मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज २० मंगलबार ०७:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महिलालाई दिसा खुवाएर कुटपिट घटना : जनप्रतिनिधिको दबाबमा प्रहरीले बनायो गलत मुचुल्का

Read Time : > 1 मिनेट
२०७७ असोज २० मंगलबार ०७:४३:००

कपाल मुण्डन गरी दिसा खुवाएर गाउँ घुमाउँदै महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले गलत मुचुल्का बनाएको छ । स्थानीय बासिन्दा र जनप्रतिनिधिको दबाबमा दिसा खुवाइएको भन्ने उल्लेख नगरी मुचुल्का बनाइएको हो ।

हुम्ला सिमकोट–७ की महिलालाई परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोप लगाउँदै १६ असोजमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले कुटपिट गरेका थिए । उनको कपाल मुण्डन गरिएको थियो भने दिसा खुवाएर गाउँ घुमाइएको थियो । गाउँ घुमाइरहेको खबर पाएपछि गएको प्रहरी टोलीले नै उनलाई उद्धार गरेर सदरमुकाम सिमकोट ल्याएको थियो ।

तर, घटनाको तीन दिनपछि १८ असोजमा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय र धारापोरी प्रहरी चौकीको टोली गाउँमा पुगेको हो । स्थानीय बासिन्दा र जनप्रतिनिधिले दबाब दिएपछि प्रहरी टोली गलत मुचुल्का बनाएर फर्किएको हो । ‘दिसा खुवाएको भन्ने मुचुल्कामा राखेपछि स्थानीयवासीले विरोध गरे, झडप हुने अवस्था आयो । जनप्रतिनिधिले पनि दबाब दिए,’ मुचुल्का बनाउन गएका एक प्रहरीले भने ।

सिमकोट–७ का वडाध्यक्ष राजबहादुर शाहीलगायत व्यक्तिले दबाब दिएको ती प्रहरी अधिकृतले बताए । सदरमुकामबाट पनि नेताहरूले दबाब दिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । प्रहरीले दिसा खुवाएको विषय नराखेपछि मात्रै वडा सदस्य जयबहादुर शाहीले मुचुल्कामा हस्ताक्षर गरेका थिए । वडाध्यक्ष शाहीले भने त्यसमा पनि हस्ताक्षर गर्न नमानेको ती प्रहरीले बताए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सूर्यप्रकाश सुवेदीले पनि दिसा खुवाएको विषय मुचुल्कामा राख्न नसकिएको स्वीकारे । ‘मुचुल्का बनाउँदा स्थानीय जनप्रतिनिधिको पनि रोहबर चाहिन्छ, दिसा खुवाएको विषय लेखेपछि जनप्रतिनिधिले हस्ताक्षर गर्न मानेनन्,’ उनले भने, ‘कसैले हस्ताक्षर गर्न नमानेपछि दिसा खुवाएको विषय मात्रै मुचुल्कामा नराखिएको हो, अन्य सबै विषय राखिएको छ । कुनै पनि हालतमा मुद्दा कमजोर हुँदैन ।’ 

पीडित युवती र केही प्रत्यक्षदर्शीले दिसा खुवाएको बताउँदै आएका छन् । प्रहरीले पनि उनलाई उद्धार गरेर ल्याउँदा दिसा खुवाएको बताएको थियो । जनप्रतिनिधिको दबाबमा गलत मुचुल्का उठाएर मुद्दा कमजोर बनाउन खोजेको महिला अधिकारीकर्मी गंगा बोहोराले बताइन् । दिसा खुवाएको घटनामा आठ वर्ष कैद सजाय हुने व्यवस्था छ । त्यो विषय नराख्दा अपमानजक व्यवहारसम्बन्धी मुद्दा चल्नेछ । प्रहरीले अपमानजक व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । जसमा बढीमा पाँच वर्षसम्म सजाय हुन्छ ।

यो पनि पढ्नुहोस् : हुम्लामा महिलालाई कपाल मुडेर दिसा खुवाइयो