मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बलात्कारको घटनामा गाउँमा गरिएको सहमतिपत्र
२०७७ असोज १२ सोमबार ००:३२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एउटी बालिका बलात्कारको घटना गाउँमै मिलाएको डेढ महिनामै अर्की बालिकाको बलात्कारपछि हत्या

Read Time : > 1 मिनेट
२०७७ असोज १२ सोमबार ००:३२:००

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रक्राउ परेका राजेन्द्र बोहराले यसअघि पनि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ । त्यो घटना भने गाउँमै मिलाएको पाइएको छ । 

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका ७ असोजमा गाईवस्तुलाई घाँस हाल्न गोठमा गएकी थिइन् । उनी घर नफर्किएपछि खोजबिन गर्दा गाउँकै शिव मन्दिरमा मृत भेटिएकी थिइन् । उनको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरिएको देखिएको छ । 

जिल्ला अस्पतालले पोस्टमार्टम रिपोर्ट बुझाएपछि जिल्ला प्रहरी कार्यालयले यो घटनामा संवेदनशील भएर अनुसन्धान थालेको थियो । हत्याको आरोपमा पक्राउ परेका स्थानीय राजेन्द्र बोहरालाई सोधपुछ गर्दा यसअघि पनि बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राजेन्द्रले पहिलो घटना खुलाएपछि डिएसपी खड्कासहितको टोली शनिबार फेरि घटनास्थल पुगेको थियो । गाउँमा पुगेर अनुसन्धान गर्दा डेढ महिनाअघि पनि १३ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको हो । 

प्रहरीका अनुसार २९ साउनमा गाउँकै अर्की १३ वर्र्षीया बालिकालाई घट्ट पिस्न गएका वेला राजेन्द्रले बलात्कार गरेका थिए । साँझ ५ बजे बालिका घट्ट पिस्न गएकी थिइन् । त्यतिवेला राजेन्द्र घट्टमा एक्लै थिए । उनले त्यहीँ बालिकाको बलात्कार गरेको प्रहरीको भनाइ छ । 

राजेन्द्रका परिवारले घटनाबारे प्रहरीकहाँ उजुरी नदिन आग्रह गरेपछि दुवै पक्षले गुपचुप रूपमा सहमति गरेका थिए । दुवै पक्षबीच ३१ साउनमा सहमति भएको छ । प्रहरीले पाएको सहमतिपत्रमा गर्भ रहन गएमा राजेन्द्रले बालिकाको जिम्मा लिने उल्लेख छ । सहमतिपछि राजेन्द्रले पाँच सय रुपैयाँ राखेर बालिकाको खुट्टा ढोगेर माफी मागेका थिए । 

त्यो सहमति भएको डेढ महिना नपुग्दै फेरि अर्को घटना भएको हो । प्रहरीले त्यो घटनामा पनि राजेन्द्रविरुद्ध उजुरी मागेको छ । आइतबार बालिकाको तर्फबाट आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरिएको डिएसपी खड्काले बताए । 

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा यसअघि नै बालिकाका बाजेले किटानी जाहेरी दिएका छन् । अब दुवै घटनामा अनुसन्धान थालिएको डिएसपी खड्काले बताए । ‘अर्को उजुरी पनि आएको छ । अनुसन्धानका लागि सात दिनको म्याद थप गरेका छौँ,’ डिएसपी खड्काले भने, ‘अब दुवै घटनामा अनुसन्धान गरेर मुद्दा दर्ता गर्छौँ ।’