सिराहाको मिर्चैया नगरपालिका- ३, राघोपुर बकथवलाकी ११ वर्षीया नेहाकुमारी सदाको गरिबीका कारण आँखाको उपचारमा समस्या भएको छ । सानैमा आँखामा चोट लागेको र त्यसको समयमै उपचार नहुँदा अहिले उनको दायाँ आँखामा मासु पलाएको छ । आँखाले काम गर्दैन ।
आँखामा मासु पलाएकै कारण उनको पढाइ र भविष्य अन्धकारमा परेको छ । आफ्नी आमा बित्दा नेहा दुई वर्षकी मात्रै थिइन् । उनका बुबा ४५ वर्षे भोला सदा गरिबीकै कारण समयमै छोरीको उपचार गर्न नपाएको बताउँछन् । उनी परिवारको दुईछाक जोहो गर्नका लागि गाउँमै मजदुरी गर्छन् । ‘फुर्सदमा जंगलबाट दाउरा ल्याएर बेचेको पैसाले हातमुख जोड्नै मुस्किल पर्छ,’ उनी भन्छन्, ‘त्यही पनि अहिले लकडाउनका कारण गर्न पाएको छैन ।
छोरीको आँखामा चोट लागेको र पछि क्रमशः आँखा रातो हुँदै रगत आउन थालेको भाेलाले बताए । ‘अहिले मासु पलाएपछि त देख्नेहरू पनि डराउँछन्, कोही छेउमा आउन मान्दैनन्, त्यसैले स्कुल पनि जान पाएकी छैन,’ उनले भने।
आँखामा मासु पलाएर धेरै नै गाह्रो भएपछि स्थानीयको सहयोगमा भोलाले लाहान अस्पताल लगेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि अहिले उनलाई काठमाडौं ल्याइएको छ । छोरीको उपचारका लागि आएका भोला गौशाला धर्मशालामा बसेका छन् । ‘अस्पतालले पिसिआर रिपोर्ट लिएर आउनु भनेको छ, आज बिहानै पासाङ राई सरले पिसिआर गराइदिनुभयो, रिपोर्ट आएपछि अस्पताल जाने सोचेका छौँ,’ उनले भने ।
छोरीको आँखाको उपचार गर्न काठमाडौं आएका भोलालाई जनकल्याण मुसहर एकता समाजले १० हजार रुपैयाँ दिएको थियो । अरू केही व्यक्तिबाट चार हजार रुपैयाँ उठेको थियो । गाडी भाडा र खाँदा बस्दा नै अहिलेसम्म चार हजार रुपैयाँ सकिएको छ ।
‘अस्पतालमा कति खर्च लाग्ने हो ? मसँग अब त्यही दश हजार रुपैयाँ मात्रै छ, कसरी उपचार गर्ने हो ? थाहा छैन,’ उनले भने । लाहानमा डाक्टरले अप्रेसन गर्नुपर्छ, काठमाडौं लैजानु भनेपछि यता लिएर आएको उनले बताए । उनले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरे ।
गाउँमा भोलाको घर भएको दुई धुर ऐलानी जग्गाबाहेक आफ्नो भन्नु केही छैन । नेहा भोलाकी एक्ली छोरी हुन् । उनको उपचारका लागि विद्यालय र नगरपालिकाले पनि कुनै सहयोग गरेको छैन ।