मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ११ आइतबार १४:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन, सयाैँ यात्रु अलपत्र 

Read Time : < 1 मिनेट
२०७७ असोज ११ आइतबार १४:५२:००

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि अवरुद्ध राजमार्ग अहिलेसम्म पनि खुल्न सकेको छैन ।

राजमार्ग अवरुद्ध हुँदा पोखरा, पर्वत, बाग्लुङ, गुल्मी र स्याङ्जाबाट बुटवल जाने तथा बुटवलबाट आउने सयौँ सवारीसाधन बीचबाटोमा रोकिएका छन् । 

पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत १० ठाउँमा पहिरो खसेको छ । शनिबार दिनभर एक्स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोषकुमार भट्टराईले बताए ।

‘पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने अवस्था छ,’ एसपी भट्टराईले भने, ‘ब्रेकर बुटवलतर्फ भएकाले तत्काल ढुंगा फोर्न सक्ने अवस्था छैन, ठुल्ठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ ।’

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ। डुम्रेतर्फको राजमार्गमा ठूला ढुंगासहित पहिरो झरेको छ । आइतबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको एसपी भट्टराईले बताए । तर, आज पनि बाटो खुल्ने निश्चित नभएको उनको भनाइ छ ।

पहिरोको कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले नजिकको प्रहरी वा सम्बन्धित कार्यालयमा बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले अनुरोध गरेका छन् ।