१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ११ आइतबार १८:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाष्टद्वारा ‘राष्ट्रिय नवप्रवर्तन विद्युतीय सञ्जाल’ सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ११ आइतबार १८:४१:००

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले नवप्रवर्तन प्रवर्द्धनका लागि नयाँ वेबपोर्टल ‘राष्ट्रिय नवप्रवर्तन विद्युतीय सञ्जाल’ सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को प्रतिकार गर्न आवश्यक प्रविधिको विकासममा नवप्रवर्तकहरूको पहिचान, तथ्यांक संकलन र प्रदर्शन गर्न नाष्टले नयाँ वेबपोर्टल सञ्चालन गरेको हो । 

पूर्वविज्ञान तथा प्रविधिमन्त्री इन्जिनियर गणेश शाह र नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले innovationnepal.nast.gov.np अनलाइन पोर्टलको आइतबार उद्घाटन गरे । राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति–२०७६ को भावनाबमोजिम मन्त्रालयले नेपालका नवप्रवर्तनहरूको पहिचान गर्ने, तिनीहरूको अवस्था आकलन र सहयोगका लागि पोर्टल निर्माण गरिएको नाष्टले जनाएको छ । 

‘संमृद्धिका लागि नवप्रवर्तन केन्द्र’को उद्देश्य र कार्यक्रमअनुरूप मन्त्रालयले बनाएको ‘प्रविधि विकास तथा नवप्रवर्तन’नामक विधागत समितिको नेतृत्व तथा रोबोटिक्स एसोसिएसन नेपालको सहयोगमा राष्ट्रिय नवप्रवर्तन विद्युतीय सञ्जाल निर्माण गरेको प्रवक्ता डा. सुरेश ढुंगेलले जानकारी दिए । 

वेबपोर्टललाई नवप्रवर्तकहरूले आफ्ना कामको प्रदर्शन गर्ने, आवश्यक सहयोगको याचना गर्ने साथै मुलुकभित्र र बाहिरका समेत अन्य नवप्रवर्तकहरूसँग सम्बन्ध स्थापित गर्ने विद्युतीय मञ्चको रूपमा विकास गरिने उनी बताउँछन् । 

सञ्जालमा नेपालमा नवप्रवर्तनहरूको प्रकृति, तिनको अवस्था, विस्तारका लागि आवश्यक सहयोग, नवप्रवर्तकहरूका सम्पर्क सूत्रहरू विस्तृतमा राखिएका छन् । यसले देशभित्र नवप्रवर्तनको नक्कल गर्ने कार्यको न्यूनीकरण साथै उपलब्ध स्राेतको अधिकतम उपयोग गर्नसमेत सहयोग पुग्ने प्रवक्ता ढुंगेल बताउँछन् । सञ्जाललाई व्यवस्थित रूपले सञ्चालन गर्न नाष्टले प्रविधि संकायका प्रमुख डा. रवीन्द्रप्रसाद ढकालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।