१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ९ शुक्रबार २०:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले भन्यो– चीनसँगको  सीमा विवरण रहस्यमा नराख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ९ शुक्रबार २०:१४:००

कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराखी तत्काल सार्वजनिक गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकारी टोली फर्किएको २४ घन्टामा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
 
‘हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षकलगायत दुई दर्जनभन्दा बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गरिरहँदा नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणालाई हामीले स्थलगत अध्ययन विवरणको प्रतीक्षा नगरी सार्वजनिक गरिएको हतारोको टिप्पणीका रूपमा लिएका थियौँ । स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्केपश्चात् वास्तविकता बाहिर आउने हुँदा धैर्यताको अपेक्षा र अपिल पनि हामीले गरेका थियौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर, स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ ।’ 

वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमिकोट फर्किएको २४ घन्टा पुग्दै गर्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसको भनाइ छ । सहायक प्रजिअलाई स्पष्टीकरण सोध्नु र अध्ययन विवरण सार्वजनिक नगर्नुले आशंका उब्जिएको कांग्रेसको भनाइ छ । 

‘एकातर्फ परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टीकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरणसमेत सार्वजनिक गर्न गरिएको ढिलाइले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको छ, जुन स्वाभाविक हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको सार्वभौमिकता र सीमासम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्बले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको छ, अविलम्ब वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’