मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असोज ९ शुक्रबार १८:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लागुऔषध कारोबारीमाथि चार वर्ष लामो अनुसन्धान, एक अर्बको सम्पत्ति जफत 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असोज ९ शुक्रबार १८:५३:००

विगत चार दशकभन्दा लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न काठमाडौं सीतापाइलाका देवेन्द्रविक्रम रोका छपालीले लागुऔषध कारोबारबाटै करिब एक अर्ब अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । उनको सबै नगद र घरजग्गा जफतको मागसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो । विभागले करिब चार वर्ष लगाएर उनीमाथि छानबिन गरी मुद्दा दायर गरेको हो । 

वि.सं. ३० दशकदेखि लागुऔषधको कारोबारमा संलग्न उनको सम्पत्तिको वैध स्रोत नभेटिएको र पटक–पटक लागुऔषध कारोबारमा संलग्न भएकाले सबै सम्पत्ति आपराधिक गतिविधिबाट कमाएको विभागको दाबी छ । सीतापाइलाको मेन सडकमा जोडिएको १७ रोपनी जग्गा र त्यहाँ बनेको साढे दुईतले घर, धादिङ नौबिसेको २७ रोपनी, दाङको २७ कट्ठा जग्गा जफतको माग गरी उनीविरुद्ध मुद्दा दायर भएको छ । 

सीतापाइलाको जग्गाको बजारमूल्य आनाकै करिब ४० लाख रुपैयाँ भएकाले त्यहाँको घरजग्गा अहिले करिब एक अर्ब पर्ने अनुसन्धानमा आबद्ध विभागका अधिकारीहरू बताउँछन् । त्यस्तै, धादिङमा रहेको उनको जग्गाको बजारमूल्य करिब पाँच करोड छ । 

विभागले सबै सम्पत्ति जफत गरी उनीसँग एक करोड पाँच लाख ७२ हजार पाँच सय ५५ रुपैयाँ बिगो उनको १३ वटा बैंकमा रहेको ६४ लाख ६६ हजारसमेत जफतको दाबी गरेको छ । उनले काठमाडौंका जग्गाहरू धेरै वर्षअघि सस्तो मूल्यमा किनिएको र त्यसलाई बिगो मानिएकाले कम भएपछि उनको सम्पत्तिको अहिलेको बजारमूल्य करोडौँ रहेको विभागका एक अधिकारीले बताए । सीतापाइलास्थित उनको जग्गा इन्द्रबहादुर तामाङ तथा प्रमोदप्रसाद प्रधानबाट बकसबापत लिएको उल्लेख गरेका छन् । तर, केबापत बकस पाएको पुष्टि हुन नसकेकाले त्यसलाई आपराधिक कार्यबाटै आर्जन गरेको विभागले दाबी गरेको छ ।

तामाङबाट ०४८ सालमा सात रोपनी ५ आना तथा प्रधानबाट ०३८ सालमा ६ रोपनी १४ आना जग्ग्गा बकसबापत लिएका थिए । उक्त जग्गाको मूल्य करिब ५० करोड पर्ने विभागका अधिकारीहरू बताउँछन् । तर, त्यतिखेल लिखतमा उल्लेखित मूल्य ४४ हजार पाँच सयलाई बिगोका रूपमा लिइएको छ । सीतापाइलामा साढे ६ रोपनी जग्गामा उनको घर बनेको छ । भीमढुंगामा थप एक रोपनी जग्गा भेटिएको छ । उनको बा.२च ६१७० नम्बरको गाडीलाई पनि जफतको माग गरिएको छ । उनीबाट विभागले ४९ हजार नेपाली र सात हजार भारुसमेत बरामद गरेको थियो । विभागले उनको सम्पत्तिलाई समेत बिगो दाबीको प्रस्ताव गरे पनि विशेष सरकारी वकिल कार्यालयले भने जफतको मात्र दाबी गर्ने निर्णय गरेको स्रोत बताउँछ । 

विभागले उनको जापान र हङकङमा रहेको बैंक खाताको समेत अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मार्फत जानकारी लिएको थियो । आपराधिक गतिविधिको पैसा उनले ती खातामा जम्मा गर्ने विभागको दाबी छ । 

विभागले उनकी श्रीमती चन्द्रा रोक्काविरुद्ध पनि सोही बिगो दाबी गरी मुद्दा दायर गरिएको छ । लागुऔषध कारोबारमा उनका सहयोगीहरू गोविन्दकुमार छन्त्याल, मनजित घर्तीमगर, नागेन्द्र थापामगर, जम्बा भोटे, इन्द्रबहादुर थिङविरुद्व समेत मुद्दा दायर भएको छ । ०६९ सालमा उनीहरू पनि देवेन्द्रसँगै पक्राउ परी दोषी भएर जेल भुक्तान गरी छुटेका थिए । 
प्रहरीका अनुसार देवेन्द्र ०३२ सालदेखि नै लागुऔषध कारोबारमा संलग्न हुँदै आएका छन् । बाग्लुङ स्थायी घर भएका उनी ०३८, ०४२ र ०६९ सालमा पक्राउ परेकोमा उनी तीनैपटक दोषी ठहर भएका थिए । ०६९ सालमा पक्राउ पर्दा उनले नेपालबाट भारत हुँदै क्यानडामा चरेस तस्करी गर्दै आएको खुलेको थियो । 

विभागले छानबिन थालेलगत्तै उनी फरार भएका थिए । विभागले पत्रिकामा सूचना निकालेर उनलाई बयानका लागि बोलाएको थियो । तर, उनी उपस्थित नभएपछि फरार बनाएर मुद्दा दायर गरिएको छ । करिब चार वर्ष लगाएर छपालीमाथिको अनुसन्धान सकिएको विभागका एक अधिकारीले बताए । ‘प्रतिवादी म्यादी–बाग्लुङको विकट गाउँमा जन्म भई केटाकेटी अवस्थामा नै काठमाडौं आई लागुऔषधको कारोबारलाई मुख्य पेसा बनाएको देखिएको’ विभागको अभियोगमा उल्लेख छ ।