१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असोज १८ आइतबार १०:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन महिनापछि तातोपानीबाट आयात खुल्दै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असोज १८ आइतबार १०:४२:००

२५ असारदेखि बन्द तातोपानी नाका तीन महिनापछि १९ असोजबाट खुल्ने भएको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन र चीन स्वशासित क्षेत्र तिब्बतको न्यालम प्रशासनबीच १३ असोजमा भएको छलफलले खासामा अड्किएका सामान ल्याउन आयात खुला गर्ने निर्णय भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । नाका खोलेपछि खासामा रहेका चिनियाँ भन्सार एजेन्टले सामान ल्याएर मितेरीपुलमा झार्ने र पिसिआर परीक्षण नेगेटिभ भएका नेपाली मजदुरले लोड गरेर लार्चा भन्सार पठाउने तयारी गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा लोड–अनलोड गर्ने दुवै पक्षका मजदुरको प्रत्येक हप्ता कोरोना परीक्षण गरिनेछ । 

तातोपानी सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार खासाबाट डेढ सय कन्टेनर सामान दसैँअघि आयात हुनेछ । ‘काम गर्न १८ गतेबाटै सुरु भए पनि १९ असोजदेखि खासाबाट सामान तातोपानी आयात हुन्छ,’ खत्रीले भने । उनका अनुसार दैनिक ८ चिनियाँ कन्टेनर अर्थात् नेपाली १६ कन्टेनर सामान हुन्छ । खासामा थुप्रिएका सामान आयात भएपछि भने नाका खुला रहने–नरहने भन्नेबारे कुनै छलफल भएको छैन । तातोपानी नाका सञ्चालनका लागि कोरोना भाइरस महामारीबीच मितेरीपुलको सीमामा तीन बैठक सम्पन्न भएका छन् । पछिल्लो बैठकमा तिब्बतको वाणिज्यस्तरका मन्त्री र ठूला अधिकारीसमेत उपस्थित भएका छन् ।  

पाँच वर्षदेखि निर्यात ठप्प 
नेपालमा बनेका सामग्री पाँच वर्षदेखि चीनतर्फ निर्यात भएको छैन । ०७२ को विनाशकारी भूकम्पले बन्द तातोपानी नाका ०७६ जेठ १५ गते खुल्यो । तर, आक्कलझुक्कल आयात मात्रै भएको छ । निर्यात भने ठप्प छ । नेपाली सामान निर्यात नहुँदा चीन स्वशासित क्षेत्र तिब्बतको ल्हासा, सिगात्से र आसपासका बजारमा झन्डै १ हजार पसल अहिले लगभग बन्द छन् । निर्यात ठप्प हुँदा नेपाली व्यापारी पाँच वर्षदेखि मारमा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।  

भूकम्पअघि नै नेपाली तथा चिनियाँ व्यापारीले लगानी गरेर बनाइएका हस्तकलाका विभिन्न सामग्री बौद्धको तिनचुली र पाटन क्षेत्रमा अलपत्र अवस्थामा छन् । हवाईजहाजबाट ल्हासा पुर्‍याउन एक किलो सामानको १.२० डलर ढुवानी भाडा लाग्छ । सोही परिमाणको सामग्री स्थलमार्गबाट ल्हासा पुर्‍याउन १ युयान अर्थात् नेपाली १७ रुपैयाँ मात्रै लाग्छ । ढुवानी भाडा महँगो पर्ने भएकाले काठमाडौंमा थुप्रिएका सामान चीन पठाउन नसकेको चिनियाँ व्यापारी बताउँछन् ।

महामारीबीच नेपालबाहेक अन्य मुलुकबाट चीनले सामान आयात गरिरहेको छ । तर, तिब्बतमा रहेको एउटा ताल फुट्ने जोखिम रहेको भन्दै चिनियाँ पक्षले तातोपानी नाका सुचारु गर्न आनाकानी गरिरहेका थिए । तर, नेपालबाट यसपटक तातोपानी नाका खुला गर्न राखेको प्रस्तावमा चिनियाँ अधिकारी सकारात्मक छन् । चिनियाँ अधिकारीले न्यालममा रहेको तालको निरीक्षण भइरहने र विपद् पर्दा तुरुन्तै नेपाललाई जानकारी दिने बताएका छन् ।