१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १५ बिहीबार ०७:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शृंखलाबद्ध बलात्कारका घटनाबारे गृहमन्त्रीको प्रतिक्रिया- हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन

Read Time : > 1 मिनेट
२०७७ असोज १५ बिहीबार ०७:१४:००

दैनिक औसतमा सातजनाको बलात्कार हुँदा पनि गृहमन्त्री रामबहादुर थापाले चिन्ताजनक अवस्था नरहेको बताएका छन् । उनले विकसित मुलुकमा पनि बलात्कार भएको र नेपाल तीभन्दा पछाडि रहेको भन्दै सन्तोष जनाए । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले बलात्कारका घटनामा नेपाल पछाडिबाट हेर्दा शीर्ष १५ भित्र पर्ने तथ्यांक पेस गर्दै धेरै चिन्तित हुनुपर्ने स्थिति नरहेको बताए । 

‘सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन । यसको न्यूनीकरण गर्ने सन्दर्भमा सरकारबाट प्रयास भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छ । भन्नुको अर्थ सवा दुई सयमा हाम्रो स्थान पछाडि आउँछ । पछाडिबाट हेर्दा सायद टप १५ मा हामी छौँ भन्ने विश्लेषणबाट देखिन्छ,’ उनले भने, ‘हामीभन्दा अगाडि विकसित मुलुक छन् । अमेरिकालगायत दक्षिण अफ्रिका सबैभन्दा अगाडि देखिन्छ । अमेरिका पनि टपटेनभित्र पर्छ । तैपनि यो स्थितिलाई बदल्नु जरुरी छ भन्नेमा सरकार स्पष्ट छ र यस्ता घटनालाई न्यूनीकरण गर्न सरकारको तर्फबाट अधिकतम प्रयास भइरहेको छ ।’ 

सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि होइन । हाम्रो स्थान धेरै पछाडि नै छ । भन्नुको अर्थ सवा दुई सयमा हाम्रो स्थान पछाडि आउँछ । पछाडिबाट हेर्दा सायद टप १५ मा हामी छौँ भन्ने विश्लेषणबाट देखिन्छ । हामीभन्दा अगाडि विकसित मुलुक छन् । अमेरिकालगायत दक्षिण अफ्रिका सबैभन्दा अगाडि देखिन्छ । अमेरिका पनि टपटेनभित्र पर्छ ।

गृहमन्त्री थापाले विगतमा दैनिक ६ जना बलात्कृत हुने गरेकोमा अहिले सातजना पुग्नु चुनौती भएको बताए । थापाले भने, ‘पछिल्लो समय बलात्कारका घटना वृद्धि भएको छ । गत वर्ष ६ वरिपरि थियो भने अहिले सातभन्दा बढी पुगेको छ भन्ने कुरा आएको छ । वृद्धि हुनु कुनै सुखद कुरो होइन, यो चुनौतीको कुरा हो । त्यसकारण यसको कसरी हामीले निदान गर्ने, रोकथाम गर्ने भन्ने कुरामा सरकार चिन्तित छ ।’

बलात्कारबारे पनि गृहमन्त्री थापाले आफ्नै सूत्र सुनाए । ‘वैज्ञानिक किसिमले हामीले यसको विश्लेषण गर्दा यसमा दुईवटा आधार हुन्छन् । बलात्कारको घटनामा हेर्दा व्यक्तिको चिन्तन, मनोवृत्ति, संस्कृति र समाजको कानुन, राजनीति, अवस्था, नेतृत्व सबै एउटा पक्ष हो । अर्काे बायोलोजिकल जेनेटिकल हो । त्यसकारण यो दुईवटा कारणबाट समाजमा आपराधिक घटना भएको देखिन्छ,’ गृहमन्त्री थापाको भनाइ थियो । 

कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनालाई जोड्दै उनले अपराधीलाई कठघरामा ल्याउन राज्यबाट ढिलाइ भएको स्विकारे । समिति बैठकमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै उनले भने, ‘अपराधीलाई कानुनको कठघरामा ल्याउन ढिलाइ अवश्य पनि भएको छ । तैपनि निरन्तर रूपमा अपराधीलाई कानुनको कठघरामा ल्याउन लागिरहेकै छौँ । अहिले पनि हामीलाई विश्वास छ– यो प्रयासमा हामी सफल हुन्छौँ ।’