Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १७ शनिबार ०८:०९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रोहितको पाँच हजार रन पूरा

Read Time : > 1 मिनेट
२०७७ असोज १७ शनिबार ०८:०९:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) युएईका विभिन्न तीन सहरमा सञ्चालन भइरहेका छन् । ब्याट्सम्यान र बलरबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म दुई शतक मात्र बनेका छन् । प्रत्येक खेलमा केही न केही रेकर्ड बनिरहेका छन् । यसैबीच मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले आइपिएलमा पाँच हजार रन पूरा गर्न सफल भए । 

बिहीबार राति रोहितले किंग्स ११ पन्जाबविरुद्ध ७० रनको इनिङ्स खेल्दै पाँच हजार रन पूरा गरेका हुन् । किंग्स ११ माथि ४८ रनको जित निकाल्दा रोहितले ४५ बलमा आठ चौका र तीन छक्का प्रहार गरेका हुन् । आइपिएलमा अहिलेसम्म पाँच हजार रन पूरा गर्ने केवल तीन ब्याट्सम्यान मात्र छन् । संयोगले यी तीनजना ब्याट्सम्यान नै भारतीय हुन् । रोहितले १ सय ९२ खेलमा पाँच हजार ६८ रन जोडेका छन् । उनले १ सय ८७ इनिङ्समा एक शतक तथा ३८ अर्धशतक लगाएका छन् । 

यसैगरी उनले ४ सय ४४ चौका र २ सय ४ छक्का प्रहार गरेका छन् । यो सूचीमा रोयल्स च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् । चालू आइपिएलमा विराटको ब्याटिङ प्रदर्शन खराब छ । उनले १ सय ८० खेलमा पाँच हजार चार सय ३० रन जोडेका छन् । विराटले आइपिएलमा पाँच शतकीय इनिङ्स खेल्दा ३६ अर्धशतक ठोके । यसैगरी विराटले ४ सय ८० चौका र १ सय ९० छक्का प्रहार गरेका छन् । 

दोस्रो स्थानमा चेन्नई सुपर किंग्सका सुरेश रैना छन् । रैनाले १ सय ९३ खेलमा पाँच हजार तीन सय ६८ रन जोडेका छन् । चालू लिगमा रैनाले प्रतिस्पर्धा गरेका छैनन् । रैनाले आइपिएलमा एक शतक जमाउँदा ३८ अर्धशतक ठोकेका छन् । उनले ४ सय ९३ चौका र १ सय ९४ छक्का प्रहार गरे । आइपिएलमा पाँच हजार रननजिक सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर छन् । उनले १ सय २९ खेलबाट चार हजार सात सय ९३ रन बटुलेका छन् । वार्नरले आइपिएलमा चार शतकीय इनिङ्स खेलेका छन् । 

उनले सर्वाधिक ४४ अर्धशतक लगाएका छन् । यसैगरी वार्नरले ४ सय ६४ चौका र १ सय ८४ छक्का प्रहार गरे । आइपिएलमा पाँचौँ सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिखर धवन हुन् । शिखरले १ सय ६२ खेलमा चार हजार ६ सय ४८ रन बनाएका छन् । बैंग्लोरका एबी डी भिलियर्स चार हजार पाँच सय २९ रनका साथ छैटौँ स्थानमा छन् । आइपिएलमा सर्वाधिक ६ शतक लगाएका क्रिस गेल सातौँ स्थानमा रहे । किंग्स ११ का खेलाडी गेलले चालू आइपिएलमा मौका पाएका छैनन् । 

उनले १ सय २५ खेलमा चार हजार चार सय ८४ रन जोडेका छन् । यसक्रममा उनले २८ अर्धशतक लगाए । उनले आइपिएलमा सर्वाधिक ३ सय २६ छक्का र तीन सय ६९ चौका हिर्काएका छन् । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले चार हजार चार सय ७६ रन जोडेका छन् । उनले २३ अर्धशतकीय इनिङ्स खेल्दा २ सय ९९ चौका र २ सय १२ छक्का लगाएका छन् ।