्धि कमाएकी थिइन् । 

ग्लुक पछिल्लो २७ वर्षमा साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो अमेरिकन महिला हुन् । उनी नोबल पुरस्कार पाउने १६औँ महिला हुन् । यो पुरस्कार जित्ने उनी टोनी मोरिसनपछि पहिलो अमेरिकन महिला हुन् । मोरिसनले सन् १९९३ मा नोबेल पुरस्कार जितेकी थिइन् । सन् २०१६ मा भने साहित्यतर्फकै नोबल पुरस्कार अमेरिकन गायक तथा गीतकार बब डिलनले प्राप्त गरेका थिए । 

गत वर्ष पोलिस लेखक ओल्गा टोकार्जुकलाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो । प्रायः १० डिसेम्बरमा प्रदान गरिने नोबल पुरस्कार यो वर्ष भने कोरोना महामारीका कारण पुरस्कृत सर्जकलाई आफ्नै देशमा वितरण गर्ने स्विडिस एकेडेमीले जनाएको छ । 

एजेन्सीको सहयोगमा