१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असोज १५ बिहीबार १२:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको मोरङ कारागारका दुईजनामा कोरोना संक्रमण  

Read Time : > 1 मिनेट
२०७७ असोज १५ बिहीबार १२:५८:००

क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको मोरङ कारागारका दुईजनमा कोरोना देखिएको छ । पिसिआर परीक्षण गराउँदा १४ असोजमा दुईजना बन्दीमा कोरोना पुष्टि भएको थियो ।

मोरङ कारागारका जेलर सुवास  लामिछानेका अनुसार एकजनाको मृत्युपछि र एकजनाको जेलभित्रै पिसिआर परीक्षण गराउँदा  कोरोना पोजेटिभ पाइएको  थियो । 

लागुऔषध कसुरमा १० महिनादेखि पुर्पक्षका लागि थुनामा रहेका सुनसरीका २७ वर्षीय पुरुषको मृत्युपछि १४ असोजमा कोरोना पृष्टि भएको हो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ पाइएको थियो । उपचारकै क्रममा उनको अस्पतालमा बुधबार मृत्यु भएको थियो । 

जेलभित्रै अर्का एकजना फाैजदारी कसुरकै बन्दीलाई पनि शंकास्पद लागेर परीक्षण गराउँदा कोरोना पुष्टि भएको छ । जेलर लामिछानेले दुईजना बन्दीमा कोरोना देखिएपछि सँगै बस्ने एक सयजनाको पिसिआर परीक्षण गरिँदै छ । 

तीन सयजनाको क्षमता भएको कारागारमा महिला र पुरुष गरी नौ सय २२ जना कैदीबन्दी राखिएको छ । काेचाकाेच गरेर कैदीबन्दी राखिएकाे कारागारका दुईजनामा कोरोना देखिएपछि संक्रमण फैलने जोखिम बढेको छ ।

५० जना क्षमता भएको महिला कारागारमा ४६ कैदी र ३५ जना बन्दी छन् । दुई सय ५० जना क्षमता भएको पुरुष कारागारमा चार सय ९४ जना कैदी र तीन सय ४८ बन्दी छन । जसमध्ये ४९ जना भारतीय १० जना भुटानी नागरिक छन् । 

क्षमताभन्दा बढी कैदीबन्दी भएकाले एकजनामा संक्रमण देखिँदा अरूमा पनि फैलने खतराले गर्दा कैदीबन्दी त्रासमा छन् । कारागारका चौकीदार नवीन राईले दुईजनामा कोरोना संक्रमण भएपछि जेलभित्रको आन्तरिक सुरक्षामा अझै उच्च सतर्कता बढाइएको जानकारी दिए । आफन्त भेटघाट, जनचेतना जगाउने, हातधुने साबुन उपलब्ध गराउनेलगायतका काम भएको उनले बताए । 

बाहिर उपचार र अदालतमा जाँदा मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको थियो । जेलभित्र लगिने खाद्यान्न पनि एक दिन स्टोर गरेर मात्र प्रयोग गर्ने र नियमित ज्वरो जाँच्ने गर्दा पनि कारागारमा कोरोना संक्रमण प्रवेश गरेको जेलर लामिछाने बताउँछन् ।

कारागारमा संक्रमण फैलिएमा जोगिने पूर्वतयारी भने खासै छैन । जेलभित्र कोठा र भवनहरूको अभाव भएकोले अलग्गै क्वारेन्टिन र आइसोलेसन बनाउन सम्भव छैन । 

कोभिड रोकथामका लागि कारागारमा कतैबाट अतिरिक्त बजेट आएको छैन । नियमित स्वास्थ्य उपचारसम्बन्धी बजेटबाटै सक्दो बन्दोबस्त गरिरहेको जेलर लामिछाने बताउँछन् । प्रदेश सरकारसँग स्यानिटाइजर माग गरे पनि नपाएको उनले बताए । विराटनगर महानगरपालिकाले जेलभित्र बस्ने स्थान निर्माण गर्न पाँच लाखबराबरको सहयोग गरे पनि अन्यत्र कतैबाट सहयोग आएको छैन ।