१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १५ बिहीबार १४:४७:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुधारिएको गोठ र खोर निर्माण गर्न किसानलाई आर्थिक सहयोग 

Read Time : > 1 मिनेट
२०७७ असोज १५ बिहीबार १४:४७:००

घुमन्ते गोठ प्रचलनलाई अन्त्य गर्न सुधारिएको गोठ र व्यवस्थित खोर निर्माण गर्न  किसानलाई प्रतिपरिवार पाँच हजार रुपैयाँ वितरण गरिएको छ । 

लगातार गोठ सार्दा खेतीयोग्य जमिनमा पर्याप्त मलजल नहुने र कृषि उत्पादनमा कमी हुने भएपछि किसानलाई सुधारिएको गोठ र व्यवस्थित खोर निर्माणका लागि नगद अनुदान दिइएको हो । 

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १, ५ र ६ का छनोटमा परेका ९० जना किसानलाई नगद अनुदान दिइएको छ । कालिञ्चोक गाउँपालिकासँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाले गोठ र खोर निर्माण सम्पन्न भएपछि किसानलाई नगद रकम उपलब्ध गराएको नामसालिङका जिल्ला संयोजक राजन केसीले जानकारी दिए । 

उनका अनुसार कुखुराको खोर मात्रै बनाउने किसानलाई नगद  दुई हजार पाँच सय र गाई–भैँसीको गोठसहित बाख्राको खोर बनाउने किसानलाई पाँच हजार रकम उपलब्ध गराइएको छ । त्यसरी गोठ र खोर निर्माण गरी नगद सहयोग लिने किसान वडा नम्बर १ का ६० जना र वडा नम्बर ५ र ६ का ३० जना रहेको नामसालिङले जनाएको छ । 

सुधारिएको गोठ निर्माण भएपछि गोठ सार्ने समस्या समाधान भएको कालिञ्चोक– १ का राजेन थामीले बताएका छन् । जीविकोपार्जनका लागि कुखुरापालन गर्ने कृषकले समेत व्यवस्थित खोर बनाउन  दुई हजार पाँच सय सहयोग पाएका छन् । 

घुमन्ते गोठ सार्ने चलन अन्त्य हुने विश्वास 

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले घुमन्ते गोठ सार्ने पद्धतिले अन्न उत्पादन कम हुनुका साथै अन्य दर्जनौँ समस्या आउने भएकाले उक्त पद्धतिको अन्त्य हुने बताएका छन् । 

अध्यक्ष थामीले गाउँपालिकाको अभियानअन्तर्गत नै उक्त संस्थाले कृषकलाई सघाएको बताउँदै आगामी दिनमा पर्याप्त मल र धेरै उत्पादन गर्न किसानलाई गाउँपालिकाले थप सहयोग गर्दै जाने कार्यक्रम रहेको बताएका छन् । 

दुर्गमका किसानको थोरै जमिन हुने र त्यो भौगोलिक हिसाबले टाढाटाढा हुने भएकाले लगातार एउटा बारीबाट अर्को बारीमा गोठ सार्ने चलन छ । 

त्यसरी गोठ सारिरहनुपर्ने बाध्यताका कारण पशुपालन व्यवसायले पनि पर्याप्त आम्दानी नदिने र कृषि उत्पादनमा पनि कमी आउने भएकाले आफूहरूले किसानलाई हौसलाका लागि पनि उक्त कार्यक्रम सञ्चालन गरेको नामसालिङका जिल्ला संयोजक राजन केसीले बताएका छन् । 

उनले गत आर्थिक वर्ष र चालूमा गरी झन्डै तीन सय गोठ निर्माण गरिएकोसमेत जनाएका छन् ।  अहिले निर्माण भएका अधिकांश गोठ तथा खोरहरू मलमूत्र व्यवस्थित हुने गरी निर्माण भएका छन् । 

कृषकहरूले पिसाबलाई फरक तरिकाले मलका रूपमा सदुपयोग गर्न मिल्ने बनाइएको छ । नामसालिङले वर्षौंदेखि कालिञ्चोकका तीनवटा वडामा कृषिसँग सम्बन्धित विभिन्न कामहरू गर्दै आएको छ । प्रत्येक वडामा कृषि प्राविधिकहरू नियुक्त गरी किसानलाई प्रत्यक्ष सहयोग पुग्ने गरी काम गर्दै आएको स्थानीयले जनाएका छन् ।