१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १३ मंगलबार १३:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कारागारमा आयोगको द्रुत अनुगमन, अधिकांश कारागार उच्च जोखिममा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १३ मंगलबार १३:०२:००

राष्ट्रिय मानव अधिकार आयोगले १५ जिल्लाका कारागारमा ‘द्रुत अनुगमन’ गरेको छ । कारागारहरूमा संक्रमण बढ्दै गएपछि आयोगले देशभरिका कारागारकाे अनुगमन थालेको हो । आयाेगले अधिकांश कारागारमा सरकारले तोकेकै मापदण्ड लागू नगरिँदा जोखिम उच्च रहेको औँल्याएको छ । 

आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले १२ वटा कारागारको अनुगमन सकाएको छ । पाठक भन्छन्, ‘धेरै कारागारमा आइसोलेसनसमेत बनाएको पाइएन, भवनहरूसमेत जीर्ण छन्, बन्दीहरू उच्च जोखिममा रहेको पाइयो।’ 

पाठकको नेतृत्वमा इलाम, झापा, मोरङ, सुनसरी, सिराहा, रौतहट, पर्सा, रुपन्देही,  बाँके, कैलाली, सुर्खेत, कञ्चनपुरका कारागारको अनुगमन सकिएको छ । त्यस्तै, निर्देशक यज्ञ अधिकारीको टोलीले मकवानपुर, धादिङ र चितवनका कारागारमा अनुगमन सकाएको छ । 

हालसम्म अनुगमन गरिएका १५ कारागारमध्ये पाँचवटा कारागारमा मात्र आइसोलेसनको व्यवस्था गरिएको पाठकले बताए । इलाम, झापा, मोरङ पर्सा, रुपन्देहीका कारागारमा मात्र आइसोलेसन रहेको आयोगले जनाएको छ । अन्यत्र कुनै पूर्वतयारीसमेत गरेका छैनन् । 

‘सबैभन्दा भयाभह अवस्था सिराहा कारागारमा पाइयो,’ पाठक भन्छन्, ‘त्यहाँ पाँच सय ८७ मध्ये ७५ जनाबाहेक सबै संक्रमित छन्, तर, संक्रमितहरू सबै कारागारभित्र छन् भने संक्रमण नभएकाहरूलाई चाहिँ आइसोलेसनमा राखेको पाइयो ।’ 

धेरै कारागारमा भिडभाड रहेकाले एकजनालाई संक्रमण हुँदा धेरेलाई फैलने जोखिम रहेको आयोगले जनाएको छ । जेलभित्र सामाजिक दूरी कायम गर्नै नसकिने अवस्था रहेकाले सरकारले विशेष व्यवस्था गर्नुपर्ने पाठकको भनाइ छ ।  

आयोगले २० दिनमा २७ जिल्लाका कारागारको अनुगमन गर्ने निर्णयअनुसार अनुगमन जारी राखेको छ । केही दिनअघि आयोगले कैदीबन्दीको स्वास्थ्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको थियो ।