मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुनीता गाइसी
२०७७ असोज १२ सोमबार १६:४३:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

कोरोना महामारीको मारमा गर्भवती महिला

Read Time : > 2 मिनेट
सुनीता गाइसी
२०७७ असोज १२ सोमबार १६:४३:००

कोरोनाको महामारीले सबैलाई नराम्रोसँग गाँजेको छ । युवा, बालक, वृद्धवृद्धा सबै नै प्रभावित भएका छन् । अचानक आइलागेको अहिलेको विषम परिस्थितिले गर्भवती महिलाहरूलाई त्रसित मात्रै बनाइरहेको छैन, कतिपयको जीवन नै खतरामा पारेको छ । गर्भावस्थालाई निकै नै जोखिमपूर्ण अवस्था मानिन्छ । यो अवधिमा स–साना समस्या र गल्तीले पनि आमा र बच्चा दुवैको ज्यान जान सक्छ । त्यसैले त बच्चा जन्माउनु भनेको एउटी महिलाले पुनर्जन्म पाउनु हो भनिएको । यतिखेर गर्भवती महिलाहरू नियमित चेकजाँचका लागि अस्पताल जान पाइरहेका छैनन् । सुत्केरी हुन अस्पताल पुग्न कठिन भएको छ । संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा यो महाव्याधि गर्भवती महिलाका लागि सबैभन्दा ठूलो अभिशाप भएको छ । 

केही वर्षयता नेपालमा मातृमृत्युदर कम हुँदै गएको थियो, तर कोरोना महामारीले पुनः मातृमृत्युदर बढाउँदै गएको छ

लकडाउनपछि गरिएको अध्ययनअनुसार हाल ६० प्रतिशत गर्भवती महिलाले मात्रै आफ्नो नियमित स्वास्थ्य जाँच गराउने गरेका छन् । अन्य ३० प्रतिशत महिला सुत्केरी हुन मात्र अस्पताल जाने गरेको पाइएको छ । नेपाल सरकारले अस्पतालमा सुत्केरी गराएबापत सुत्केरी महिलालाई भौगोलिक क्षेत्रअनुसार हिमालमा १५ सय, पहाडमा एक हजार र तराईमा पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ । तर, कोरोनाको महामारीसँगै अस्पतालमा सुत्केरी गराउने महिलाको संख्या कम हुँदै गएको छ । हाल हरेक जिल्लामा गर्भवती महिलाको मृत्यु हुने दर पनि ह्वात्तै बढेको छ । पछिल्लो समय बारा जिल्लामा दुई महिनाभित्र सातजना सुत्केरी महिलाले ज्यान गुमाएका छन् । तीमध्ये पाँचजनाको घरमै र एकजनाको अस्पताल लैजाँदै गर्दा र एकको अस्पताल पु¥याएपछि मृत्यु भएको थियो । जबकि, गत साल बारा जिल्लामा वर्षभरिमा जम्मा १२ जनाको मात्र मृत्यु भएको थियो । कोरोनाको महामारीपछि लकडाउन र संक्रमणको डरका कारण नियमित चेकजाँचका लागि अस्पताल जाने गर्भवती महिलाको संख्यामा उल्लेख्य कमी आएको हो । जसले गर्दा उनीहरूको स्वास्थ्यमा नकारात्मक असर परेको छ र कतिपय महिला अस्पताल आए पनि निकै ढिलो गरी आएकाले केही गर्न नसकिएको चिकित्सकहरू बताउँदै छन् । 

गाउँ, सहर सबै क्षेत्रका गर्भवती महिला महामारीबाट त्रसित छन् । महामारीपछि आय खस्किँदा उनीहरूको पौष्टिक आहारमा पनि प्रभाव परेको छ । साथै, उनीहरूमाथि हिंसा पनि बढेको छ । आफू सुरक्षित रूपमा बसे पनि अस्पताल जाँदा अरूबाट आफूमा सर्न सक्ने डरले स्वास्थ्य संस्था नजाने गर्भवती महिलाको संख्या ठूलो छ । अस्पताल गए पनि स्वास्थ्यकर्मीले कोरोनाका कारण त्यति राम्रो हेरचाह नगर्ने गुनासो बढ्न थालेको छ । गर्भवती अवस्थामा हरेक पल विभिन्न समस्या आइरहन्छ । त्यसमाथि कोरोना महामारीले केही महिला मानसिक रोगको सिकारसमेत भएका छन्, जसको असर गर्भमा रहेको शिशुलाई समेत पर्न सक्छ । कतिपय गर्भवती महिलालाई बढी मानसिक तनाव हुँदा गर्भमा रहेको शिशुको मृत्युसमेत हुने गरेको छ । केही महिलाले कोरोना महामारीका कारण आर्थिक स्थिति कमजोर भएका कारण एक छाक भात खान नपाएर आत्महत्या गरेका विवरण पनि आइरहेका छन् । गुलरिया नगरपालिका खैरीकी २३ वर्षीया नीलम गोडियाल पाँच महिनाकी गर्भवती थिइन् । उनलाई भात खाने मन थियो, तर घरको आर्थिक अवस्था कमजोर भएकाले उनको त्यो इच्छा पूरा हुन सकेन र उनले आत्महत्या गरिन् । ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको तर लकडाउनका कारण काम गर्न नपाएकाले आफ्नो पाँच महिनाकी गर्भवती श्रीमतीलाई भात खुवाउन नसकेको र उनले आत्महत्या गरेको कुराले ओमकार छटपटाइरहेका छन् । 

यसरी कोरोनाको महामारीले विशेषगरी ज्याला मजदुरी गरेर खाने वर्गका गर्भवती महिलाको अवस्था थप दयनीय बनेको छ । गर्भावस्थामा बढी पोषिलो खानेकुरा खानुपर्ने वेलामा दैनिक सामान्य खाना पनि खान नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । जसले गर्दा विभिन्न सामाजिक समस्या पनि बढ्दै गएको छ । यसै पनि नेपालमा मातृमृत्युदर अरू मुलुकमा भन्दा बढी छ । केही वर्षयता नेपालमा मातृमृत्युदर कम हुँदै गएको थियो, तर कोरोना महामारीले पुनः मातृमृत्युदर बढाउँदै गएको छ । यस्तो वेलामा गर्भवती महिलालाई मानसिक रूपमा स्वस्थ राख्न विभिन्न रचनात्मक सल्लाह र सहयोग आवश्यक हुन्छ । आवश्यक परामर्श केन्द्रहरूको व्यवस्था गरी गर्भवती महिलालाई मनोसामाजिक परामर्श दिनु आवश्यक छ । वास्तवमा एक महिला शिक्षित र स्वस्थ हुनु भनेको परिवार नै शिक्षित र सबल रहनु हो । अहिले गर्भवती महिलाको स्वास्थ्यबारे राज्यले नै चिन्ता गर्नुपर्ने समय हो ।