मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भ्यान बडहाम
२०७७ असोज १५ बिहीबार ०७:३४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अस्ट्रेलियालाई प्रभावित पार्ने प्रयास

Read Time : > 2 मिनेट
भ्यान बडहाम
२०७७ असोज १५ बिहीबार ०७:३४:००

अघिल्लो साता एक चिनियाँ कम्पनीले ३५ हजार प्रतिष्ठित अस्ट्रेलियन नागरिकको तथ्यांक संकलन गरेको विषय खुलासा भयो । कम्पनीको चिनियाँ सरकारको एक मन्त्रालयसँग सम्बन्ध रहेको देखियो । खुलासाअनुसार झेन्हुवा डाटा नामक उक्त कम्पनीले अस्ट्रेलियाका अतिरिक्त विश्वभरबाट कम्तीमा २४ लाख मानिसको तथ्यांक संकलन गरेको छ । ती चीनका लागि विशेष महत्व भएका मानिस भनिएको छ । यस अभियानका क्रममा सामाजिक सञ्जालमा खुला रूपमा पाइने सामग्रीका अतिरिक्त गोप्य ‘बैंक रेकर्ड, रोजगार आवेदन र मनोवैज्ञानिक प्रोफाइल’सम्म संकलन गरिएको छ ।

सुरक्षाविज्ञहरूले यी सूचना राजनीतिक ब्ल्याकमेलिङका लागि प्रयोग हुन सक्ने जोखिम औँल्याएका छन् । तर, राष्ट्रिय रूपमा गोपनीयताको यो स्तरको उल्लंघनको समाचारलाई पनि अस्ट्रेलियन नागरिकले त्यति वास्ता गरेनन् । उपन्यासकार जोन विर्मिङहामले ट्विटरमा यस घटनाबारे व्यंग्य गर्दै लेखे– अस्ट्रेलियन नागरिकमा चिनियाँ कम्पनीको सूचीमा परिएला भनेर डरभन्दा (सूचीमा नभएकाले) प्रतिष्ठित रहेनछु कि भन्ने चिन्ता बढेको छ ।

द अस्ट्रेलियन फाइनान्सियल रिभ्युले पनि यस्तै शीर्षकमा समाचार लेख्यो– ‘यदि तपाईं झेन्हुवाको डाटाबेसमा हुनुहुन्न भने दुःखी नहुनुस् ।’ पत्रपत्रिकाको रिपोर्टअनुसार सूचीमा कम्पनीहरूका निर्देशक, राजनीतिज्ञ, न्यायाधीश, सुरक्षा तथा प्रविधिविज्ञको नाम छ । त्यसबाहेक प्राज्ञ, स्थानीय अपराधी र ९० को दशकका पपस्टार नटाली इम्ब्रुग्लियाको नामसमेत सूचीमा छ । 

तर, अस्ट्रेलियनहरू यस खुलासाले पार्न सक्ने जोखिमबारे पूर्ण अन्जान भएर हाँसोठट्टा गरिरहेका भने होइनन् । अस्ट्रेलियाको राष्ट्रिय प्रसारण संस्था एबिसीको एक समाचारअनुसार झेन्हुवा डाटाको प्रमुख कार्यकारी वाङ सुएफेङले ‘आमधारणालाई प्रभावित गरेर तथा मनोवैज्ञानिक अपरेसनमार्फत ‘हाइब्रिड युद्ध’ प्रवद्र्धन गर्न लागिपरेका छन् ।’

सबैभन्दा चिन्ताको विषय झेन्हुवा डाटाले प्रतिष्ठित नागरिकका बालबालिका, आफन्त तथा श्रीमान्–श्रीमतीको पनि तथ्यांक संकलन गरेको छ । यी सामग्रीबाट अनलाइनमा फेक एकाउन्ट, जाली भिडियो (डिप फेक्स) र झुटो खबर बन्ने सम्भावना छ । तर, यदि चीनको खास उद्देश्य अस्ट्रेलियन नागरिकबाट संकलन भएको सामग्रीको प्रयोग तिनलाई ब्ल्याकमेल गर्ने हो भने अस्टेलियामा त्यो ट्रिक काम लाग्नेछैन । 

हामी अस्ट्रेलियन गल्ती नै नगर्ने पवित्र जीव हौँ भन्न खोजेको होइन । हामी पूर्ण सत्यवादी जीवन मात्र बाँच्दैनौँ र अरूझैँ हामी दैनिक जीवनमा विभिन्न गल्ती पनि गर्छौं । तर, हामीमा अन्यत्रजस्तो लज्जित बनाउने राजनीति छैन । अस्ट्रेलियाली नागरिक आफ्ना राजनीतिक नेता वा सार्वजनिक व्यक्ति नैतिक रूपमा उच्च हुन् भन्ने आस गरिँदैन । यसले अस्ट्रेलियामा सार्वजनिक व्यक्तित्वको निजी जीवनमा त्यति चासो दिइँदैन ।

झेन्हुवा डाटा नामक उक्त कम्पनीले अस्ट्रेलियाका अतिरिक्त विश्वभरबाट कम्तीमा २४ लाख मानिसको तथ्यांक संकलन गरेको छ । ती चीनका लागि विशेष महत्व भएका मानिस भनिएको छ ।
 

सन् १९६० को दशकमा एकजना प्रधानमन्त्री समुद्रमा हराए । त्यस समय उनी आफ्नी गोप्य प्रेमिकासँग थिए । तर, उनको उपस्थिति ऐतिहासिक सन्दर्भमा सीमित छ । त्यस्तै, कम्तीमा दुई प्रधानमन्त्री जँड्याहा थिए । सन् २०१८ मा उपप्रधानमन्त्रीबाट अफेयर्समा रहेकी एक महिला गर्भवती भइन् । तर, ती उपप्रधानमन्त्री कार्यालयमा जनताको करमा काम गरिरहेकी कर्मचारी भएकाले मात्र यो विषयले चर्चा पायो । यो घटनापछि पनि उनी पुनः निर्वाचित भइन् । व्यक्तिगत विषयप्रतिको अरुचि राजनीतिक व्यक्तित्वमा मात्र सीमित छैन ।

सबै लैंगिक व्यक्तिबीच विवाहले स्वीकृति पाउनुभन्दा बीस वर्षअघि नै एक समलिंगी न्यायाधीशलाई जब उनको लैंगिक अभिमुखीकरणलाई लिएर बदनाम गराउने प्रयास भयो, तब न्यायिक क्षेत्रबाट ठूलो विरोध भयो । अस्ट्रेलियामा सम्बन्धविच्छेद, गर्भपतन, यौन गतिविधि, मानसिक रोग, यौनिक अभिव्यक्ति र कुलतजस्ता विषयलाई चुनावी अभियानमा प्रयोग नगर्ने नीति छ । त्यसैले कुनै नेताले व्यक्तिगत संघर्षको कुरा स्विकार्‍यो भने उसले आफ्नो पद गुमाउँदैन । बरु एकथरी विचित्र निर्माताहरू सहानुभूति राख्दै आइपुग्छन् । 

यो क्षमादायी समतावादलाई उँच–नीचयुक्त व्यवस्थाले बुझ्न सक्दैन । विगतमा शरण तथा अवसरका लागि पुस्तादरपुस्ताका आप्रवासी तथा शरणार्थी यो देशमा आए । लामो अवधिमा अस्ट्रेलियाली नागरिकमा ‘सबैसँग सुखी जीवनको अधिकार रहेको विश्वास गड्यो ।’ सुखी जीवनमाथि नै जोखिम पार्ने खालको कुकर्म राजनीतिज्ञबाट भएको छ भन्ने पर्‍यो भने मानिसहरूको अरुचि कायम रहनेछैन । न्यायको माग बढ्नेछ ।

पछिल्लो समय राजनीतिक भ्रष्टाचारले व्यक्तिको करिअर एक दिनमै अन्त्य गरिदिन्छ । त्यसैले चिनियाँ सूचना संकलकले अपराधसम्बन्धी तथ्यांकको संग्रह निर्माण गर्न खोजिरहेका छन् । यदि त्यसो हो भने के कुरा स्मरण गर्नुपर्छ भने अस्ट्रेलियाजस्तो लोकतान्त्रिक मुलुकले निर्माण गरेको निगरानी तथा उत्तरदायित्वपूर्ण पारदर्शी प्रणालीले नै आफ्ना देशका अपराधीलाई दण्डित गर्न सक्छ । अस्ट्रेलियाको लोकतन्त्रले सम्भव बनाएको स्वतन्त्र सञ्चारमाध्यमका पत्रकार तथा अनुसन्धानदाताले चिनियाँ कम्पनीले अनलाइनमार्फत संकलन गरेको तथ्य बाहिर ल्याउनुपर्छ । समुदायले अपराधीलाई खुला गर्ने समाजमा बाह्य एजेन्सीले नाजायज फाइदा उठाउन पाउँदैन । 

चीनले संकलन गरेको सूचनाप्रति अस्ट्रेलियामा यही कारण चिन्ता नदेखिएको हो । किनकि, जसलाई लज्जित बनाउन सकिँदैन, तिनलाई ब्ल्याकमेलिङ गर्न सकिँदैन । पारदर्शी समाजमा गोप्य तथ्यले पनि केही अभर गर्दैन । यसैले ‘सूचनाको युद्ध’को जमानामा उदार लोकतान्त्रिक मुलुकलाई सर्वसत्तावादी राज्यले प्रभाव पार्न सक्दैन । स्वतन्त्र मिडिया, पारदर्शिता, निगरानीको चुस्त प्रणालीले यो सम्भव बनाएको हो । 

भ्यान बडहाम द गार्डियनको अस्ट्रेलियाली संस्करणकी स्तम्भकार हुन् । 
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

"via The New York Times"