मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असोज २० मंगलबार ११:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन महिनापछि खुलेको तातोपानी नाका एक दिन खुलेर फेरि बन्द, नयाँ मोडालिटीबारे छलफल हुँदै  

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असोज २० मंगलबार ११:०८:००

तीन महिनापछि खुलेको तातोपानी नाका आइतबार एक दिन खुलेर सोमबार बन्द भएको छ । भन्सार सामग्री लोड–अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले चीनले एकतर्फी रूपमा आयात बन्द गरेको हो । 

नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकोले सोमबारका लागि आयात बन्द गरिएको बताइएको छ । १३ असोजमा नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा काेरोना भाइरस नियन्त्रण गर्ने सर्तमा नाका खुलाउने सहमति भएको थियो ।

कोरोना संक्रमण फैलन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । चीनतर्फ कोरोना परीक्षण गर्दा तीन मजदुरको रिपोर्ट पोजेटिभ आएको भन्दै आयात मोडालिटी परिवर्तन गर्नुपर्ने जानकारी आएको उनले बताए । 

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैँअघि काठमाडौं पुर्‍याउने योजनामुताबिक दुवै देशको सहमतिमा नाका खुलेको हो । सीमाबाट कोरोना फैलन सक्ने भन्दै जांमु प्रशासनले चीनतर्फ मितेरीपुलमा ल्याइएको सामान अर्को निर्णय नभएसम्म नेपालतर्फ नपठाउने भएको छ ।

नजिकिँदो दसैँ प्रभावित नहोस् भनेर चिनियाँ अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको सिडिओ ढकालले जानकारी दिए । सुक्खा बन्दरगाह लार्चास्थित तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नयाँ मोडालिटीबारे छलफल भइरहेको बताए ।

तातोपानी भन्सारमा लोड–अनलोड गर्ने ३६ मजदुरको पिसिआर परीक्षण गराउँदा नेपालको ल्याबले तीनजनाको नेगेटिभ देखाएको थियो । परीक्षण सर्टिफिकेट बोकेर लोड–अनलोड गरिरहेका ३३ मजदुरको चिनियाँ क्षेत्रमा पिसिआर परीक्षण गर्दा तीन जनाको पोजेटिभ देखियो । यसैलाई आधार मानेर चिनियाँ अधिकारीले आयातमा कडाइ गर्ने संकेत गरेका छन् । 

नेपालमा नेगेटिभ रिपोर्ट आएको दुई दिनपछि खासा क्षेत्रमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ आएकोले आयात प्रभावित भएको खत्रीले बताए । तर, नाकालाई सुचारु राख्न गम्भीर रूपमा पहल भइरहेको उनले बताए ।

पिसिआर मेसिन र डाक्टरको टिम आउँदो हप्ता तातोपानी भन्सार आएपछि मजदुरको कोरोना परीक्षण नियमित गर्ने खत्रीले बताए । खासाबाट चिनियाँ ड्राइभरले सीधै नेपालतिरको भन्सार यार्डमा ल्याएर सामान खसाल्ने मोडालिटीमा छलफल भइरहेको उनले बताए । हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् ।