१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मुना कुँवर काठमाडौ‌ं
२०७७ असोज १७ शनिबार १४:३०:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

संकटमा सहकारीको सहयोग

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौ‌ं
२०७७ असोज १७ शनिबार १४:३०:००

कोरोना संक्रमणको समयमा सहकारी संस्थाहरूले सदस्यहरूका लागि घरदैलोदेखि अनलाइन सेवासमेत सञ्चालन गरेका छन् । संक्रमणका कारण सदस्यहरूको सहकारी पहुँच हुन नसक्ने भएपछि सहकारी आफैँले सहज सेवा सञ्चालन गरेका हुन् । 

महामारीको समयमा सहकारी संस्थाहरूले सदस्य, संस्था र समुदायमा पर्न सक्ने समस्यालाई मध्यनजर गरी विभिन्न खालका सहज कार्यक्रम सञ्चालन गरेको बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेलले बताए ।

विपतकाे समयमा सहकारी संस्थाले बैंकहरूले भन्दा राम्रो भूमिका निर्वाह गरेको उनले बताए । महामारीको जोखिमका कारण अन्य वित्तीय संस्थाहरूले उचित सेवा प्रदान गर्न नसकेको समयमा सहकारी संस्थाहरूले घरदैलो कार्यक्रमसमेत सञ्चालन गरेको उनले दाबी गरे । 

संक्रमणका समयमा सहकारीले आफ्ना सदस्यलाई मानसिक तथा आर्थिक राहत प्रदान गरेको ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले बताए । ‘हामीले खातामा बचत नभएका, तर खानसमेत नपाएका सदस्यलाई २० देखि ५० हजार रुपैयाँसम्म कर्जा उपलब्ध गरायौँ,’ उनले भने । 

सदस्य, संस्था र समुदायका लागि सहकारीले चलाए राहत योजना

कोरोना संक्रमणको समयमा सहकारी संस्थाहरूले सदस्य, संस्था र समुदायमा पर्न सक्ने असरलाई अध्ययन गरी विभिन्न तीन तहको कार्यक्रम सञ्चालन गरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेलले बताए । 

सहकारीले संकटका वेला सदस्यहरूलाई पर्न सक्ने मनोवैज्ञानिक र आर्थिक समस्या सामाधान गर्न परामर्श तथा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । ‘सबैभन्दा पहिला सहकारी सदस्यमा महामारीको प्रभाव पर्ने देखियो । त्यो पनि दुईखालको । एउटा मानसिक र अर्को भनेको आर्थिक अभाव,’ उनले भने । त्यसैले मानसिक समस्या समाधानका लागि सदस्यको घरघरमा नै पुगेर मनोवैज्ञानिक परामर्श दिने, वेविनारमार्फत उत्साह जगाउने र कोरोनाको विषयमा चेतना जगाउने काम गरेको उनले बताए।

त्यस्तै, सदस्यलाई आर्थिक सहयोग र सहकारीमा सहज पहुँचको लागि संघले महामारी कोभिड– १९ मा सहकारी सेवा व्यवस्थापनसम्बन्धी मागदर्शन २०७६ नै जारी गर्‍याे ।

जसमा सहकारी संस्थाले तीनजना सदस्य रहने गरी जोखिम व्यवस्थापन कार्यदल गठन गर्नैपर्ने, सञ्चारमाध्यमबाट सम्पर्क व्यक्तिद्वारा व्यक्तिदेखि व्यक्तिसम्म वित्तीय सेवा प्रवाह प्रणाली सञ्चालन गर्ने, सदस्य काउन्टरमा पुग्नुअगावै सेवा दिन सकिने विधिमार्फत अत्यावश्यक वित्तीय सेवा प्रदान गर्ने, सुरक्षित घरदैलो सेवा सञ्चालन प्रणाली अपनाउने, ड्रप बक्समार्फत सेवा प्रवाह गर्ने, रिमोट भुक्तानी पुर्जामार्फत बचत तथा भुक्तानी प्रणालीजस्ता वैकल्पिक विधिहरू विकास तथा उपयोग गरी अत्यावश्यक वित्तीय सेवाहरू सुनिश्चित गर्नेलगायतका व्यवस्था गरेको संघका अध्यक्ष पौडेलले बताए ।

त्यस्तै, संघले मार्गदर्शनमार्फत सहकारीहरूलाई सम्पर्क व्यक्ति तोक्ने, बचत तथा लगानीमा रहेको ब्याजदर यथावत् कायम गर्ने, बन्दाबन्दी सकिएपछिको एक महिनासम्ममा हर्जना नलिने, बन्दाबन्दी समाप्त भएको मितिबाट अधिकतम ६ महिनासम्म ऋणको अन्तिम भुक्तानी अवधि थप गर्ने, प्रविधिमा आधारित भुक्तानी सीमा वृद्धि तथा शुल्क छुट गर्ने व्यवस्था गर्नसमेत निर्देशन गरेको थियो । 

त्यस्तै, दोस्रो चरणमा महामारीले सहकारी संस्थालाई नै प्रभाव पार्ने देखियो । त्यसैले संस्थाको सुरक्षाका लागि पनि विभिन्न विकल्प अपनाइएको संघका अध्यक्ष पौडेलले बताए । ‘संस्थामा पहिलो लाइनमा बसेर काम गर्ने कर्मचारीको सुरक्षाका लागि हामीले सबै खालका स्वास्थ्य सामग्री उपलब्ध गरायौँ । त्यस्तै, संस्थामा तरलताको समस्या हुन सक्ने आकलन गरी विभिन्न विकल्पसमेत अपनायौँ,’ उनले भने ।

संक्रमणको समयमा संघले सहकारी संस्थाहरूलाई एक वर्षभन्दा बढीको कर्जालाई निरुत्साहित गराउन निर्देशन दिनुका साथै लगानी गर्दा प्रतिव्यक्ति प्राथमिक पुँजीको कोषको ५ प्रतिशतमा नबढ्ने र कम्तीमा २५ प्रतिशत तरलता सुनिश्चित गरेर मात्रै ऋण कर्जा गर्न संघले मार्गदर्शनमा व्यवस्था गर्‍यो ।

साथै न्यूनतम बचत फिर्ताको सीमा तोक्ने, बन्दाबन्दी समाप्त भएको ६ महिनासम्म ऋणको किस्ता र ब्याज भुक्तानी प्राप्त नभए पनि सो ऋणको जोखिम व्यवस्था गर्नु नपर्ने व्यवस्थासमेत गरिएको संघका अध्यक्ष पौडेलले बताए । 

तेस्रो चरणमा समुदायस्तरमा पनि कोरोना संक्रमणको प्रभाव पर्ने भएकाले संघले सहकारी संस्थालाई आफ्नो संस्थाको रणनीति र कार्ययोजना पेस गर्न निर्देशन दिइएको संघका अध्यक्ष पौडेलले बताए । संस्थाहरूले असोज ६ देखि १० गतेभित्रमा आफ्नो योजना संघमा बुझाइसक्नुपर्नेछ । 

विपतमा व्यवस्थापन कोष खडा गर्दै संघहरू 

महामारीको समयमा सहकारी संस्थाहरूमा तरलता अभाव हुने देखिएपछि सहकारी संघहरूले व्यवस्थापन कोष खडा गरी सहयोग गर्दै आएका छन् । बचत तथा ऋण केन्द्रीय सहकारी संघले विपतको समयमा आफ्ना सदस्य संस्थाहरूलाई सहयोग गर्न एक अर्ब १० करोडको राहत कोष स्थापना गरेको छ ।

सहकारी संस्थामा तरलता अभाव हुन सक्ने अनुमान गरी संघले सो कोष खडा गरेको संघका अध्यक्ष पौडेलले बताए । उनका अनुसार कोषबाट सहकारी संस्थाहरूले ५० करोड कर्जासमेत लिइसकेका छन् । त्यस्तै, नेपाल राष्ट्रिय सहकारी बैंकले पनि एक अर्ब रुपैयाँको कोष खडा गरेको छ ।

प्रारम्भिक सहकारी संस्थाहरूलाई तरलता अभाव हुन सक्ने भन्दै सहयोगका लागि कोष बनाइएको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । त्यस्तै, काठमाडौं बहुउद्देश्यीय सहकारी संघ र जिल्ला सहकारी संघ काठमाडौंले समेत व्यवस्थापन कोष खडा गरी सहयोग गर्दै आएका छन् । 

महामारीले सहकारी संस्थामा तरलता अभाव हुने अनुमान गरिए पनि अपेक्षित रूपमा सहकारीमा तरलता अभाव नभएको ललितपुर जिल्ला संघका अध्यक्ष माधव दुलालले बताए । बन्दाबन्दी खुलेपछि धेरै सहकारी डुब्ने धेरैको अनुमान थियो । तर, अनुमान गरिएभन्दा फरक परिणाम निस्किएको उनले बताए । ‘वास्तवमा विपतमा सहकारी नै सहयोग हुने रहेछ भन्ने प्रमाण हो यो । अहिले पनि सहकारीका तरलता बढेको छ,’ उनले भने । 

सहकारी संस्थाहरूमा साढे तीन खर्ब निक्षेप परिचालन

सहकारी संस्थाहरूको निक्षेप तीन खर्ब ५० अर्ब पुगेको छ । चालू आवको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७६/७७ को फागुनसम्म सहकारी क्षेत्रमा तीन खर्ब ५० अर्ब ५८ करोड बचत परिचालन भएको छ । आर्थिक वर्ष ०७५/७६ सोही अवधिमा सहकारीको तीन खर्ब ४५ अर्ब ५४ करोड बचत परिचालन भएको थियो । 

त्यस्तै आर्थिक वर्ष ०७६/७७ को फागुनसम्म सहकारी क्षेत्रमा तीन खर्ब ४१ अर्ब ७१ करोड ऋण परिचालन भएको छ । एक वर्षको अवधिमा चार अर्ब ऋण परिचालन बढेको छ । हाल नेपालमा ३५ हजार सहकारी दर्ता भएकोमा १४ हजार बचत तथा ऋण सहकारी छन । जसमध्ये करिब तीन हजार आठ सय ४५ बचत तथा ऋण सहकारी संस्था छन् ।