मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १९ सोमबार ०४:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काबुलमा चार वर्षअघि मारिएका नेपाली सुरक्षाकर्मीका परिवारले सम्मानजनक क्षतिपूर्ति पाउने क्यानडा सरकार र पीडित परिवारबीच सम्झौता

एकमुष्ट दुई करोड ४ लाख अमेरिकी डलर क्षतिपूर्ति दाबी गर्दै क्यानडा सरकार र काबुलस्थित सुरक्षा कम्पनी सेब्रे इन्टरनेसनलविरुद्ध दायर मुद्दामा पीडित र क्यानडा सरकारबीच क्षतिपूर्तिसम्बन्धी सम्झौता, सम्मानजनक क्षतिपूर्ति दिन क्यानडा तयार

Read Time : > 1 मिनेट
२०७७ असोज १९ सोमबार ०४:४८:००

अफगानिस्तानको काबुलमा चार वर्षअघि आत्मघाती बम विस्फोटमा मारिएका नेपाली, नेपाली मूलका भारतीय सुरक्षाकर्मीका परिवार र घटनामा बाँचेकालाई क्यानडाले सम्मानजनक क्षतिपूर्ति दिने भएको छ । आत्मघाती बम विस्फोटमा १३ जना नेपाली र दुईजना नेपाली मूलका भारतीय सुरक्षाकर्मी मारिएका थिए । घटनामा बाँचेकाले पनि क्षतिपूर्ति पाउनेछन् । 


मृतकका परिवार तथा घाइते र क्यानडा सरकारबीच क्षतिपूर्तिसम्बन्धी सम्झौता भएको क्यानडाको सिबिसी न्युजले आइतबार जनाएको छ । उनीहरूले एकमुस्ट रूपमा दुई करोड चार लाख अमेरिकी डलर क्षतिपूर्ति दाबी गर्दै क्यानडा सरकार र काबुलस्थित सुरक्षा कम्पनी सेब्रे इन्टरनेसनलविरुद्ध मुद्दा दायर गरेका थिए । क्यानडाले सम्मानजनक क्षतिपूर्ति दिने भन्दै मुद्दा मिलाएको छ । 

क्यानडाको अफगानिस्तानस्थित दूतावासको सुरक्षार्थ खटिएका १३ नेपाली र दुई भारतीय गोर्खा सुरक्षाकर्मी ६ असार ०७३ मा आत्मघाती बम विस्फोटमा मारिएका थिए । नेपाली र भारतीय सुरक्षाकर्मी बस्दै आएको ठाउँबाट दूतावास जाँदै गर्दा उनीहरू सवार मिनिबसमाथि बम हमला भएको थियो । काबुल सहरको पुल ए चार्खिल क्षेत्रमा विस्फोट भएको थियो ।
घटनामा मृत्यु भएकाका परिवार तथा घाइतेले उचित क्षतिपूर्ति नपाएको भन्दै क्यानडा सरकार र रोजगारदाता कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

रोजगारदाता कम्पनी भने घटनापछि बन्द भएको थियो । पीडित परिवारका तर्फबाट वकिल जेई फियोरेन्टले मुद्दा दायर गरेका थिए । मुद्दा दायरपछि क्यानडा सरकार र पीडितबीच क्षतिपूर्तिसम्बन्धी मिलापत्र भएको उनले सिबिसी न्युजका पत्रकार मुर्रे ब्रेउस्टरलाई बताएका छन् । तर, वकिलले के कति रकम पीडितले पाउने गरी सम्झौता भएको भन्नेचाहिँ खुलाएका छैनन् । उनले भनेका छन्, ‘म यति भन्न सक्छु, यो प्रबन्धप्रति मृतकका परिवार र पीडितहरू सन्तुष्ट छन् । क्यानडा सरकारले ती सुरक्षाकर्मीको सेवा र बलिदानलाई कदर गरेको छ, जो काबुलस्थित क्यानडाको दूतावासको सुरक्षामा रातदिन खटिएका थिए ।’

पीडित तथा मृतकका परिवारका तर्फबाट दायर मुद्दामा क्यानडाको दूतावासले काबुलमा नेपाली र भारतीय सुरक्षाकर्मीमाथि उनीहरूको सुरक्षाका सवालमा विभेद गरेको आरोप छ । सिबिसी न्यूजका अनुसार दूतावास र सुरक्षाकर्मी निवासबीचको १० मिनेटको दूरीमा सुरक्षा बन्दोबस्त नभएको मिनिबस उपलब्ध गराइएकाजस्ता विभेदकारी व्यवहार गरिएको भन्दै सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । 

काबुलमा खटिएका नेपाली सुरक्षाकर्मीले मासिक आठ सयदेखि ११ सय अमेरिकी डलर पारिश्रमिक पाउँदै आएका थिए । मुद्दा दायरकर्ता वकिलले भनेका छन्, ‘मृतकका परिवार र घाइतेलाई हाम्रो सरकारले बेवास्ता गर्‍यो, हामीले सोच्यौँ– यो त असाध्यै अपमानजनक व्यवहार भयो, हामीलाई यो स्वीकार्य भएन ।’

उनीहरूलाई उचित क्षतिपूर्तिका लागि नेपाल सरकारले पनि कूटनीतिक नोट पठाएको थियो । क्यानडा सरकारले विगतमा भने काबुलमा सुरक्षागार्ड र क्यानडा सरकारबीच प्रत्यक्ष रोजगार सम्बन्ध नहुने भन्दै उनीहरूप्रति सरकारको जिम्मेवारी नहुने जवाफ दिएको थियो । तर, चार वर्षपछि क्षतिपूर्ति दिन तयार भएको छ ।