१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार २२:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला–घाँटीबगड–छाङरु सडक सेनाद्वारा सरकारलाई हस्तान्तरण, अब भारतीय भूमि प्रयोगको बाध्यता हट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार २२:१०:००

नेपाली सेनाले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने गोरेटो बाटो निर्माण सम्पन्न गरेर सोमबार स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । तीन वर्षदेखि बाटो अवरुद्ध हुँदा व्यास नगरपालिका– १ का जनताले दार्चुला सदरमुकाम पुग्न भारतीय भूमि प्रयोग गर्नुपरेको थियो । सेनाले २६ जेठबाट काम सुरु गरेर निर्माण सम्पन्न गरेको गोरेटो बाटो सोमबार स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । मन्त्रिपरिषद्ले १४ वैशाखमा गोरेटो बाटो निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो । 

सोमबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बाटो उद्घाटन गरेका छन् । कार्यक्रममा प्रदेश सांसद गेल्वोसिंह बोहरा, सेनाको सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा, प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल, युद्धकार्य महाशाखा प्रमुख महासेनानी गौरव केसी, २५ नम्बर बाहिनीका महासेनानी कृष्ण जिसीलगायत थिए । 

मुख्यमन्त्री भट्टले बाटो निर्माणका लागि केन्द्र सरकार र सेनालाई धन्यवाद दिए । उनले कठिन अवस्थामा पनि जनताको मागअनुसार उत्कृष्ट कार्य गरेको भन्दै सेनाको सराहना गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुख्यमन्त्री भट्टले नेपाली सेनाले नेपाली भूभागको रक्षा गर्दै निर्माण गरेको बाटोले महाकाली करिडोर निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने पनि बताए । व्यास गाउँपालिका– १ मा प्रदेश सरकारले विकासको प्याकेज ल्याउन लागेको पनि उनको भनाइ थियो । 

सरकारले बाटो निर्माणका लागि एक करोड आठ लाख ३६ हजार निकासा गरेको थियो । कुल चार सय ५० मिटर लामो र दुई मिटर चौडा बाटो बनाउने प्रारम्भिक लक्ष्य रहेको भए पनि जमिनको बनावट र आवश्यकताका कारण पाँच सय ५० मिटर बाटो बनेको सेनाले जनाएको छ । कार्य सम्पन्न गर्ने क्रममा नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट २० वटा उडान गरिएको थियो । जसमध्ये दुईपटक रासन ढुवानी र करिब ११ हजार केजीबराबरको निर्माण सामग्री ढुवानी गरिएको थियो । यस आयोजनामा करिब आठ सय केजी विस्फोटक पदार्थ प्रयोग भएको थियोे । भारी वर्षा, प्रतिकूल मौसमका कारण कुल २१ दिन निर्माण कार्य रोकिएकोमा बाँकी ८५ दिनमा बाटो निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको सेनाले जनाएको छ । 
सेनालाई आयोजना स्थल अतिविकट स्थानमा रहेको र हेलिप्याड निर्माण गर्नसमेत स्थान अभाव भएको थियो । तर, विषम र जोखिमयुक्त परिस्थितिमा सेनाको हवाई साधन तथा सैनिक परिचालन गरी बाटो निर्माण सम्भव भएको सेनाले जनाएको छ । 

बाटो निर्माणमा सेनाको तर्फबाट सेनानीको नेतृत्वमा कुल ६५ जना सैनिकले भाग लिएका थिए भने कोभिड– १९ को कारण कमभन्दा कम गैरसैनिक प्रयोग गरी निर्माण कार्य गर्नुपर्ने बाध्यता रहेकोले एकपटकमा १३ जनाभन्दा नबढाई ३३ जना अर्धदक्ष स्थानीय श्रमिकलाई रोजगार प्रदान गरिएको सेनाले जनाएको छ ।

सेनाका अनुसार बाटो निर्माणपछि अब नेपालभित्र यात्रा गर्दा विदेशी भूमिको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । व्यास गाउँपालिका– १ का एक सय ८४ घरधुरीका एक हजार दुई सय ५० जना स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । त्यहाँबाट मुख्य रूपमा हिउँद लागेपछि भेडाबाख्रा सदरमुकाम ल्याउन सहज भएको छ । बाटो निर्माण भएपश्चात् हालै मात्र दुई हजारभन्दा बढी चौपाया सदरमुकाम खलंगा झार्ने क्रम सुरु भइसकेको सेनाले जनाएको छ । यो बाटो नेपाली सेनाले निकट भविष्यमा नै निर्माण गर्न लागेको ८७ किलोमिटर लामो महाकाली करिडोर (दार्चुला–तिंकरखण्ड)मा परेको छ । यसका लागि प्रमुख सेनानीको नेतृत्वमा विकास निर्माण कार्यदल गण तैनाथ भइसकेको पनि सेनाले जनाएको छ ।