१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दसैँको मुखमा कालोबजारी हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, प्रहरी, व्यापारी र उपभोक्ता अधिकारकर्मीबीच बिहीबार भएको अन्तर्क्रिया ।
अजित अधिकारी काठमाडौं
२०७७ असोज २३ शुक्रबार ०६:२०:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँमा उपभोक्तालाई दोहोरो मार : क्रयशक्ति घट्यो, खाद्यान्नको मूल्य आकासियो

चामल, केराउ, चना, दाल, खानेतेल, बोडी, राजमालगायतका खाद्य वस्तुको मूल्य प्रतिकिलो औसतमा १० रुपैयाँ वृद्धि

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असोज २३ शुक्रबार ०६:२०:००

दसैँं नजिकिँदै गर्दा दैनिक उपभोग्य खाद्य वस्तुको मूल्यवृद्धि आकासिएको छ । व्यवसायीका अनुसार प्रमुख खाद्य वस्तुमा प्रतिकिलो औसतमा १० रुपैयाँ बढेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लामो समयदेखि लकडाउन जारी रहँदा आम्दानी खुम्चेको समयमा उपभोक्ता थप मारमा परेका छन् । विगतमा पनि दसैँं–तिहारको समयमा खाद्यान्नको माग बढेको कारण देखाएर मूल्यवृद्धि हुने गरेको थियो । यसपटक माग तथा उपभोक्ताको क्रयशक्तिसमेत घटेका वेला खाद्य वस्तुको मूल्य अकासिँदा व्यवसायीको नाफाखोर प्रवृत्ति उदांगिएको छ ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार चामल, केराउ, चना, दाल, खानेतेल, बोडी, राजमालगायतका खाद्य वस्तुको मूल्य बढ्न थालेको छ । उनका अनुसार चालमको मूल्य प्रतिबोरा कम्तीमा ५० रुपैयाँले बढेको छ । ‘८–१० दिनअघि चामलको भाउ घटेको थियो, तर अहिले फेरि बढेर आएको छ,’ उनले भने । साताअघिसम्म चामल उद्योगीले ठूलो परिमाणमा स्टक रहेकाले तत्काल मूल्यमा असर नपर्ने बताएका थिए । तर, दसैँं नकिजिँदै गर्दा मूल्य बढाएर पठाएका छन् । 

अहिले सबैभन्दा बढी खानेतेलको मूल्यवृद्धि भएको छ । भारतीय बजारमा समेत खानेतेलको मूल्य बढेको तर्क गर्दै नेपाली उद्योगीले यहाँ उत्पादन हुने तोरी, सनफ्लावर र भटमासको तेलको मूल्यवृद्धि गरेका छन् । सबैभन्दा बढी धारा ब्रान्डको तोरीको तेलको मूल्यवृद्धि भएको छ । ‘धारा हेल्थको खुद्रा बिक्री मूल्य २ सय ४५ रुपैयाँ प्रतिलिटर पुगेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसअघि यो तेलको मूल्य २ सयदेखि २ सय १५ रुपैयाँ प्रतिलिटर थियो ।’ त्यस्तै, धारा मात्रै उल्लेख भएको तोरीको तेल प्रतिलिटर २० रुपैयाँसम्म महँगिएर २ सय २० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सनफ्लावर तेलको मूल्य १५–२० रुपैयाँसम्म महँगिएको छ । ‘पहिले सनफ्लावर तेल १६५–१७० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको थियो । अहिले नयाँ मूल्यअनुसार १८५ प्रतिलिटर कायम भएको छ,’ श्रेष्ठले भने । उपभोक्ताको भान्सामा सबैभन्दा बढी सनफ्लावर तेल प्रयोग हुने गरेको छ । त्यस्तै, भटमासको तेल पनि प्रतिलिटर १५ रुपैयाँ महँगिएर १ सय ७० रुपैयाँ पुगेको छ ।

भटमासको तेल सबैभन्दा बढी होटेल, रेस्टुरेन्टमा खपत हुने गर्छ । तर, अहिले होटेल–रेस्टुरेन्ट बन्द भएर माग घटेका वेलासमेत भटमासको तेलको मूल्य बढ्नु अस्वाभाविक भएको उनले बताए । ‘केही खाद्यान्न पसलमा पुरानै दरमा किनेको मौज्दात तेल छ । त्यसैले पुरानै मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेका छन्,’ उनले भने, ‘पुरानो स्टक सकिएका पसलहरूबाट भने बढेको नयाँ मूल्यअनुसार खानेतेल बिक्री भइरहेको छ ।’ दसैँं–तिहारमा तेलको प्रयोग धेरै हुने मौका छोपेर व्यवसायीले मूल्यवृद्धि गरेका हुन् ।

 

बजारमा खानेतेलको मूल्य बढ्न सक्ने विषयमा करिब एक साताअघि अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सूचनासमेत पुगेको थियो । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भारतमा मूल्य बढेका कारण नेपाली बजारमा पनि खानेतेलको मूल्य बढ्न सक्ने व्यवसायीले जानकारी गराएका थिए । ‘अहिले बजारभाउमा केही तलमाथि भएको बुझ्न आएको छ । यसबारे व्यवसायीसँग सोधपुछ गर्नेछौँ,’ उनले भने ।

अधिकांश उपभोग्य वस्तुको भाउ बढिरहेका वेला चिनीको मूल्य भने घटेको छ । पहिले ९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको चिनी अहिले ८५ रुपैयाँमा बिक्री भइरहेको खुद्रा व्यापार संघले जनाएको छ । सरकारले १५ असोजबाट सुपथ मूल्य सञ्चालन गरी चिनी प्रतिकिलो ७० रुपैयाँमा बिक्री गर्न थालेपछि व्यापारीको चिनीको भाउ घटेको हो । साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले सहुलियतपूर्ण भन्सार छुटको चिनी ल्याएर सुपथ पसलबाट बिक्री थालेको बताए । साल्ट ट्रेडिङले २० हजार टन चिनी ५० प्रतिशत भन्सार सहुलियतमा आयात गरी बजारभाउ नियन्त्रण हुने गरी बिक्री मूल्य तय गर्ने जिम्मेवारी पाएको थियो ।
वाणिज्य विभाग के गर्दै छ ?

बढ्दो कोरोना संक्रमणका कारण वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन प्रभावकारी ढंगले गर्न नसकेको जनाएको छ । विभागको अनुगमन शाखा प्रमुख रहेका निर्देशक सागर मिश्र र अर्का एक अनुगमन निरीक्षकलाई बिहीबार मात्र कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू दुवैजना चार दिनअघि कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गरी घरमै आइसोलेसनमा थिए । बिहीबार दिउँसो रिपोर्ट आएपछि कोरोना पुष्टि भएको हो । 

अन्य केही कर्मचारीसमेत सामान्य लक्षण देखिएपछि घरमै आराम गरेर बसिरहेका छन् । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले दसैँं लक्षित अनुगमनको योजना बनाएर प्रतिकूल परिस्थितिका कारण कार्यान्वयन गर्न नसकिएको बताए । दुई साताअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनुगमनका लागि १६ कर्मचारी खटिएका थिए । त्यसमध्ये अहिले १४ कर्मचारी चार टोली बनाएर नियमित अनुगमनमा जाने गरेको सुवेदीले बताए ।

‘सामान्यबाट आएका कर्मचारीलाई बजार सूचना संकलन गर्नका लागि मात्र प्रयोग गरेका छौँ । उनीहरूलाई नेतृत्व गरेर एकएकवटा विभागमा कर्मचारी खटाउन पनि समस्या भइरहेको छ,’ महानिर्देशक सुवेदीले भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जनशक्ति मागेका थियौँ, तर त्यहाँसमेत धेरै कर्मचारी घरमै आराम गरेर बस्नुपरेको स्थिति छ ।’

उनले उपभोग्य वस्तुको मूल्यवृद्धिका विषयमा अहिले बिस्तारै जानकारी र गुनासो आउन थालेको बताए । केही दिनअघि भारतीय बजारलाई हवाला दिएर खानेतेलको मूल्य बढ्न थालेको व्यापारीबाटै जानकारी आएको उनले बताए । ‘बजारमा कुन–कुन वस्तुको मूल्य बढेको रहेछ भन्ने कुरा अनुगमन टोलीमार्फत सूचना संकलन गर्छौँ । त्यसपछि नियन्त्रणको प्रयास थाल्छौँ,’ उनले भने ।

मिति सकिएका खाद्यान्न बजारमा छ्यापछ्याप्ती
११ चैतयता विभिन्न चरणमा भएका लकडाउनका कारण दैनिक उपभोग्य वस्तुको बिक्री खस्किएको छ । बजार बन्द भएका कारण गोदाममा थन्किएका र बजारबाट फिर्ता भएका उपभोग्य मिति सकिएका वस्तुमा पुनः नयाँ मिति राखेर बजार पठाउने व्यवसायी धमाधम समातिन थालेका छन् ।

पहिलोपटक १३ असोजमा प्रहरी र वाणिज्य विभागको सक्रियतामा कलंकीस्थित एक गोदाममा मिति सकिएका खाद्यान्नमा नयाँ मूल्य राखी बजार पठाउन लागेको फेला परेको थियो । सो स्थानमा हर्लिक्स, बच्चाले खाने बिस्कुट, चकलेटलगायतमा नयाँ मिति राख्ने गरेको भेटिएको थियो । त्यस्ता व्यवसायीलाई आवश्यक कानुनी प्रक्रिया थालेको वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । खुद्रा व्यापारीहरूले भने किराना पसलबाट खरिद गर्ने जुनसुकै सामानको पनि उपभोग्य मिति राम्ररी हेरेर मात्र खरिद गर्न आग्रह गरेका छन् ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘उपभोग्य मिति राम्ररी हेरेर मात्र पसलबाट सामान किनेर लैजानुपर्ने स्थिति छ । केरमेट भएको, नबुझिएको स्थितिमा त्यस्तो सामान खरिद गर्ने वेलामा विचार गर्नुपर्छ ।’

सुरुको लकडाउनमा किराना पसलको बिक्री २० प्रतिशत मात्र रहेको खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठले बताए । त्यसपछि विभिन्न समयमा खुकुलो हुने र पुनः कडाइ हुने हुँदा खुद्रा व्यापारमा केही सुधार भई ५० प्रतिशतसम्म कारोबार भएको थियो । पछिल्लो समय लकडाउन खुला हुँदा किराना पसलको व्यापार ७० प्रतिशतसम्म रिकभर भएको छ । अहिले मानिसहरूको आम्दानी नै घटेका कारण खाद्यान्नको व्यापारसमेत सुस्ताएको छ । व्यापारमा कमी आएकाले खाद्य वस्तुको बिक्री घटी धेरै वस्तु व्यवसायीको गोदाममा नै थन्किएका छन् ।