मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जनार्दन बराल काठमाडौं
विजयराज खनाल काठमाडौं
२०७७ असोज १७ शनिबार ०९:५३:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारुमा आयात गर्दा दोहोरो घाटा : डलर बेचेर भारु किन्दा पाँच वर्षमा डेढ खर्ब गुम्यो, सामान पनि महँगो

Read Time : > 3 मिनेट
२०७७ असोज १७ शनिबार ०९:५३:००

राष्ट्र बैंकले पाँच वर्षमा २३ खर्ब ८० अर्ब रुपैयाँबराबरको डलर बिक्री गरी, जम्मा २२ खर्ब १७ अर्ब रुपैयाँबराबरको भारु मात्रै खरिद, आयातमा ५ प्रतिशत सहुलियत पनि पाइएन

भारतबाट भारतीय मुद्रामा वस्तु आयात गर्दा नेपालले वर्षौँदेखि खर्बौँ रुपैयाँ घाटा व्यहोरिरहेको छ । मुलुकमा पर्याप्त भारतीय मुद्राको सञ्चिति नहुँदा नेपाल राष्ट्र बैंकले हरेक वर्ष अमेरिकी डलर बेचेर भारु खरिद गर्छ । विनिमयदरमा हुने फरकका कारण मुलुकले बर्सेनि अर्बौँ रुपैयाँ गुमाइरहेको छ । पछिल्लो ५ वर्षमा डलर र भारुको मूल्यअन्तरका कारण मुलुकलाई १ खर्ब ६२ अर्ब रुपैयाँ घाटा भएको छ । त्यस्तै, भारतले अमेरिकी डलरमा हुने निर्यातमा ५ प्रतिशत सहुलियत दिन्छ । तर, भारतीय मुद्रामा आयात गर्दा त्यो सहुलियत नपाइने हुनाले भारतीय सामान महँगोमा किन्नुपरिरहेको छ ।

नेपाल राष्ट्र बैंकले पाँच वर्षमा २० अर्ब डलर बिक्री गरेर सवा १३ खर्ब ८६ अर्ब भारु खरिद गरेको छ । अर्थात्, राष्ट्र बैंकले हालको विनिमय दरअनुसार २३ खर्ब ८० अर्ब रुपैयाँबराबरको डलर बिक्री गर्‍यो, तर त्यसबाट जम्मा २२ खर्ब १७ अर्ब रुपैयाँबराबरको भारु मात्रै खरिद गर्न सकियो । यसरी विनिमयदरको अन्तरका कारण मात्रै मुलुकलाई पाँच वर्षमा १ खर्ब ६२ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको छ ।

‘अमेरिकी डलरमा सामान आयात गर्दा मुलुकलाई फाइदा हुन्छ, भारतले दिने सहुलियतका कारण आयात सस्तो हुन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका पारवहन समितिका सभापति अशोककुमार टेमानीले भने, ‘तर, मूल्यवान् डलर बेची–बेची भारतीय मुद्रा किन्ने, त्यसमाथि आयात नै महँगो हुने स्थितिलाई सरकारले किन प्रोत्साहन गरिरहेको छ, बुझ्न सकिएको छैन ।’ 

भारतले डलरमा हुने निर्यातलाई प्रोत्साहन गर्न औसत ५ प्रतिशतका दरले निर्यात सहुलियत दिने गरे पनि भारुमा हुने निर्यातलाई वास्तवमा निर्यात नै मान्दैन । भारुमा निर्यात गर्दा विदेशी मुद्रा आर्जन नहुने हुँदा उसले आन्तरिक बजारमा बिक्री गरेकै श्रेणीमा राखी सहुलियत नदिने गरेको हो । तर, नेपाल सरकारले भने भारुमा नै आयातलाई प्रोत्साहित गरिरहेको छ । ‘सरकारले डलरमा आयात गर्न पाउने वस्तुको सूची बनाइदिएको छ, भारुमा जे पनि आयात गर्न पाइन्छ,’ टेमानीले  भने, ‘यो सरकारको उल्टो नीति भयो, जुन मुद्रामा आयात गरे पनि हुने नीति बनाइनुपर्छ ।’

यो पाँच वर्षमा भारतबाट ३१ खर्ब ९८ करोड रुपैयाँबराबरको सामान आयात भएकोमा २६ खर्ब ३२ अर्ब रुपैयाँबराबरको आयात भारु तिरेर भएको छ । जम्मा ५ खर्ब ६६ अर्ब रुपैयाँबराबरको सामान मात्र डलरमै भुक्तानी दिएर किनिएको हो । मुलुकमा भएको भारु सञ्चितिले भारतीय मुद्रामा हुने आयात धान्न नसकिने भएकाले राष्ट्र बैंकले हरेक वर्ष डलर बिक्री गरी भारु खरिद गर्दै आएको छ । भारतबाट आयात हुनेमध्ये १ सय ३५ वस्तुको भुक्तानी मात्रै डलरमा गर्न सकिने सुविधा राष्ट्र बैंकले लिएको छ । 

डलर बेचेर भारु खरिद गरी त्यो रकम पुनः भारतलाई नै तिर्न प्रयोग गर्दा दोहोरो घाटा भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट स्वीकार गर्छन् । ‘मुलुकमा भारतीय मुद्रा आम्दानी हुने स्रोत बलियो नभएको, तर वैदेशिक रोजगारीमा जानेहरूका कारण रेमिट्यान्सका रूपमा डलर आम्दानी उच्च भएकाले डलर बेची भारु किनेरै आयात गर्ने गरिएको हो,’ उनले भने । अहिले भारु कम हुँदा सबै सामान भारुमा किन्न थालियो भने भोलिका दिनमा भारुको सञ्चिति बढ्यो भने त्यसको उपयोग गरी सामान आयात गर्न नसकिने हो कि भनेर पनि यो नीति कायमै राखेको उनले बताए । ‘२०–२५ वर्षअघि हामीसँग भारुको सञ्चिति बढी भएर भारतीय बैंकमा निक्षेप राख्नुपर्ने स्थिति थियो, भोलि यस्तै स्थिति आउला, तर भारत डलरबाट आइसीमा फर्कन मानेन भने समस्या होला भन्ने पनि सोचिएको छ,’ उनले भने । भारतीय मुद्रा अपरिवर्तीय मुद्रा नै हो । अन्य मुलुकलाई भुक्तानी गर्न भारुको प्रयोग नहुने भएकाले त्यसलाई उपयोग गर्नसमेत आयातमा भारुलाई प्रयोग गर्ने गरिन्छ ।   

‘भारतले डलरमा वस्तु आयात गर्दा व्यवसायीहरूलाई सहुलियत दिने गर्दै आएको छ,’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने, ‘व्यवसायीहरूले मागका आधारमा डलरमा आयात गर्ने वस्तुको सूची थपिँदै आएको छ ।’ गत आर्थिक वर्षमा भारतबाट ५ खर्ब ८८ अर्ब रुपैयाँबराबरको सामान भारुमा र १ खर्ब ७२ अर्ब रुपैयाँबराबरको सामान डलर तिरेर आयात गरिएको थियो । 

लकडाउनमा पनि खासै घटेन भारु खरिद 

लकडाउन र निषेधाज्ञाकै बीच भारतबाट सामान आयात गर्न १ अर्ब ३६ करोड डलर अर्थात् १ खर्ब ५५ अर्ब रुपैयाँ (प्रतिडलर औसत १ सय १४ रुपैयाँका आधारमा) तिरेर भारु किनिएको छ । चैत २०७६ देखि साउन ०७७ सम्मको पाँच महिनाको अवधिमा यसरी भारु खरिद गरिएको हो । प्रतिडलर ७४ दशमलव ६८ भारुदेखि ७६ दशमलव ३२ भारु विनिमय दर रहने गरी कुल १ खर्ब २ अर्ब भारु खरिद गरिएको हो । अघिल्लोपटकको तुलनामा यसपटक भारतीय मुद्रा प्रतिडलर ६ भारुले सस्तो भएका कारण नेपाललाई यस अवधिमा गत वर्षको तुलनामा ८ अर्ब २२ करोड नाफा भएको छ । अघिल्लोपटक पनि यही पाँच महिनाको अवधिमा प्रतिडलर ६९ भारुदेखि ६९ दशमलव ६५ भारु विनिमय दर रहेको थियो । 

चैत २०७५ देखि साउन ०७६ को तुलनामा यसपटक भने भारु खरिद गर्न केही डलर कम खर्चिएको हो । ४८ करोड डलर (करिब ५४ अर्ब) रुपैयाँ कम खर्चिएको हो । विनिमय दर बलियो हुँदा र आयातसमेत घटेका कारण पनि कम डलर खर्च भएको हो । समीक्षा गरिएको पाँच महिनाको अवधिमा अघिल्लोपटक भने १ अर्ब ८४ करोड डलर खर्चिएर १ खर्ब २७ अर्ब भारु खरिद गरिएको थियो । 

उच्च मुद्रा सञ्चिति

लकडाउन र त्यसअघि कतिपय वस्तुको आयातमा गरिएको सरकारी कडाइले आयात केही घटेको छ । आयातमा कम डलर खर्चिनुपरिरहेकाले पनि मुलुकको वैदेशिक मुद्राको सञ्चिति हालसम्मकै उच्च भएको छ । हाल वैदेशिक मुद्राको सञ्चिति १४ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । यो सञ्चितिले १५ महिना ६ दिनको वस्तु तथा सेवाको आयात धान्ने अवस्था छ । केही समयअघिसम्म विदेशी मुद्रा सञ्चिति घटेपछि राष्ट्र बैंकले विदेशी मुद्राले कम्तीमा सात महिनाको वस्तु तथा आयात धान्ने भए पनि पर्याप्त हुने उल्लेख गरेको थियो । यसअघिसम्म आठ महिनालाई आधार मानिँदै आएकोमा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएपछि यस्तो उल्लेख गरिएको थियो । 

पूर्ववत् रूपमा आयात हुन थालेमा भने हाल विदेशी मुद्राको सञ्चितिले १५ महिनाकै वस्तु तथा सेवाको आयात भने धान्ने छैन । ‘हो, आयातको पछिल्लो तथ्यांकका आधारमा सञ्चितिले धान्ने अवधिको हिसाब निकालिएको हुन्छ,’ कार्यकारी निर्देशक डा. भट्टले भने, ‘त्यसैले धेरै अवधि धान्ने देखिएको हो, यो केही घट्ला । तैपनि, हामी सुविधाजनक अवस्थामा भने हुन्छौँ ।’

लकडाउनअघिकै दरमा आयात हुँदा भने वार्षिक आयात १ खर्बसम्म बढ्ने देखिन्छ । अघिल्लो आव ०७५/७६ मा कुल १४ खर्ब १८ अर्बको आयात हुँदा गत आवमा भने कुल ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात भएको थियो ।