१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. चन्द्रप्रसाद रिसाल
२०७७ असोज २२ बिहीबार ०८:२५:००
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दिगो कृषि र युरिया मल

विविध कारणवश आवश्यक समयमा रासायनिक मल आयात गर्न नसक्दा मुलुकको कृषि क्षेत्र अझै सार्वभौम हुन नसकेको अनुभूति भइरहेको छ

Read Time : > 8 मिनेट
डा. चन्द्रप्रसाद रिसाल
२०७७ असोज २२ बिहीबार ०८:२५:००

यो वर्ष धानबालीमा मल टपड्रेसिङ गर्नुपर्ने वेलामा युरिया मलको ठूलो अभाव भयो । यस्तो समस्या प्रायः हरेक वर्ष दोहोरिने गरेको छ । गत वर्षको धानको सिजनमा पनि यस्तै भएको थियो । त्यतिवेला पनि मलको अभाव छिमेकी देशको सदाशयतामा समाधान भएको थियो । यो वर्ष पुस महिनामा कृषि सामग्री कम्पनीले गराएको मल आयात ठेक्का सम्झौताअनुरूप भदौ महिनाको अन्त्यसम्म पनि मल आउन सकेन । अहिले मल ल्याउन ठेक्का दिने निकाय र ठेक्का पाउने ठेकेदारबीच अदालतमा मुद्दा चलिरहेको छ । तर, मुद्दा जुन पक्षले जिते पनि किसानको हार भइसकेको छ । 

धानबालीको पहिलो टपड्रेसिङमा युरिया मल हाल्न नपाएका किसान दोस्रो टपड्रेसिङका लागि मलको जोहो गर्न संघर्षरत छन् । साल्ट ट्रेडिङले न्यून परिमाणमा भए पनि आयात र बिक्री वितरण गरेका स्थानमा कोभिड महामारी बिर्सेर किसानको भीड लाग्ने गरेको छ । बाली–बिरुवाका लागि १६ प्रकारका पोषक तत्व आवश्यक पर्दछन्, जसमध्ये धेरै अभाव भइरहने र बिरुवालाई बढी मात्रामा आवश्यक पर्ने तत्व नाइट्रोजन हो । नाइट्रोजनको सस्तो र भरपर्दाे स्रोत युरिया मल हो । युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ । बिरुवाको वानस्पतिक विकास होस् अथवा प्रजनन क्रियामार्फत बिउको विकासका लागि नै किन नहोस्, नाइट्रोजन अपरिहार्य छ । माटोबाट बिरुवाले लिने यही नाइट्रोजन प्रोटिनको रूपमा मानव पोषणको स्रोत बन्छ । 

बिरुवाले उपभोग गर्ने नाइट्रोजनको स्रोत सामान्यतः दुई किसिमका छन् : जैविक नाइट्रोजन स्थिरीकरण, गैरजैविक नाइट्रोजन स्थिरीकरण । गैरजैविक नाइट्रोजन स्थिरीकरणमा कारखानाबाट उत्पादन हुने, बिजुली चम्कँदा उत्पादन हुने र ठूला विस्फोटनबाट उत्पादन हुने नाइट्रोजन पर्दछन् । प्राकृतिक तरिकाले हुने नाइट्रोजन स्थिरीकरणको परिमाणले मात्र सम्पूर्ण बालीनालीको नाइट्रोजनको आवश्यकता पूरा गर्न सक्दैन । सन् २०१८ मा २१ करोड मेट्रिक टन युरिया मल अर्थात् ९.६ करोड मे. टन नाइट्रोजन कारखानामा उत्पादन भएको थियो । नाइट्रोजनयुक्त रासायनिक मलको बढ्दो उत्पादन तथा खपतका क्रमलाई जैविक नाइट्रोजन स्थिरीकरणमा सुधार गरेर घटाउन सकिन्छ ।

 कारखानामा उत्पादन गरिने नाइट्रोजन : सन् १९०८ मा जर्मनीका रसायनशास्त्री फ्रिट्ज हावेरले हावामा भएको डाइनाइट्रोजनबाट अमोनिया बनाउन सकिने विषय परीक्षण गरी पुष्टि गरे । सन् १९१८ मा उनलाई यो आविष्कारका लागि रसायनशास्त्रको नोवेल पुरस्कार प्रदान गरियो । हावेरले अमोनिया उत्पादनको खोज वास्तवमा पहिलो विश्वयुद्धका क्रममा रासायनिक हतियार तथा विस्फोटक पदार्थको अनुसन्धानका क्रममा गरेका थिए भनिन्छ । तर, यसको आविष्कार यस्तो समयमा भइदियो कि कृषि उत्पादन बढाउनका लागि वरदान नै साबित भयो ।

यो आविष्कारको केही वर्षभित्रै जर्मनीका अर्का रसायनशास्त्री कार्ल बुस्चले यस आविष्कारलाई उद्योगको रूपमा विकास गरी ठूला कारखानाबाट अमोनिया उत्पादन गरी त्यसबाट युरियालगायत अन्य नाइट्रोजनयुक्त रासायनिक मलको व्यावसायिक उत्पादन सुरु गरे । यस्ता कारखानामा धेरै नै ऊर्जा, ठूला उपकरण, ताप तथा चापको आवश्यकता हुन्छ । कारखानामा अमोनिया उत्पादन गरी त्यसबाट युरियालगायत अन्य नाइट्रोजनयुक्त रासायनिक मलहरूको उत्पादन गर्ने प्रक्रियालाई हावेर बोस्च भनिन्छ । यो आविष्कार बीसौँ शताब्दीको महत्वपूर्ण उपलब्धिहरूमध्येमा पर्दछ । 

युरिया उत्पादन र विश्व जनसंख्या : सन् १९०० मा विश्वको जनसंख्या एक अर्ब ७० करोड थियो, सन् १९५० मा बढेर दुई अर्ब २५ करोड पुग्यो । सन् १९२२ बाट कारखानामा उत्पादन सुरुवात भएको युरिया मलको सन् १९५० बाट व्यावसायिक रूपमा र ठूलो परिमाणमा उत्पादन तथा उपयोग हुन थाल्यो । सन् १९५० पश्चात् जसैजसै युरिया मलको खपत बढ्दै गयो, विश्वको जनसंख्या वृद्धिदर पनि त्यही रूपमा बढेको पाइन्छ ।

सन् १९०० देखि १९५० सम्मकै जनसंख्या वृद्धिदर निरन्तर रहन्थ्यो भने अहिले विश्वको जनसंख्या तीन अर्ब हाराहारी मात्रै हुनुपर्ने हो । तर, कारखानामा उत्पादित नाइट्रोजनले खाद्यान्नको उत्पादनमा क्रान्तिकारी बढोत्तरी ल्यायो । विश्वको जनसंख्या अभूतपूर्व रूपले बढेर सात अर्ब ८१ करोड पुग्नुमा यसको पनि ठूलो योगदान छ । 

युरिया मल कसरी बन्छ ? : कारखानामा युरिया मल बनाउने प्रक्रियाको प्रथम खण्ड हाबरबोस्च प्रोसेस हो । तीन भाग हाइड्रोजन अणु एक भाग डाइनाइट्रोजन अणुसँग निश्चित चाप र तापमा उत्प्रेरक फलामको उपस्थितिमा ठूलो आकारको रियाक्टरमा राखी प्रतिक्रिया गराइन्छ । प्रतिक्रियास्वरूप डाइनाइट्रोजन अणु टुक्रिन्छ र दुईवटा नाइट्रोजन परमाणु बन्दछन् ।

नेपालमा बिजुली प्रयोग गरी उत्पादन हुने युरियाभन्दा आयात गर्दा प्रतिकेजी एक रुपैयाँ २० पैसा फाइदा हुने देखिन्छ । तर, केजीमा एक रुपैयाँ २० पैसा फाइदाका लागि धानमा गाँज हाल्ने वेला र पोटाउने वेलाजस्तो नाइट्रोजन आवश्यकताको महत्वपूर्ण समयमा मल हाल्न नपाउँदा सिर्जित अवस्थाको तुलना हुन सक्दैन ।
 

यसरी बनेका नाइट्रोजन परमाणुहरू उत्प्रेरक फलामको उपस्थितिमा हाइड्रोजन अणुसँग मिल्न पुगी अमोनियाको सिर्जना हुन्छ । प्रक्रियाको दोस्रो खण्डमा अमोनियालाई कार्बनडाइअक्साइडसँग प्रतिक्रिया गराएर अमोनियम कार्बामेट बनाइन्छ । अमोनियम कार्बामेटलाई कम तापक्रममा हावाको फोहरा दिई माथिबाट तल झारिन्छ । यसो गर्दा अमोनियम कार्बामेटमा भएको पानीलाई छुट्याउन सजिलो भई युरियाको दाना पनि गोलाकारमा बदलिन्छन् । 

युरिया मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरू डाइनाइट्रोजन, कार्बनडाइअक्साइड र हाइड्रोजन हुन् । यी तीनमध्ये डाइनाइट्रोजन र कार्बनडाइअक्साइड वातावरणमा पर्याप्त उपलब्ध छन् । युरियाका लागि आवश्यक पर्ने हाइड्रोजनको व्यवस्था देशमा उपलब्ध कच्चा पदार्थका आधारमा तीन किसिमले गर्न सकिन्छ । मिथेन ग्यासको उत्पादन प्रशस्त मात्रामा भएका देशमा मिथेन तथा पानीको प्रतिक्रियाबाट हाइड्रोजनको उत्पादन गरिन्छ । दोस्रो विकल्प, कोइला प्रयोगबाट पानीमा भएको हाइड्रोजन निकाल्ने हो । यस प्रक्रियालाई कोयला ग्यासिफिकेसन भनिन्छ । तेस्रो विकल्प, वाटर इलेक्ट्रोलाइसिस हो, जसमा पानीलाई विद्युत्को प्रयोग गरी हाइड्रोजन तथा अक्सिजनमा छुट्याइन्छ । 

नेपालमा युरिया कारखानाको सम्भाव्यता : लगानी बोर्डलाई केही वर्षअघि एक भारतीय कम्पनीका तर्फबाट पेस भएको नेपालमा युरिया मल कारखाना स्थापना सम्भाव्यता अध्ययन प्रतिवेदनमा प्रतिदिन ५ हजार र १० हजार मे. टन क्षमताको कारखानाको बारेमा अध्ययन भएको थियो । वर्षमा २०० दिन कारखाना सञ्चालन हुने आधारमा वार्षिक १० लाख र २० लाख मे. टन उत्पादनका आधारमा अनुमानित मूल्य प्रक्षेपण भए ।

स्वाभाविक रूपमा बढी क्षमताको कारखानाको प्रतिइकाइ लागत कम पर्ने हुन्छ । त्यसमा पनि प्राकृतिक ग्यास अर्थात् मिथेनको प्रयोग, कोइलाको प्रयोग र जलविद्युत्को प्रयोगले उत्पादित वस्तुको प्रतिइकाइ लागतमा फरक पर्ने देखियो । नेपालमा मिथेन ग्यासको भण्डार तथा उत्पादन सीमित परिमाणमा भएका कारण यस प्रक्रियाबाट हाइड्रोजनको उत्पादन दिगो हुन सक्दैन ।

१० हजार मे. टन युरिया प्रतिदिन उत्पादन क्षमताको कारखाना खोल्ने हो भने नेपालको मिथेन भण्डारबाट मुस्किलले एक वर्ष सञ्चालन गर्न सकिन्छ । विदेशबाट मिथेन आयात पनि रासायनिक मल आयातजस्तै भरपर्दो नहुन सक्छ । दोस्रो विकल्प, कोइलाको प्रयोग हो । देशमा कोइलाको राम्रो स्रोत नभएका कारण यो पनि दिगो र भरपर्दाे विकल्प हुन सक्दैन ।

आवश्यक पर्ने कोइला व्यवस्थापनका लागि छिमेकी देशसँगै निर्भर हुनुपर्ने र वातावरणीय प्रभाव मूल्यांकनले यस विकल्पलाई सबैभन्दा नराम्रो ठान्दछ । तेस्रो विकल्प अर्थात् विद्युत्को प्रयोग हो, जुन नेपालको सन्दर्भमा भरपर्दो हुन सक्छ । यसका लागि करिब ३५३ मेगावाट विद्युत् (हावाबाट नाइट्रोजन संकलनका लागि ५ मेगावाट, कार्बनडाइअक्साइड संकलनका लागि ७ मेगावाट, पानीबाट हाइड्रोजन उत्पादनका लागि २०० मेगावाट र कारखाना सञ्चालन व्यवस्थाका लागि करिब १४१ मेगावाट) आवश्यक पर्ने सम्भाव्यता अध्ययनमा औँल्याइएको छ । सम्पन्नोन्मुख केही जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली मल कारखानाका लागि प्रयोग गर्न सकिने अवस्थामा छ । 

अध्ययनबाट, प्राकृतिक ग्यास अर्थात् मिथेनको प्रयोग गर्दा रु. ३१ प्रतिकेजी र जलविद्युत्को प्रयोग गर्दा रु. ४८ प्रतिकेजी युरियाको मूल्य पर्न जाने अनुमान गरिएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको थोक मूल्य रु. ३२.४८ प्रतिकेजी पर्दछ (अगस्ट, २०२०) । कृषि सामग्री कम्पनीबाट गत पुसमा भएको युरिया आयात सम्झौता दर रेटको ठेक्का हिसाबअनुसार प्रतिकेजी युरियाको नेपालमा मूल्य रु. ४६.८० पर्न आउँछ ।

जसअनुसार नेपालमा बिजुली प्रयोग गरी उत्पादन हुने युरियाभन्दा आयात गर्दा प्रतिकेजी एक रुपैयाँ २० पैसा फाइदा हुने देखिन्छ । तर, प्रतिकेजी एक रुपैयाँ २० पैसा मात्र फाइदाका लागि धानमा गाँज हाल्ने वेला र पोटाउने वेलाजस्तो नाइट्रोजन आवश्यकताको महत्वपूर्ण समयमा मल हाल्न नपाउँदा सिर्जित अवस्थाको तुलना हुन सक्दैन । पर्याप्त पोषणले बालीको उत्पादन क्षमतामा ३३ प्रतिशत योगदान पुर्‍याउँछ । समयमा उचित पोषण नपाएर धान उत्पादनमा दश प्रतिशत मात्र ह्रास आएको खण्डमा न्यूनतम समर्थन मूल्यका आधारमा देशमा १४ अर्ब रुपैयाँबराबरको उत्पादन घट्न जाने देखिन्छ । स्मरण होस्, धानबालीले मात्र नेपालको कुल गार्हस्थ्य उत्पादनमा १९ प्रतिशत हिस्सा ओगट्छ ।

नेपालमा मलको आवश्यकता तथा आपूर्ति अवस्था : नेपालको कुल खेतीयोग्य जमिन ३० लाख हेक्टर छ । क्षेत्रफल तथा उत्पादनका हिसाबले खाद्यान्न बालीहरूमध्ये धान, मकै र गहुँ नै नेपालका प्रमुख बाली हुन् । बालीलाई आवश्यक पर्ने १६ किसिमका पोषक तत्वहरूमध्ये नाइट्रोजन, फस्फोरस र पोटासियमलाई मलखादको रूपमा बालीमा प्रयोग गरिरहनुपर्ने भएकाले यिनलाई फर्टिलाइजर इलिमेन्ट पनि भन्ने गरिन्छ ।

प्रतिहेक्टर जमिनको बालीलाई आवश्यक पर्ने फर्टिलाइजर इलिमेन्ट र माटोको स्वास्थ्य सुधारका लागि अपरिहार्य प्रांगारिक पदार्थको मात्राका आधारमा मलखादको सिफारिस दर निर्धारण हुन्छ । प्रमुख बालीहरू धान, मकै र गहुँको मलखादको सिफारिस दरलाई दुई बाली प्रणालीमा औसत गर्ने हो भने प्रतिहेक्टर जमिनमा १० मे. टन प्रांगारिक पदार्थ र २७० केजी फर्टिलाइजर इलिमेन्ट आवश्यक पर्दछ । प्रमुख बालीहरूमा नाइट्रोजन, फस्फोरस र पोटासियमको सिफारिस अनुपातका आधारमा नेपालमा मलको आवश्यकता युरिया ७ लाख ८१ हजार मे. टन, डिएपी ४ लाख ७५ हजार मे. टन र पोटास २ लाख ४३ हजार मे. टन हुन आउँछ ।

हरेक वर्ष देशले १० अर्ब रुपैयाँ बजेट रासायनिक मलमा अनुदानका लागि छुट्याउने गरेको छ । देशमा युरिया उत्पादन परियोजनाको सफल कार्यान्वयन हुन सकेमा १० वर्ष अवधिमा लगानी उठ्ने, हजारौँ नेपालीले स्वदेशमै रोजगारी प्राप्त गर्ने र वास्तविक रूपमा नेपालको कृषि आत्मनिर्भर हुन गई मुलुकमा समृद्धिको ढोका खोल्न मद्दत पुग्ने देखिन्छ ।
 

नेपालमा हाल प्रयोगमा रहेको मलखादको सिफारिस दर ४० वर्षभन्दा बढी पुरानो हो । बढी उत्पादन क्षमता भएका वर्णशंकर जातको खेती विस्तारका कारण उल्लेखित मलको परिमाण अझ बढ्न जाने देखिन्छ । आ.व. ०७६/७७ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले युरिया ३ लाख मे. टन, डिएपी १ लाख ५० हजार मे. टन र पोटास १५ हजार मे. टन गरी कुल ४ लाख ६५ हजार मे. टन रासायनिक मल अनुदानमा वितरणका लागि १० अर्ब बजेट व्यवस्था गरेको थियो । हाल नेपालमा फर्टिलाइजर इलिमेन्ट प्रयोग दर ७४.१ केजी प्रतिहेक्टर मात्र छ, जबकि विश्वको औसत प्रयोग दर ४१६.१ केजी प्रतिहेक्टर छ । 

सन्तुलित मलखादको प्रयोग : रासायनिक मलहरूमध्ये नाइट्रोजनयुक्त मलले बिरुवामा चाँडै प्रभाव देखाउँछ । नाइट्रोजन प्रयोग गरेको केही दिनमै बाली हरियो हुने, हलक्क बढ्ने गर्दछ । सरकारबाट रासायनिक मलमा दिइने अनुदानको मात्रा पनि डिएपी र पोटास मलको तुलनामा युरिया मलमा बढी छ । यिनै कारणले गर्दा किसानमाझ युरिया लोकप्रिय छ । युरियाको लोकप्रियताले डिएपी र पोटासलाई ओझेलमा पारिदिएको छ । फलस्वरूप डिएपी र पोटास मलको प्रयोग गर्नुपर्ने बेसल डोजको समयमा पनि किसान युरिया मलमै लाइन लाग्ने गरेको पाइन्छ ।

सिद्धान्ततः बालीको उत्पादन क्षमतालाई सबैभन्दा बढी अभाव भएको पोषक तत्वले संकुचन गर्ने गर्दछ । सन्तुलित मात्रामा मलखादको प्रयोगबाट मात्र बालीको उत्पादन बढाउन सकिन्छ । अनुदानमा आपूर्ति व्यवस्थापन गरिएको रासायनिक मलको परिमाणको तथ्यांकबाट पनि नेपालमा रासायनिक मलको असन्तुलित प्रयोगलाई प्रस्ट पार्दछ । नेपालको माटोमा पोटासको मात्रा द्रुत गतिमा घटिरहेको प्रयोगशाला नतिजाले देखाएको छ । मकै तथा धानबालीमा गरिएका परीक्षणबाट पोटास मलको प्रयोग बढाउँदा सोहीअनुरूप उत्पादन बढेको नतिजा पाइएका छन् ।

रासायनिक मलको सन्तुलित प्रयोगका लागि बालीको आवश्यकताअनुरूप ब्लेन्डिङ गरिएका ब्लेन्डेड मलको उपभोग बढाउन जरुरी देखिन्छ । यसका लागि रासायनिक मलमा दिइने अनुदान स्ट्रेट फर्टिलाइजरबाट कटौती गरी ब्लेन्डेड मलमा मात्र दिने व्यवस्था प्रभावकारी हुन सक्छ । प्रांगारिक मल र रासायनिक मल एक–अर्काका परिपूरक हुन् ।

रासायनिक मलले प्रांगारिक मलको काम गर्न सक्दैन र प्रांगारिक मलले पनि तत्काल रासायनिक मललाई विस्थापन गर्न सक्दैन । तसर्थ, देशमा रासायनिक मलसँगै प्रांगारिक मल प्रवद्र्धनका कार्यक्रमले पनि निरन्तरता पाउनुपर्दछ । प्रतिहेक्टर जमिनमा १० मे. टनका हिसाबले प्रतिवर्ष ३ करोड मे. टन प्रांगारिक मल खेतबारीमा प्रयोग गर्न सके देशको माटो स्वस्थ बनाउन सकिन्छ । बालीले सन्तुलित मल पाए भने मात्र हामीले खाने थालीका पोषण सन्तुलित हुन्छन् । 

अबको बाटो : नेपालमा प्रांगारिक मल प्रवद्र्धनका लागि यथेष्ट प्रयास नभएका होइनन् । प्रांगारिक मल कारखाना स्थापनाका लागि सहयोग गर्ने, प्रतिकेजी प्रांगारिक मलमा रु. १० अनुदानको कार्यक्रम पनि सरकारले उपलब्ध गराएको थियो । गुणस्तर कायम गर्न नसकेको र मलमा उपलब्ध बिरुवाको पोषक तत्व तथा अन्य फाइदाको तुलनामा प्रांगारिक मलको मूल्य बढी रहेका कारण आमकिसानमाझ प्रांगारिक मलले लोकप्रियता कमाउन सकेन ।

धानबालीको सिजनमा युरियाको यत्रो ठूलो अभावमा समेत प्रांगारिक मल उत्पादकहरूले आफ्नो उत्पादनको उपभोग विस्तारका लागि किसानको मन जित्न सकेको पाइएन । अझैसम्म पनि नेपालका कारखानामा उत्पादित प्रांगारिक मल सहरी कौसीखेती र केही बालीविशेष फार्महरूमै धेरै हदसम्म सीमित छ । यसलाई आमकिसानको पहुँचसम्म पुर्‍याउन आवश्यक छ । 

विविध कारणवश आवश्यक समयमा रासायनिक मल आयात गर्न नसक्दा मुलुकको कृषि क्षेत्र अझै सार्वभौम हुन नसकेको अनुभूति भइरहेको छ । देशको आर्थिक समृद्धि तथा कृषिमा आत्मनिर्भरताका लागि पनि देशभित्र एउटा युरिया मल कारखाना आवश्यक छ । युरिया मलको आपूर्ति व्यवस्थामा हालको जस्तो समस्या आउन नदिन कम्तीमा पाँच लाख मे. टन क्षमताको युरिया मलको बफर स्टक भण्डारणको व्यवस्था गर्न आवश्यक छ, ताकि अर्काे देशबाट पैँचो लिनुपर्ने अवस्थामा पछि सोधभर्ना गर्ने गरी बफर स्टक भण्डारणबाट उपयोग गर्न सकियोस् । 

रासायनिक मल भनेको बिष हो भन्ने अतिवादी सोच पनि व्याप्त छ, तर त्यसो होइन । रासायनिक मलले माटो कडा भयो, माटो बिग्रियो भन्ने धारणा किसानबाटै पनि आउने गरेको छ । यसो हुनुको कारण रासायनिक मलभन्दा पनि सिफारिस मात्रामा प्रांगारिक मल प्रयोग नहुनु हो । प्रांगारिक मलले माटोको स्वास्थ्य सुधारमा मद्दत गर्दछ भने रासायनिक मलले बिरुवाको आवश्यक पोषणको मात्रा पूरा गर्दछ ।

 आवश्यक विद्युत्को व्यवस्था गर्नका लागि लाग्ने खर्चसहित ५ हजार मे. टन प्रतिदिन क्षमताको युरिया मल कारखाना स्थापनाका लागि करिब एक खर्ब नेपाली रुपैयाँको लगानी लाग्न सक्ने अनुमान सम्भाव्यता अध्ययनमा गरिएको छ । यो क्षमताको कारखानाबाट उत्पादन हुने १० लाख मे. टन युरिया नेपालमै खपत हुने आधारहरू पर्याप्त छन् ।

हरेक वर्ष देशले १० अर्ब रुपैयाँ बजेट रासायनिक मलमा अनुदानका लागि छुट्याउने गरेको छ । देशमा युरिया उत्पादन परियोजनाको सफल कार्यान्वयन हुन सकेमा १० वर्ष अवधिमा लगानी उठ्ने, हजारौँ नेपालीले स्वदेशमै रोजगारी प्राप्त गर्ने र वास्तविक रूपमा नेपालको कृषि आत्मनिर्भर हुन गई मुलुकमा समृद्धिको ढोका खोल्न मद्दत पुग्ने देखिन्छ । समृद्धिको ढोका खोल्ने सुनौलो अवसर फेरि पनि गुम्न नदिन नीति निर्माता र योजनाकार स्पष्ट हुन आवश्यक छ ।
(रिसाल कृषि विभागका वरिष्ठ माटोविज्ञ हुन्)