मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ असोज २१ बुधबार १७:४८:००
Read Time : > 2 मिनेट
फिचर

नाइजेरियन अभिभावक सामान्य मानिसले कल्पनासमेत गर्न नसक्ने सजाय दिन्छन् आफ्ना बालबालिकालाई

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ असोज २१ बुधबार १७:४८:००

अफ्रिकी मुलुक नाइजेरियाका केही राज्यका अभिभावक आफ्ना बालबालिकाप्रति कठोर रहेको सार्वजनिक भएको छ । यहाँका अभिभावकले बालबालिकाप्रति माया नगर्ने र वर्षौंसम्म कठोर सजाय दिने गरेको विभिन्न युरोपियन एजेन्सीहरूले दाबी गरेका छन् ।

युरोपियन एजेन्सीहरूको केही समयअघि गरेको अनुसन्धानले नाइजेरियन अभिभावकले विशेष गरी मानसिक रूपमा कमजोर सन्तानलाई घरभित्रै थुनेर राख्ने र उनीहरूको जीवन जेलमा परेजस्तै हुने गरेको उल्लेख छ । नाइजेरियाको ११ राज्यका अभिभावकले सामान्य मानिसले कल्पनासमेत गर्न नसक्ने गरी यस्ता सन्तानलाई सजाय दिँदै आइरहेको खुलेको छ । 
यहाँको कानो राज्यमा हालै मात्र यस्तै एउटा घटना सार्वजनिक भएको छ । ३२ वर्षीय एक वयस्क सात वर्षदेखि एउटा कोठाभित्र बन्द छन् । उनका आमाबुबाले खुट्टामा फलामको साङ्लोले बाँधेर राख्दै आएका थिए । ती व्यक्ति त्यही कोठामा खान्छन् र सुत्छन् । ती वयस्कले यस्तो दुःख पाउनुको पछाडि एउटै कारण हो– उनकी सौतेनी आमाको व्यवहार । 
बिबिसीको एउटा रिपोर्टमा नाइजेरियामा धेरैजसो बालबालिकाले दुःख पाउनुको पछाडि बाबुको दोस्रो विवाह पनि हो । सौतेनी आमाले पहिलोपट्टिको सन्तानलाई धेरै पीडा दिने गरेका छन् । ती बालबालिका घरेलु हिंसाका सिकार बनाइएका छन् । सेप्टेम्बर महिनामा पनि धेरैजसो यस्तै मुद्दा नाइजेरियन प्रहरीमा दर्ता भएको जनाइएको छ । प्रहरीका अनुसार एउटा घटनामा पहिलो श्रीमतीबाट जन्मेका सन्तानलाई सौतेनी आमाले सात वर्षसम्म एउटै कोठामा थुनेको सार्वजनिक भएको छ । ती महिलालाई प्रहरीले पक्रिए पनि महिलाले केही नबताएको प्रहरीको भनाइ छ ।
 ....
नाइजेरियाको केबी राज्यमा पनि यस्तै एउटा घटना सार्वजनिक भएको छ । गत अगस्टमा ११ वर्षीय एक बालक धेरै संघर्षपछि कठोर सजायबाट मुक्त भएका छन् । अहिले उनका बुबा तथा सौतेनी आमामाथि अदालतमा मुद्दा चलिरहेको छ । यी बालकलाई महिनौँसम्म कुखुराको खोरमा बन्द गरिएको थियो । त्यो पनि एउटा खुट्टा बाँधेर । मानसिक तनावकै कारण अहिले बालकको स्वास्थ्य अवस्था राम्रो छैन । कोहीसँग स्पष्ट बोल्न सक्दैनन् । उनको एउटा मात्रै हात चल्छ । 

स्थानीय अधिकारकर्मीहरूले मानसिक रूपमा स्वस्थ नभएको बालकलाई कुखुराको खोरमा राखेको देखेपछि मुद्दा चलाएका थिए । अदालतले ती बालकको स्वतन्त्रता हनन भएको अन्तरिम आदेश दिँदै बालकलाई आफूखुसी जीवन बिताउन दिन भनिएको छ । अहिले ती बालक खोरबाहिर छन् । तर, आमाबुबामाथि मुद्दा चलिरहेको छ । 
‘केबी राज्यको घटनाले यहाँको सोचाइ र मानसिक अवस्था स्पष्ट भएको छ,’ नाइजेरियन मानव अधिकार संस्था (एचआरएन)का प्रमुख हारुना आयादीले भने, ‘बालकलाई चर्को स्वरमा गाली गर्ने रहेछ, उनी आमाको व्यवहारबाट दिक्क भएका छन् ।’ 

यो महिनामा १२ जना बालकलाई यस्तै कुखुराको खोरबाट रिहा गरिएको थियो । नाइजेरियाको राजधानी अबुजामा दुई बालकलाई ट्वाइलेटमा थुनेर राखिएको थियो । एचआरएनको टोलीले ती दुई बालकलाई रिहा गरेको छ ।
 ....
नाइजेरियामा यस्तो अर्को एउटा घटना सार्वजनिक भएको छ जुन पूरै नोलिउड फिल्मकै जस्तो छ । यो घटनामा पनि सौतेनी आमाले सौतेनी छोरा र छोरीलाई बन्द कोठामा थुन्ने र पिट्ने गरेकी थिइन् । नाइजेरियाको कानो राज्यमा सात वर्षीया बालिकालाई उनकी सौतेनी आमाले अँध्यारो कोठामा थुन्ने र शरीरमा आगो लगाउने क्रूर सजाय दिन्थिन् । यसै महिना ती सातवर्षे बालिका र उनका भाइले सौतेनी आमाको क्रूर चंगुलबाट छुटकारा पाए । 

अहिले उनीहरूको मनोचिकित्सकमार्फत उपचार भइरहेको छ । यस घटनामा संलग्न सौतेनी आमा तथा हजुरआमालाई समेत प्रहरीले पक्रेर कारबाही अगाडि बढाएको छ । सन् २००३ को नाइजेरियन कानुनअनुसार राज्यमा बालबच्चामाथि हुने शोषणविरुद्ध तत्काल कारबाही गरिने उल्लेख छ । सोहीअनुसार अहिले अघिकांश यस्ता घटनामा संलग्नलाई तत्कालै प्रहरीले पक्रने गर्छ । 

...
नाइजेरियामा सुस्तमनस्थिति भएका व्यक्ति वा वयस्कले झनै कठिन जीवन बिताइरहेका छन् । यसै साता मात्र कानो राज्यको गारागे जिल्लाका ३० वर्षीय एक युवालाई छिमेकीले मुक्ति दिलाएका छन् । ती युवालाई उसका आमाबुबाले सात वर्षदेखि काठमा घोडाको नालले एउटा खुट्टा बाँधेर राखेका थिए । ती व्यक्ति जहाँ गए पनि काठ घिसार्दै जानुपथ्र्यो । वर्षौंसम्म काठ घिसार्दै हिँड्दा उसको खुट्टा नै नचल्ने अवस्थामा पुगेको छ ।

यही जिल्लाका अर्का ५५ वर्षीय व्यक्ति मानसिक रूपले ठीक नहुँदा ३० वर्षदेखि बन्द कोठामा बस्दै आइरहेका छन् । कोठाको एउटा सानो झ्यालबाट भित्रिने प्रकाश नै उनले देख्ने उज्यालो हुने गर्छ । शारीरिक र मानसिक यातना बारम्बार दिइरहेका कारण ती व्यक्तिको स्वास्थ्य अवस्था बिगँ्रदै गएको रोगो जनरल अस्पतालका चिकित्सकले बताए । नाइजेरियामा वर्षौंदेखि यस्तै जीवन बिताउने संख्या असंख्य रहेको उनको भनाइ छ । 

नाइजेरियाका ११ राज्यमा अहिले पनि सौतेनी आमाले पहिलोपट्टिबाट जन्मेका छोराछोरीहरूलाई बाहिर काम गर्न पठाउँछन् । यद्यपि त्यहाँको कानुनअनुसार १८ वर्ष नपुग्दासम्म छोराछोरीलाई घरबाहिर काम लगाउन मिल्दैन । अझ यी ११ वटा राज्यमा मुस्लिम समुदायको बाहुल्य रहँदा उनीहरू नियम सीधै अस्वीकार गर्छन् । यी राज्यमा धेरैजसो अभिभावक आफ्नै छोराछोरीको कमाइबाट दैनिक गुजारा गर्छन् ।