मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २० मंगलबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चन्दननाथ मन्दिरबाट चोरी भएको पाँच वर्षपछि थप दुई मूर्ति फेला

Read Time : < 1 मिनेट
२०७७ असोज २० मंगलबार १३:५३:००

कर्णाली प्रदेशको जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्षअघि चोरी भएका बहुमूल्य मूर्तिहरूमध्ये थप दुई पुरातात्विक मूर्ति भेटिएका छन् । 

११ मंसिर ०७३ मा मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो । 

विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान १०ः१५ बजे चन्दननाथ नगरपालिका– १० बोहोरा गाउँस्थित सुशील विष्टको खेतको आलीमा सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा मूर्ति भेटिएको डिएसपी माधव काफ्लेले बताए ।

उनका अनुसार दुई थान मूर्तिसँगै उक्त घटनामा संग्लन तीनजना शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ । 

प्रहरीले चन्दननाथ नगरपालिका– १० का ३२ वर्षीय सुशील विष्ट, तातोपानी गाउँपालिका– ८ घर भई हाल चन्दननाथ नगरपालिका– १० मा बस्ने २८ वर्षीय जयलाल थापा र चन्दननाथ नगरपालिका– १० कै २३ वर्षीय सुदीप रावललाई पक्राउ गरेको हो ।

पाँच वर्ष पहिले चोरी भएका दर्जनौँ मूर्तिमध्ये हालसम्म विभिन्न स्थानबाट करिब २० वटा मूर्ति भेटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथका बहुमूल्य ऐतिहासिक मूर्ति चोरीमा संग्लन सबैलाई कानुनी दायरामा ल्याउन प्रहरी हरप्रयासमा जुटिरहेको बताए । 

उनले विशेष सूचनाका आधारमा शंकास्पद तीन व्यक्तिसहित दुई थान मूर्ति भेट्टाउनु प्रहरीको ठूलो उपलब्धि भएको बताए ।